ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दाङमा ७५% अटो रिक्सा चालकसँग छैन लाइसेन्स

Nov 5, 2019  
यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

दाङ । दाङमा अटो रिक्सा चलाउने ७५ प्रतिशत चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नै नभएको पाइएको छ । जिल्लाका प्रमुख शहर घोराही, तुलसीपुर, लमही, भालुवाङ, नारायणपुर लगायत क्षेत्रमा चल्ने अटो रिक्साका अधिकांश चालकसँग चालक अनुमतिपत्र नभएको जिल्ला ट्राफिक कार्यालय, दाङले बताएको छ । अटो रिक्सा चलाउनेहरूमध्ये २५ प्रतिशतको मात्र लाइसेन्स भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रेमप्रसाद रेग्मीले जानकारी दिए ।

अधिकांश चालकले अनुमतिपत्रविना नै अटो रिक्सा चलाउने गरेको भन्दै यातायात व्यवस्था कार्यालय र जिल्ला ट्राफिक कार्यालयले नियमनमा कडाइ गरेको छ । बजार क्षेत्रमा अटो रिक्साको कारण सबैभन्दा बढी सवारी दुर्घटना भएको भन्दै लाइसेन्सविना रिक्सा चलाउन रोक लगाएको छ । आइतवार प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले अटो रिक्सा चालकले अनिवार्य रूपमा लाइसेन्स लिएको हुनुपर्ने र यातायात व्यवस्था कार्यालयमा दर्ता गर्नुपर्ने निर्णय  गरेको छ । ‘लाइसेन्स विना र दर्ता नभएका अटो रिक्सा चलाउन पूर्णरूपमा रोक लगाइएको छ,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख रेग्मीले भने ।

अटो रिक्सा चालकहरूलाई लाइसेन्स लिने प्रक्रिया सहज बनाउन प्रत्येक साताको आइतवारदेखि बुधवारसम्म फाराम खुला गरिएको यातायात व्यवस्था कार्यालय, तुलसीपुरका प्रमुख मित्रलाल ढकालले जानकारी दिए । लाइसेन्सविना सञ्चालन भएका अटो रिक्साहरू ट्राफिक प्रहरीले धमाधम नियन्त्रणमा लिन थालेपछि चालकहरूले फाराम भर्ने क्रम बढेको छ । लाइसेन्स नभएका दर्जनौं अटो रिक्साका चालकलाई आवश्यक कारबाही गरिर्एको ट्राफिक प्रहरीले बताएको छ । बजार क्षेत्रमा अटो रिक्साको चाप बढ्दै गएको र ट्राफिक नियम उल्लंघन गरेर सञ्चालन गर्दा दुर्घटना समेत बढेपछि सीमित गतिमा चलाउन, तोकिएको स्थानमा मात्र पार्किङ गर्न, रूट परमिट लिन र भाडादर टाँस गर्न समेत अनिवार्य गरिएको छ । अटो रिक्सालाई व्यवस्थित गर्न सके बजार क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरण हुने अपेक्षा ट्राफिक प्रहरी प्रमुख रेग्मीले गरे । जिल्लामा ४ हजार अटो रिक्सा चल्ने गरेको यातायात व्यवस्था कार्यालय, दाङले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)