ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सावधान ! प्रहरी सक्रिय छ

२०७६ कार्तिक, २९  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

तपाईं उद्यमी हो ? प्रोफेशनल हो ? वा बैंकर हो ? हो भने सावधान ! प्रहरीबाट तपाईं जुनसुकै बेला पनि पक्राउ पर्न सक्नु हुन्छ । किनकि केही समययता नेपाल प्रहरीले काम गर्न थालेको छ । त्यसैले ऊ हिजोआज सक्रिय छ । कहिले ऊ आफै सक्रिय हुन्छ, कहिले अदालतको आदेशबाट । पक्राउ पर्न फौजदारी कसुर नै गरेको हुनुपर्छ भन्ने छैन नि ! 

प्रहरीलाई सक्रिय पार्नलाई होला केही महीनाअघि गृहमन्त्रीले देशमा अपराध घटिरहेको र अझ घट्दै जाने बताएका थिए । त्यसलगत्तै प्रहरी महानिरीक्षक खनालले पनि गृहमन्त्रीको हाँ मा हाँ मिलाउँदै नेपाल प्रहरीमा शुद्धताको शुरुआत भएको र देशमा अपराधी र गुन्डाहरू हराउँदै गएको भनेका थिए । शायद त्यही अभियान अनुसार नै होला कति गुन्डाहरू त जेलतिर छिरे, कति चाहिँ संसद्तिर । अनि अब कसलाई समात्ने त ? कसै न कसैलाई समात्न त पर्‍यो नि प्रहरीले पनि । 

अहिले शहरमा ‘अकुपाई टुँडिखेल’ को सल्ला छ । यता मन्त्रिमण्डलमा नयाँ नयाँ अनुहारहरू आउने हल्ला छ । आसेपासे, २–४ पासे, आठ आने, तीनपाने, खाने, नखाने विविध र विचित्र अनुहार र व्यवहार भएकाहरू पनि मन्त्री हुने भाछन् रे !

अझ केही महीनायता सरकारले सार्वजनिक पदमा बस्नेहरूलाई कार्यसम्पादन करार (कासक) गरी गरी जिम्मेवारी दिन शुरू गरिसकेपछि त कामको गति चाइनिज रेल झैं कुद्न थालेको छ । हो, त्यै नीति बमोजिम गृह मन्त्रालयले प्रजिअसँग कास करार शुरू गर्‍यो । त्यो अभियानको प्रभाव अहिले नेपाल प्रहरीमा राम्रैसँग परेको देखिन्छ । किनकि जिल्लामा प्रमुख भएर जानेसँग नेपाल प्रहरीले कास करार शुरू गरेको केही महीना बितिसकेको छ । एवं रीतले संगठन प्रमुखबाट विभागीय प्रमुख, महाशाखा प्रमुख र जिल्ला प्रहरी प्रमुख हुँदै मातहत इकाइ प्रमुखसँग पनि कास करार गर्ने कुरा थियो । अहिले प्रहरीको सक्रियता त्यै कास करारको प्रभाव र प्रतापले हुनुपर्छ । यसको मतलव अब चाँडै निर्मला लगायत व्यक्तिका हत्यारा र थुप्रै ‘भष्मे डन’हरू चाँडै पक्राउ पर्नेछन् भन्ने आशा गर्न सकिन्छ ।

तर यसबीचमा बैंकर, नेता र अझ प्रतिष्ठित व्यवसायी, उद्यमीलाई चैं किन पक्राउ गरेको त भन्ने प्रश्न उठ्न सक्छ । देशमा अलि काम लाग्ने शायद तिनै मात्र बाँकी भएर हो कि ? कि सरकारले यहाँ समावेशिता अपनाएको वा सन्तुलन कायम गरेको हो कि ? किनकि कति त्यै हत्यारा, सुन तस्कर, नेता, सांसद आदिलाई मात्र समात्ने भनेर यसो बैंकर र व्यवसायीलाई पनि समात्न शुरू गरेको होला । मान्छे समात्दा राजनीतिक हिसाबले पनि सन्तुलन मिलाएको देखिन्छ, कांग्रेस, एमाले आदि सबै पक्ष मिलाएरै भित्र हुलेको छ । शायद यै कुरा नबुझेकोले होला निजीक्षेत्रका थुप्रै संस्थाहरू सरकारले व्यावसायिक वातावरण बिगार्‍यो भनेर विनासित्तीमा कुर्लिरहेका छन् । ह्वाँ विश्व बैंक र आईएमएफले नेपाललाई ‘डुइङ बिजनेश’ सूचकांकमा सुधार गरेको भनेर भनिसकेकै छन् । अब अरूले व्यावसायिक वातावरण बिथोलियो भन्दैमा कसले पत्याउला र ? किनकि सन्तुलन कायम राख्ने कुरामा सरकार सधैं कुशल नै त छ !

नपत्याए अहिले भारतले मात्र नेपालको सीमा मिच्या मिच्यै गर्‍यो भनिराबेला यता सोझो भनिएको उत्तरी छिमेकी चीनले पनि नेपाली भूमि मिचिरहेकै रहेछ । सरकार यो सबै थाहा पाएर पनि थाहा नपाएजसरी यत्तिका वर्षदेखि मौन छ । यो हो नि सन्तुलित नीति, सन्तुलित विचार र सन्तुलित व्यवहार भनेको ! अर्थात् यै हो साँचो अर्थमा असंलग्न परराष्ट्र नीति । बरु कतिपय सामान्यजनले सन्तुलन गुमाएका कारण छिमेकीहरूका विषयमा असन्तुलित टिप्पणी र व्यवहार देखाउन थालेका छन् र पो । छिमेकीले मिचेका जमीन फिर्ता भैहालेछ भने पनि कत्तिनै आफैले पाउने जस्तो क्या !

अँ, अहिले शहरमा ‘अकुपाई टुँडिखेल’ को सल्ला छ । यता मन्त्रिमण्डलमा नयाँ नयाँ अनुहारहरू आउने हल्ला छ । आसेपासे, २–४ पासे, आठ आने, तीनपाने, खाने, नखाने विविध र विचित्र अनुहार र व्यवहार भएकाहरू पनि मन्त्री हुने भाछन् रे ! नयाँ मन्त्रीहरूसँगै मन्त्री, प्रधानमन्त्रीका नयाँ नयाँ सल्लाहकार र तिनका नयाँ नयाँ कारहरू पनि बजारमा देखिने नै छन् । यस्तो माहोलमा कहाँ अरू सानातिना कुरामा अल्झिरा होलान् नेपालीहरू । अहिलेको बेला त साङ्लो न नाग्लो कुनै प्रकारको पनि आन्दोलन, जुलुस, धर्ना आदिमा जाने कुरै छैन । दुई तिहाइको सरकार पाको बेलामा उसले के के समृद्धि गर्छ, हेर्दै, ताली मार्दै जाने मात्र हो । नत्र फेला परिएला नि प्रहरी दाइको फन्दामा ! सावधान !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)