दिदीबहिनी बीचको सम्बन्धलाई यो संसारमा उत्कृष्ट सम्बन्धका रूपमा लिइन्छ, जसलाई संस्कृतमा भगिनी सम्बन्ध भनिन्छ । यही मान्यताको प्रतीकात्मक अर्थमा विश्वमा विभिन्न शहरहरूबीच भगिनी सम्बन्ध स्थापित गरी आपसी सम्बन्ध (राजनीतिक, आर्थिक र सांस्कृतिक) सम्बन्ध मजबुत बनाउने प्रचलन बसेको हो । सन् ८३६ मा जर्मनीको पडरबर्न र फ्रान्सको ले माँ शहरबीच भगिनी सम्बन्ध स्थापना भएसँगै शुरू भएको शहरहरूबीच भावनात्मक सम्बन्धमार्फत आपसी हित प्रवद्र्धन गर्ने प्रचलन विश्वव्यापीकरण, सञ्चार र यातायातमा भएको चामत्कारिक विकाससँगै व्यापक वृद्धि भएको छ । यही प्रचलनलाई अंगीकार गर्दै नेपालका विभिन्न शहरहरूले विश्वका विभिन्न शहरहरूसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रवृत्तिमा व्यापक वृद्धि भएको छ । हाम्रो राजधानी शहर काठमाडौंको पनि विश्वका दर्जनौं शहरहरूसँग भगिनी सम्बन्ध स्थापना भइसकेको छ, जसको शुरुआत सन् १९७५ मा संयुक्त राज्य अमेरिकाको युजिन शहरबाट भएको हो । यसका साथै नेपालका अन्य विभिन्न शहरहरूको विश्वका अन्य शहरहरूसँग भगिनी सम्बन्ध स्थापना गर्ने लहर चलेको छ । मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै स्थानीय नगरपालिकाहरूका प्रतिनिधिहरू विदेशमा जाने क्रममा सम्बन्धित देशका शहरहरूसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रचलनले अझ व्यापकता पाएको छ ।
पौर दौत्यम् (शहर कूटनीति) का माध्यमबाट आर्थिक सम्बन्ध मजबुत गर्न भगिनी शहरको अवधारणालाई उपयोग गरिन्छ । नेपालमा भने भगिनी सम्बन्ध स्थापना सम्झौता हस्ताक्षर समारोहभन्दा अगाडि बढ्न सकिरहेको छैन । नेपाली प्रतिनिधिमण्डलको भ्रमणको औचित्य साबित गर्न नेपाली पक्षको अति आग्रहमा भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौतामा हस्तान्तरण हुने गर्दछन् । भगिनी सम्बन्ध स्थापनापूर्वको सम्भाव्यता अध्ययन र भगिनी सम्बन्ध स्थापना पश्चात्का सक्रियताहरूको अवधारणा तर्जुमा गर्न नसक्दा नेपालका शहरहरूको भगिनी सम्बन्ध हस्ताक्षरको मसी सुक्न नपाउँदै विलीन हुने अवस्था सृजना हुने गरेको छ । सारांशमा भन्नुपर्दा भगिनी सम्बन्धको मर्म नबुझी केवल सम्बन्धका लागि सम्बन्धको ढाँचामा जाँदा यस्ता सम्झौताहरूले कुनै फलदायी परिणाम दिन सकिरहेका छैनन् ।
नेपालले आफ्ना शहरहरूको अन्य मित्रराष्ट्रहरूका शहरसँग सम्बन्ध स्थापनामा पर्यटन प्रवर्द्धन, निर्यात प्रवर्द्धन, रोजगारी प्रवर्द्धन, लगानी प्रवर्द्धन, सहयोग प्रवर्द्धन र नेपालको पहिचान प्रवर्द्धन गरी छ ओटा पक्षहरू विद्यमान रहेका हुन्छन् । नेपालले विश्वका कुनै पनि मुलुकसँग भगिनी सम्बन्ध स्थापना गर्दा यी छ ओटा पक्षहरूलाई मार्गदर्शक सिद्धान्त नै मान्नुपर्छ ।
यी छ ओटा पक्षहरूलाई दृष्टिगत गर्दै सर्वप्रथम भगिनी सम्बन्ध स्थापना र निरन्तरताको लागि दुई शहरबीच आयात निर्यात गर्न सकिने वस्तु तथा सेवाहरूको सूची तयार गर्नुपर्दछ । ती सूचीहरूमा बढी सम्भावना भएका वस्तु तथा सेवाको व्यापार अभिवृद्धि गर्न दुई शहरका व्यवसायीहरूबीच द्विपक्षीय चेम्बर अफ कमर्शको स्थापना गरिनुपर्दछ । दुई शहरहरूमा आयोजना हुने मेला महोत्सवहरूमा यही संयन्त्रमार्फत सहभागी हुने वातावरण सृजना गरिनुपर्दछ ।
दोस्रो दुवै भगिनी शहरहरूबीच विद्यमान पर्यटन सम्भावनाका क्षेत्रहरूको पनि पहिचान हुनु पर्दछ र दुवै शहरका नागरिकलाई एक अर्काका शहरहरूका बारेमा आवश्यक जानकारी प्रदान गर्नुपर्दछ । दुवै शहरका नागरिकहरूलाई एक अर्का शहरमा जाँदा भावनात्मक रूपमा बस्ने खाने र घुम्ने व्यवस्थाहरू गरिनुपर्दछ ताकि दुवै शहरका नागरिकहरू एक अर्काको शहरमा जाँदा दिदीका घरका बहिनी गएको जस्तो व्यवहार प्राप्त होस् । यसका लागि दुवै देशका पर्यटन व्यवसायीहरू (टुर अपरेटर, होटल व्यवसायी र ट्राभल एजेन्सी) बीच संयन्त्र स्थापना गरिनुपर्दछ । यस्तो वातावरण सृजना गरिनुपर्दछ कि भगिनी सम्बन्ध भएका शहरका नागरिकहरू एक अर्काको देशमा भ्रमणमा जाँदा आफ्नो भगिनी सम्बन्ध भएको शहरलाई पहिलो प्राथमिकतामा पारून् ।
तेस्रो, भगिनी सम्बन्ध स्थापना भएका शहरहरूलाई आवश्यक पर्ने सेवाहरूको पनि पहिचान गरी कुन सेवा नेपालका शहरहरूले आपूर्ति गर्न सक्ने हो र कुन सेवा नेपालका शहरहरूलाई आवश्यक पर्ने हो सोको सूची तयार गरी आपसमा श्रमिक तथा दक्ष जनशक्ति आदानप्रदान गर्न गरिनुपर्दछ । यस पक्षलाई कार्यान्वयन गर्न भगिनी सम्बन्ध स्थापना भएका शहरहरूका रोजगारदाताहरू सम्मिलित संयुक्त संयन्त्रहरू स्थापना गरिनुपर्दछ ताकि उपलव्ध सम्भावनाहरूलाई व्यवहारमा उतार्न सहज होस् ।
चौथो, भगिनी सम्बन्ध स्थापना भएका शहरका उद्यमीहरूले एक अर्काका शहरहरूमा लगानी गर्न लगानीका क्षेत्रहरू पहिचान गरिनुपर्दछ र ती क्षेत्रहरूमा कसरी लगानी गर्न सकिन्छ भन्ने विषयमा नेपाल लगानी बोर्डको समेत सहयोगमा आपसी लगानी प्रवद्र्धन गर्ने खालको संयन्त्र पनि स्थापना गरिनुपर्दछ । भगिनी शहरस्तरमा हुने यस्ता लगानीहरू धरातलमा आधारित भई मुलुकमा वैदेशिक लगानी र प्रविधि हस्तान्तरणको नयाँ चरण शुरू हुने देखिन्छ ।
पाँचौं, भगिनी सम्बन्ध स्थापना भएका शहरहरूका केही विशेषताहरू हुन्छन्, जसको एक अर्को शहरलाई आवश्यकता परिरहेको हुन्छ । स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, शीपमूलक तालीम आदि जस्ता क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोगका क्षेत्रमा भगिनी शहरहरूबीच सहकार्य पनि त्यत्तिकै आवश्यक हुन्छ । यसका लागि सम्बन्धित शहरहरूले आपसी सहयोगका क्षेत्रहरू पहिचान गरी अर्थ मन्त्रालय मार्फत यस्ता सहयोगहरूमा सहकार्य गर्न सक्दछन् । यसका लागि पनि आपसी सहयोगका क्षेत्रहरू पहिचान गर्न संयन्त्र स्थापना हुन जरुरी छ ।
छैटौं, यस्ता भगिनी सम्बन्धहरू आफ्ना शहरका मात्रै नभई देशकै मौलिकता, कला, संस्कृति, परम्परा, शैलीहरू, संस्कारहरू, भेषभूषा तथा भाषाहरूको प्रचारप्रसार गरी देशको गरिमा अभिवृद्धि गर्ने माध्यम पनि बन्न सक्दछन् । यस्ता प्रचारप्रसारहरू राष्ट्रिय स्तरमा गरिने प्रचारप्रसार भन्दा धेरै प्रभावकारी हुन्छन् । दुई देशको सम्बन्ध सुधारदेखि भ्रम निवारणसम्ममा यस्ता आदानप्रदानहरू बढी प्रभावकारी हुन्छन् । स्थानीय जनतासम्म देशको राम्रो तस्वीर प्रचारित हुँदा समग्र राष्ट्रकै गरिमा अभिवृद्धि हुने देखिन्छ । यसका लागि दुवै शहरका कलाकार, संस्कृतिविद्, कवि, विद्वान् र शिल्पीहरूको भ्रमण आदानप्रदान हुन जरुरी छ ।
सारांशमा भन्नुपर्दा कुनै पनि देशसँग भगिनी सम्बन्ध स्थापना गर्दा पर्यटन प्रवर्द्धन, निर्यात प्रवर्द्धन, रोजगारी प्रवर्द्धन, लगानी प्रवर्द्धन र सहयोग प्रवर्द्धन र नेपालको पहिचान प्रवर्द्धनका क्षेत्रमा गर्न सकिने सहकार्यलाई आधार मानिनुपर्दछ । तथ्यांक, सूचना, मेधा, ज्ञान र बुद्धिमत्ताका आधारमा अनुसन्धान गरी उपयुक्त शहरहरूको छनौट गरी ठोस आधार तयार भएपछि भगिनी सम्बन्ध स्थापना गर्न पर्दछ । जुन शहरसँग नेपालको भगिनी सम्बन्ध स्थापना भइसकेको छ, ती शहरसँग उपर्युक्त छ ओटा क्षेत्रमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा तथ्यांक र सूचनामा आधारित रहेर सम्बन्धित विषयका विशेषज्ञहरूबाट कार्यान्वयन योजना सहित कार्ययोजनाहरू तयार गरिनुपर्दछ । माथि उल्लेख गरेझैं पर्यटन, व्यापार, रोजगारी, लगानी, सहयोग र नेपालको पहिचान प्रवर्द्धन गर्न परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहमति सहित आवश्यक पर्ने द्विपक्षीय संयन्त्रहरूको स्थापना पनि गरिनुपर्दछ ।
उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै भगिनी सम्बन्धलाई साँच्चै गम्भीरतापूर्वक लिने हो भने यी सम्बन्धहरू नेपालको समृद्धिका कारण बन्ने निश्चित छ । यसका लागि सम्बन्धित नगरपालिकाहरू, नगरपालिकाभित्रमा उद्यमी व्यवसायीहरू र विद्वत् वर्गले भगिनी सम्बन्धलाई कसरी अधिकतम हितमा उपयोग गर्ने भन्ने विषयमा सक्रियताको शुरुआत गर्नुपर्दछ । यसरी भगिनी शहरको सम्बन्धलाई आपसी व्यापार प्रवर्द्धनमा उपयोग गर्न सकेको खण्डमा दुवै भगिनी शहरको आर्थिक समृद्धिमा योगदान दिने निश्चित छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् । यहाँ व्यक्त विचारहरू लेखकका निजी हुन् ।