नेपाल पहिले कृषि प्रधान देश थियो । हिजोआज धेरैले नेपाललाई पर्यटन प्रधान र अझ जलविद्युत् प्रधान पनि भन्न थालेका छन् । तर नेपाल मूलतः एक मूर्खप्रधान देश हो । मूर्खता वर्तमानमा मात्र होइन, यसमा हाम्रो इतिहास पनि सधैं गौरवपूर्ण रहेको छ । हाम्रो देशमा हामी थुप्रै मूर्खहरू छौं, जसले मूर्खतामा नेपालको नाम विश्वमै कीर्तिमान कायम गरेका छौं । हामीले हाम्रो इतिहास भुल्नु हुँदैन । किनकि २०४७ सालतिर जनताको साथ र नेताहरूको गाथले देशलाई एक प्रकारको लोकतन्त्र दिएका थिए । त्यसलाई आधुनिक नेताहरूले मेहनतपूर्वक मूर्खतन्त्रमा परिणत गरिसकेका छन्, शिक्षा प्रणाली मार्फत, कर प्रणाली मार्फत, कृषि प्रणाली मार्फत, डीभी भर्ने प्रणाली मार्फत, कर्मचारी प्रणाली मार्फत र असल राजनीतिक, आर्थिक प्रणाली आदि मार्फत ।
प्राचीन सभ्यतामा कालीदास महामूर्ख थिए, जसले रूखको हाँगामा बसेर आफै पछारिने गरी काट्थे । त्यस्तै कालीदासको मूर्खतामा प्रतिस्पर्धा गर्न नसकेर कति गधाहरूले समेत आत्महत्या गरेका थिए रे । त्यसैले अहिले त गधाले होइन, मान्छेहरूले नै आत्महत्या गर्न थालेका छन् । किनकि कालीदासभन्दा चौखण्ड मूर्ख नेपालमा धेरै जन्मिइसकेका छन् । कालीदासले भन्दा सयौं गुणा मूर्खता हामीले प्रदर्शन गरिरहेकै पनि छौं । जस्तै– भन्न चैं कृषिप्रधान देश भनिरहने, अनि अर्बौं रुपैयाँका कृषि उपज आयात गरिरहने ! भन्न चैं जलस्रोतमा धनी छौं भनिरहने, अनि शहर, गाउँ पानी नपाएर छट्पटाइरहने !
मूर्ख बन्न जनावरै हुनुपर्छ भन्ने छैन । भोटर मात्र भए पनि पुग्छ । भोटर बन्दा अप्रिल १ तारेखमा मात्र होइन, २–४ वर्षै मूर्ख बनिरहन सकिन्छ ।
हामीले हरेक क्षेत्रमा मूर्खतामा यति धेरै कीर्तिमान कायम गरिसकेका छौं कि कालीदास अब हाम्रा अगाडि फिक्का लाग्छन् । भलै कालीदास महामूर्खको श्रेणीबाट पछि महाज्ञानी बने । उनले आफ्नो बाटो बदले । तर हामीलाई ज्ञानी बन्नु छैन । हामी मूर्ख थियौं, मूर्ख छौं र मूर्खै रहिरहन चाहन्छौं । हामी गर्वका साथ भन्न सक्छौं कि आज हामीले मूर्खताका क्षेत्रमा थुप्रै प्रशंसनीय कार्यहरू गरिनैरहेका छौं । तर हरेक विषयमा ट्विट गरिरहनेहरू, स्प्याम मेलमा पैसा गुमाउनेहरू, फेसबुकमा सरकारलाई गाली गरेर सबै कुरा ठीक हुन्छ भन्ठान्नेहरू, जुवा खेलेर वा सर्टकर्टमै धेरै पैसा कमाइन्छ भन्ठान्नेहरू आफू मूर्ख हुन् कि अरूलाई मूर्ख बनाउन हिँडेका हुन् भन्नेमा चैं द्विविधा छ ।
त्यसो त मिथिला नाट्यकला परिषद्ले विगत २३ वर्षदेखि जनकपुरमा महामूर्ख सम्मेलन गर्दै आएको छ, जहाँ महामूर्खको उपाधि लिन तँछाड–मछाड हुने गरेको छ । तर नाटकका मूर्खहरू वास्तविक जीवनका महामूर्खहरूका अगाडि केही पनि होइनन् । त्यसैले नक्कली मूर्खहरूलाई कसले सम्झाउने कि नक्कलीभन्दा सक्कली मूर्ख बन्नु धेरै श्रेयस्कर हुन्छ भनेर । किनकि यो नै वास्तविक कला हो । जुन आनन्द सच्चा मूर्ख बन्दा आउँछ, अरूबाट कहाँ आउँछ ? त्यसैले जुन व्यक्ति आफूलाई सच्चा मूर्ख बनाउन सफल भयो, उसले जीवनमा सबै थोक पायो । सुख पायो, शान्ति पायो । यो रहस्य नबुझ्नेहरू नै आफू मूर्ख बन्नुभन्दा अरूलाई मूर्ख बनाउने धन्दामा लागेका देखिन्छन् । बदलामा उनीहरूले दुःख मात्र पाएका छन् । हाम्रा राजनीति गर्ने मान्छेहरूलाई नै हेर्नुस् न । उनीहरू जनतालाई केही आश्वासन थमाएर भोट हत्याउँछन् अनि सँगै पद र पैसा । तर के उनीहरू साँच्चै सुखी छन् त ? पक्कै छैनन् । कमसे कम उनीहरूको अनुहारले र व्यवहारले त्यो देखाउँदैन ।
त्यसैले त उनीहरू केवल अरूलाई सधैं मुर्ख बनाउने दौडमा देखिन्छन् । तर पनि उनीहरू कतै सुखी देखिँदैनन् । उनीहरू सुखको खोजीमा कोही जुवाको घेरामा त कोही कस्को डेरामा पुगिरहेका हुन्छन् र रंगेहात समातिन्छन् पनि । सुखी भएका भए त त्यस्ता ठाउँहरूमा जाँदैनथे होलान् नि त ∕ अनि क्यै नलागेर होला ती भगवानलाई खुशी बनाएर बदलामा सुख माग्न पूजाआजा गरेर वा मन्दिरहरूमा २–४ सय भेटी चढाउन पुगेका पनि भेटिन्छन् । तर पनि उनीहरूको अनुहारमा शान्तिको कुनै झलक फर्केको देखिँदैन । किनकि अहिलेको कलियुगमा २–४ सयमा एउटा ट्राफिक त खुशी हुदैन, भगवान चैं कसरी खुशी होलान् र ?
त्यसैले आफू मूर्ख बन्नुमा जुन आनन्द छ, अरूलाई मूर्ख बनाउनुमा पक्कै छैन । जब तपाईंलाई कसैले मूर्ख बनाउँछ, आफैलाई भित्र नियालेर हेर्नुभयो भने आफूभित्र एउटा जनावर मात्र रहेको पाउनुहुन्छ । नपाउन पनि सक्नुहुन्छ । मूर्ख बन्न जनावरै हुनुपर्छ भन्ने छैन । भोटर मात्र भए पनि पुग्छ । भोटर बन्दा अप्रिल १ तारेखमा मात्र होइन, २–४ वर्षै मूर्ख बनिरहन सकिन्छ ।
वास्तवमा मूर्ख बन्दा फाइदै फाइदा पो छन् त । सबैभन्दा ठूलो फाइदा त यो छ कि समझदार हुँदा जुन घाटा बेहोर्नुपर्ने हुन्छ, त्यसबाट बचिन्छ । जस्तै– मूर्खको पहिचान बनाइसकेपछि अफिस होस् वा घर, यो त मूर्ख छ भनेर कसैले थप जिम्मेवारी दिँदैन । कतिले त मूर्खलाई गधाको उपमा समेत दिन भ्याउँछन् । तर साँच्चै भन्ने हो भने गधामा मूर्खताको कुनै लक्षण भने हुँदैन । ऊ त बिचरा शान्त, शिष्ट, मालिकको आज्ञाकारी र थोरै खानामै सन्तुष्ट हुने प्राणी पो हो । त्यसैले मूर्खलाई गधासँग तुलना गर्दा एक प्रकारले इमानदार, आज्ञाकारी, मेहनती र सभ्य गधाप्रतिको अपमान हुन्छ ।
त्यसैले यो आधुनिक कालमा सुखी र शान्त भएर जिउने चाहना छ भने मूर्ख भएर मात्र सम्भव छ । मूर्ख भएपछि कुनै झन्झट झेल्नु पर्दैन । विद्वान् हुन पहिले त पढाइ चाहियो, अनि पद चाहियो, सँगै पैसा पनि चाहियो । तर मूर्ख बनेपछि न भोकको चिन्ता न भकारीको । न एलईडी टीभीको, न टचस्क्रिन मोबाइलको । न घरको न नयाँ कारको । न तेलको, न रेलको, न टनेलको । त्यसैले नेपाललाई पूर्णरूपमा मूर्खहरूको देश बनाउनु अहिलेको टड्कारो आवश्यकता हो । अब मूर्खहरूको उत्पादन बढाउनुपर्छ । मूर्खको संख्या दुई तिहाइले मात्र पुग्दैन, अरू धेरै मूर्खहरू पो चाहिन्छन् त देशलाई !
त्यसैले छठी मातासँग यो प्रार्थना छ कि नेपाललाई धेरैभन्दा धेरै मूर्खहरू प्रदान गरिदिनुहोस् । ताकि यो सरकारले नेपाललाई रेल र टनेलसहितको संसारकै समृद्ध राष्ट्र बनाउन गरिरहेको अथक र मूर्खतापूर्ण प्रयास अविराम रूपले चलिरहोस् !
मुर्ख पनि विद्वानमा गनिन्छ । उसैलाई सबैले चिनिन्छ । मुर्ख हुनुको मज्जा नै बेग्लै हुदो रहेछ नि हिजोआज । सबैतिर मुर्ख नै भेटिदो रहेछ । मुर्खको त झन दिवस नै छ । हजुर ले पनि मुर्ख कै गुनगान गरी लेख्नु भो । यसो भए सि मुर्खको त जय नै जय !