ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जुमखोला जलविद्युत् आयोजनाको ईआईए प्रतिवेदन सार्वजनिक

Nov 11, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखाको बिगु गाउँपालिका–१ स्थित जुमखोला जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन सार्वजनिक गरिएको छ । ५६ मेगावाटको उक्त आयोजनाको शनिवार लामाबगरमा ईआईए प्रतिवेदन सार्वजनिक गरिनुका साथै सार्वजनिक सुनुवाइ समेत गरिएको हो ।

आयोजना गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने भएकाले संरक्षण क्षेत्रका नियमको समेत पालना गर्दै सामाजिक तथा वातावरणीय प्रभाव मूल्यांकन गरिएको आयोजनाको प्रवद्र्धक सानिमा हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. सुवर्णदास श्रेष्ठले बताए । ‘रन अफ रिभर’मा आधारित सो आयोजनाबाट वार्षिक ३२ करोड ४७ लाख ५४ हजार ६९ किलोवाट घण्टा ऊर्जा उत्पादन हुने जानकारी उनले दिए ।

श्रेष्ठका अनुसार आयोजनाको सम्पूर्ण संरचना जुमखोलाको बायाँ किनारमा प्रस्ताव गरिएको छ । नेपाल–चीन सीमाबाट १ किलोमिटर तल्लो तटीय क्षेत्रमा २३ मिटर लामो बाँध बनाइनेछ । यस्तै बायाँ किनारमा इन्टेकका साथै ढुंगा, ग्राभेल रोक्ने संरचना निर्माण गरिने उनले बताए । आयोजना निर्माणको क्रममा क्षति भएको वनको पूर्तिका लागि खाली क्षेत्रमा एक रूख बराबर १० रूख वृक्षरोपण गरी ५ वर्षसम्म आफैले संरक्षण गरेर गौरीशंकर संरक्षण क्षेत्रलाई हस्तान्तरण गर्ने योजना रहेको उनको भनाइ छ ।

आयोजनाको बाँधसहित बालुवा थिग्य्राउने तीनओटा भूमिगत पोखरी निर्माणको प्रस्ताव गरिएको छ । पोखरीको लम्बाइ ६८ मिटर र चौडाइ १२ मिटर रहने बताइएको छ । यस्तै १ हजार ५१९ मिटर लामो सुरुङ र ३८७ मिटरको पेनस्टक पाइपमार्फत पानी ल्याएर विद्युत्गृहमा खसालिनेछ । विद्युतगृहमा १४ मेगावाट क्षमताका चारओटा जेनेरेटर जडान गरेर बिजुली उत्पादन गरिने प्रवर्द्धक कम्पनीले बताएको छ । 

आयोजनाको हेड २५४ मिटर रहेको छ । विद्युत् गृहबाट ७०४ मिटर लामो टेलरेस मार्फत पानीलाई तामाकोशी नदीमा मिसाउने योजना छ । आयोजनाका लागि स्थायी रूपमा ८ हेक्टर र अस्थायी रूपमा ७ दशमलव ९३ हेक्टर गरी कुल १९ दशमलव ९३ हेक्टर जमीन उपयोग गरिने प्रतिवेदनमा छ । उत्पादित बिजुली ३७ किलोमिटर टाढा रहेको गज्र्याङस्थित सबस्टेशनमा जोडिनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)