ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४ करोड २२ लाखमा शीतभण्डार निर्माण गरिँदै

Nov 3, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी

दोलखा । जिल्लाको भीमेश्वर नगरपालिकामा रू. ४ करोड २२ लाखको लागतमा शीतभण्डार (कोल्ड स्टोर) निर्माण गरिने भएको छ । नगरपालिकाको वडा नम्बर ८, बोचमा कोल्ड स्टोर निर्माण गर्न लागिएको हो ।

प्रदेश–३ सरकार, भीमेश्वर नगरपालिका तथा तिलोत्तमा हिमाली फूड प्रोडक्सन एन्ड रिसर्च सेन्टर प्रालिको संयुक्त लगानीमा कोल्ड स्टोरको निर्माण शुरू भएको उक्त कम्पनीकी प्रमुख उषा थापाले बताइन् । कोल्डस्टोर निर्माणका लागि कुल लागतको ७० प्रतिशत रकम प्रदेश–३ सरकारले उपलब्ध गराउने तथा बाँकी ३० प्रतिशतमध्ये १५ प्रतिशत भीमेश्वर नगरपालिका तथा १५ प्रतिशत तिलोत्तमा हिमाली फूड प्रोडक्सनले लगानी गर्ने थापाको भनाइ छ । कोल्डस्टोर २ सय मेट्रिक टन क्षमताको हुनेछ । 
कोल्डस्टोर निर्माण सम्पन्न भएपछि सय मेट्रिक टन किबी फल भण्डारणका लागि प्रयोग गरिने तथा बाँकी सय मेट्रिक टन आलु लगायतका अन्य कृषि उपज भण्डारणका लागि प्रयोग गरिने बताइएको छ । किबी फल, आलुको उत्पादन, पर्वतीय क्षेत्रमा उत्पादन हुने खाद्यान्न वस्तु संकलन, प्रशोधन र बजारीकरण, विभिन्न तरकारी, फलफूल, कन्दमूल, च्याउ, रेन्वो ट्राउट माछालगायतको उत्पादन, प्रशोधन, भण्डारण र विक्री गर्ने उद्देश्यले स्थापना गरिएको तिलोत्तमा कम्पनीले अहिले किबी फलको व्यावसायिक उत्पादन शुरू गरेको छ ।  

रिसर्च सेन्टरले हाल ५० रोपनी आफ्नै तथा भाडामा ५० रोपनी जग्गा लिएर किबी फलको व्यावसायिक उत्पादन तथा किबी, एभोकार्डो, कागतीलगायतका फलको बिरुवा उत्पादन गरी विक्री गर्दै आएको थापाको भनाइ छ । कोल्ड स्टोर निर्माणपछि रिसर्च सेन्टर र आसपासका किबी उत्पादक तथा आलु उत्पादक कृषकलाई राम्रो फाइदा पुग्ने स्थानीयको विश्वास छ ।

निकट भविष्यमा नै कम्पनीले किबी फलको ग्रेडिङ, प्याकेजिङ, बजारीकरण गर्ने तथा यसबाट उत्पादन हुने जुस, वाइन लगायतका अन्य वस्तु उत्पादन गर्ने योजना रहेको किबी जोनकी अध्यक्षसमेत रहेकी थापाले बताइन् । नगरपालिकाका धेरै वडामा विभिन्न फर्म तथा कृषकहरूले व्यावसयिक रूपमा किबीखेती गरेका छन् । साथै नगरका उच्च भूभागहरूमा आलुको व्यावसायिक खेती हुने गरेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)