ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बसको अनलाइन टिकट बुकिङ चार गुणाले बढ्यो, यातायात विभाग पनि अनलाइन बुकिङ खोल्ने तयारीमा

Oct 30, 2019  
समाचार यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

कात्तिक १३, काठमाडौं । दशैं–तिहारमा राजधानी काठमाडौंबाट अनलाइनमार्फत टिकट बुकिङ गरेर बाहिरिनेको संख्या बढेको छ । अनलाइन टिकटको सेवा दिइरहेको टिकट एजेन्सी कम्पनी बस सेवाकाअनुसार गत वर्षभन्दा यस वर्ष करीब चार गुणाले अनलाइन बस टिकट बुकिङ बढेको हो । गत वर्ष दशैं र तिहारमा जम्मा ४ हजार जनाले अनलाइनमार्फत बस टिकट बुकिङ गरेकोमा यस वर्ष १६ हजारभन्दा बढीले अनलाइन टिकट बुक गरेको कम्पनीले बताएको छ ।

यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खोलेकै दिन अनलाइन टिकट बुकिङ खुलेपनि दशैंमा बसपार्कमै पुगेर रातिदेखि नै लाइन लागि टिकट बुक गर्नेको संख्या भने यो वर्ष पनि कम भएन । अनलाइनबाट पनि टिकट बुक हुन्छ भन्ने थाह नपाएर काउन्टरमा टिकट बुक गर्न पुग्नेको संख्या ठूलो रहेको बस सेवाका अध्यक्ष पर्शुराम खनालको बुझाइ छ । ‘धेरै मानिसलाई अनलाइनबाट टिकट बुकिङको बारेमा थाहा छैन,’ उनले भने, ‘धेरैले अनलाइनबाट पनि टिकट बुक गर्न मिल्छ र ? भनेर सोध्ने गरेका छन् ।’ विस्तारै यसको जानकारी बढ्दै गएकाले आगामी दिनमा काउन्टरबाटभन्दा अनलाइनबाट टिकट बुक गर्नेको संख्या बढी हुने विश्वास उनको छ ।

बस सेवामा १२० ओटा यातायात कम्पनी आवद्ध छन् । जसमध्ये बस सेवाकै मुख्य वेबसाइटअन्तर्गत रुद्राक्ष यातायात, माउन्ट मकालु यातायात, साझा यातायात, स्वयम्भु मञ्जुश्री यातायात, धौलागिरी गण्डकी यातयाात, शुभ जगदम्बा ट्राभल्स, तहल्का ट्राभल्स, लक्ष्मी महालक्ष्मी डिलक्स, काठमाडौं संयुक्त यातायात, म्याग्दी कोरला यातायात, पश्चिम नेपाल बस यातयात आदिले आफ्नै वेबसाइट बनाएर ती वेबसाइटमार्फत पनि टिकट बुक गरिरहेको कम्पनीले बताएको छ । कम्पनीकाअनुसार दशै नजिकिएपछि यस वर्ष मात्रै ५ ओटा यातायात कम्पनीले आफ्नै वेबसाइट बनाएका छन् ।

अनलाइन भुक्तानीको कारोबार गर्ने ‘आईएमई पे’काअनुसार यस वर्ष अनलाइन भुक्तानी गर्ने कम्पनीमा अनलाइन टिकट बुकिङ गर्ने बस सेवा टप टेनमा परेको छ । ‘हाम्रो एपमार्फत अनलाइन कारोबार गर्ने कम्पनीमा यस वर्ष बस सेवा टप टेनमा परेको छ,’ आईएमई पेकी बिजनेस डेभलपमेन्ट अफिसर आज्ञा बस्नेतले भनिन्, ‘औषतमा दैनिक रू. ५० हजारको कारोबार बससेवाले गरेको छ ।’ बस सेवाले अन्य समयमा छिटपुट कारोबार गर्ने गरेकोमा दशैंमा आफ्नो कारोबार बढाएको उनले बताइन् ।

निजी क्षेत्रको टिकट एजेन्सी कम्पनीले अनलाइनमार्फत सेवा दिएपनि सरकारको तर्फबाट भने काउन्टरमा गएर लाइन लागेर टिकट लिनुको विकल्प छैन । यातायात अधिकारकर्मी र सेवाग्राहीहरू सरकारले अनिवार्य अनलाइन टिकट बुकिङ खोल्नुपर्ने बताउँछन् । ‘सरकारले दशैंमा टिकट खुलाउँछ तर पछिल्लो दिनदेखि टिकट पाइदैन,’ यातायात अभियन्ता राम थापाले भने, ‘सरकारले अनिवार्य रुपमा अनलाइन टिकट बुकिङ खोल्नुपर्छ ।’ यसले यातायात क्षेत्रको बेथिति कम हुने उनले बताए ।

यता सरकारले भने अनिवार्य अनलाइन टिकट बुकिङ खोल्ने तयारी गरिरहेको बताएको छ । ‘यस वर्ष नै अनलाइन टिकट खोल्ने तयारी गरिएकोमा प्राविधिक तयारी नपुगेकाले खोल्न सकिएन, आगामी दशैंमा भने अनलाइन टिकट बुकिङ खोल्छौं,’ यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले भने । यस्तै, राष्ट्रिय यातायात व्यवसायी महासंघले पनि अनिवार्य अनलाइन बुकिङमा जान चाहेको र त्यसको तयारी गरिरहेको बताएको छ । ‘हामी अनलाइन बुकिङको अध्ययन गर्दैछौं, अर्को वर्षसम्म अनिवार्य गर्नेगरी तयारी गरिरहेका छौं,’ महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने, ‘हामीले यातायात कम्पनीलाई यस वर्ष पनि अनलाइनमार्फत सेवा दिन प्रेरित गरेका छौं, केहीले दिइरहेका छन् ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

टेक राज भट्टराई

[Oct 31, 2019 11:04am]

सुदुरपस्सिम प्रदेशको राजधानी धनगढी मा एउटा पनि बस छैन online ticket काट्न मिल्ने। धनगढी बाट काठमाडौ र पहाडी रुट कतै पनि छैन



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)