ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा पुरुषभन्दा महिला उद्यमीको संख्या दोब्बर

३ महीनामा ४४९ लघुउद्यम उद्योग दर्ता 

Nov 6, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
सांकेतिक तस्वीर
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनमा चालू आर्थिक वर्ष २०७६/७७ (आव) मा पुरुषको तुलनामा महिला उद्यमीको संख्यामा दोब्बरले वृद्धि भएको छ । सरकारले महिला उद्यमीलाई प्राथमिकता दिई विशेष सुविधा दिएकाले महिला उद्यमीको संख्यामा वृद्धि भएको हो । 

घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांक अनुसार चालू आवमा २०७६/७७ को ३ महीनामा पुरुष उद्यमीको संख्या २८२ जना रहेको छ भने महिला उद्यमीको संख्या ५३० पुगेको छ । 

महिला उद्यमीका लागि उद्योग दर्तामा दिइएको छूटका कारण महिला उद्यमीको संख्या बढेको कार्यालयका निमित्त प्रमुख रमेशकुमार आचार्य बताउँछन् । ‘१ करोडको उद्योग दर्ता गर्दा पुरुषलाई २० हजार १ सय रुपैयाँ लाग्छ,’ उनले भने, ‘महिलालाई जम्मा २ सय रुपैयाँ मात्र लाग्छ ।’

उनका अनुसार अघिल्ला वर्षहरूमा महिला उद्यमीको संख्या न्यून रहे पनि अहिले महिलाको संख्या अप्रत्याशित रूपमा बढेको छ । कार्यालयमा उद्योग दर्ता गर्न आउँदा अधिकांशले श्रीमतीको नाममा उद्योग दर्ता गर्ने गरेको उनले बताए । 

महिला उद्यमीको संख्या बढेसँगै महिला रोजगारको संख्यामा समेत वृद्धि भएको छ । कार्यालयका अनुसार चाल आवको असोज मसान्तसम्म १ हजार २७७ महिला र ५२४ पुरुष रोजगारमा संलग्न भएका छन् । पछिल्लो समय कृषि तथा उत्पादनमूलक उद्योगमा महिलाको आकर्षण बढेसँँगै महिला रोजगारीको संख्यासमेत बढेको हो । हेभी काममा बाहेक अन्य उद्योगमा महिला उद्यमीको संख्यामा उल्लेखनीय वृद्धि भएको घरेलु तथा साना उद्योग कार्यालयले जानकारी दिएको छ । 

सबैभन्दा बढी कृषि तथा वन पैदावर उद्योग दर्ता भएका छन् । यसमध्ये यस्ता प्रकृतिका उद्योगमा महिला उद्यमी २९२ छन् भने १२१ पुरुष उद्यमी रहेका छन् । यस्ता उद्योगमा ५३० महिलाले रोजगारी पाएका छन् भने २२२ पुरुषले रोजगारी पाएका छन् । त्यसैगरी उत्पादनमूलक उद्योगमा महिला उद्यमी १०८ जना छन् भने पुरुष ५५ जना छन् । पर्यटन उद्योगमा महिलाको संख्या ६८ रहेको छ भने पुरुषको संख्या ५४ छ । सेवामूलक उद्योगमा महिलाको संख्या ६२ छ भने पुरुषको संख्या ५१, निर्माण उद्योगमा पुरुषको संख्या १ रहेको छ भने महिलाको संख्या शून्य छ । 

३ महीनामा ४४९ लघुउद्यम उद्योग दर्ता 
चालू आवको ३ महीनामा घरेलु तथा साना उद्योग कार्यालयमा लघुउद्यम मात्रै ४४९ उद्योग नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार घरेलु उद्योगमा ४३ ओटा उद्योग र एउटा साना उद्योग दर्ता भएका छन् । सो अवधिमा सबै उद्योग गरी ६०४ उद्योग दर्ता भएको कार्यालयले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)