ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटक तान्दै जलदेवीको जीपलाइन

Nov 4, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । गत असोजबाट भरतपुर महानगरपालिका–२, जलदेवी सामुदायिक वनमा सञ्चालनमा आएको जीपलाइनले छोटो समयमै धेरै पर्यटक तान्न सफल भएको छ । नारायणगढ–मुग्लिन सडकले छोएको यस सामुदायिक वनमा दिनहुँ सयौं पर्यटक जीपलाइन खेल्न आउने गरेका छन् । जलदेवी सामुदायिक वन उपभोक्ता समूह र पर्यापर्यटनको क्षेत्रमा काम गर्ने संस्था ‘वाइल्ड वन्डर्स नेपाल’को संयुक्त लगानीमा उक्त खेल सञ्चालनमा आएको हो । हाल चितवन, छिमेकी जिल्ला र काठमाडौं लगायतका ठाउँबाट पर्यटक आउने गरेको वाइल्ड वन्डर्सका सञ्चालक राजकुमार श्रेष्ठले बताए । उनले भने, ‘अहिले सञ्चालनमा आएको डेढ महीना पनि भएको छैन, मानिसको फ्लो ह्वात्तै बढेको छ’ ।

भरतपुर–४ का चेतन खत्री घुम्न र मनोरञ्जनका लागि परिवारका साथ जीपलाइन खेल्न आएको बताउँछन् । ‘बच्चाहरूले पनि निकै कर गरे, मलाई पनि कस्तो हुन्छ भन्ने लागिरहेको थियो,’ उनले भने, ‘खेलेपछि आनन्द र रमाइलो लाग्यो ।’ वनका अध्यक्ष केशवबहादुर थापा सञ्चालनमा आएको छोटो समयमै यसले पर्यटकको मन जित्न सफल भएको बताउँछन् । रिक्स पनि नहुने तथा जति खेल्यो उति खेलौंखेलौं लाग्ने भएकोले यसतर्फ आकर्षण बढ्दै गएको उनको भनाइ छ । काठमाडौंबाट आएका अरुण ठकुरीले पनि यो खेल जति खेले पनि धीत नमर्ने बताए ।

दुरी र पर्यटकको उमेर समूहअनुसार पाँच स्थान र श्रेणी विभाजित गरेर जीपलाइनलाई वर्गीकरण गरिएको छ । शान्त र पारिवारिक वातावरण, सुविधायुक्त पार्क, पिकनिक स्पट, लगायतका सुविधा रहेकोले पनि पर्यटक बढेका अध्यक्ष थापा बताउँछन् । उनका अनुसार शुरूमा खासै पर्यटक नआउने भए पनि चाडबाड र बिदाका दिनमा पर्यटक थेगिनसक्नु छ । दैनिक जीपलाइनका लागि १५० जनासम्म आउने गरेको उनको भनाइ छ । युवा, बच्चा सबै यस खेलप्रति आकर्षित भएको सञ्चालकको भनाइ छ ।

जलदेवी वन उपभोक्ता समूहको ५१ प्रतिशत र वाइल्ड वन्डर्सको ४९ प्रतिशत लगानीमा जीपलाइन खेल सञ्चालनमा आएको हो । वनको १ हजार ५० मिटर वरिपरिका रुखमा डोरी बाँधेर घिर्नीको सहायताबाट एक रुखबाट अर्को रुखमा सुर्किएर जान सकिने यस खेललाई तुइनको विकसित रूप मानिन्छ । धुलिखेलमा कृत्रिम जीपलाइन निर्माण गरिए पनि यस प्रकारको खेल भने नेपालमै पहिलोपटक उक्त  वनमा सञ्चालन भएको सञ्चालकको दाबी छ । जलदेवी सामुदायिक वन नारायणगढ बजारबाट मुग्लिनतर्फ  करीब २ किलोमिटर दुरीमा पर्दछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)