गत आर्थिक वर्ष २०७५/७६ मा मुलुकको व्यापारघाटा करीब रू. १३ खर्ब २१ अर्ब पुगेको छ । निर्यात आयात अनुपात १ः१५ को हाराहारीमा छ । यस अवस्थाबाट १ः१ को निर्यात आयात अनुपात पुर्याउनु पर्ने चुनौती हामी सामु छ । अर्थात् वर्तमान रू. ९७ अर्बको निर्यातमा कम्तीमा १५ गुणा वृद्धि गर्ने लक्ष्य लिन आवश्यक देखिन्छ । निर्यातमा १५ गुणा वृद्धि गर्ने रणनीति अंगीकार गर्दा औद्योगिक कच्चापदार्थ, मेशिनरी र निर्माण सामग्रीको आयातमा पनि सोही अनुरूप वृद्धि हुन जान्छ ।
उपरोक्त अवस्थालाई दृष्टिगत गर्दै मुलुकको समग्र व्यापारलाई देशगत रूपमा विविधीकरण गर्न आवश्यक हुन्छ । २०१८ सालदेखि लागू देशगत व्यापार विविधीकरणको प्रयास अहिलेसम्म पनि सफल हुन सकिरहेको छैन । अझै पनि मुलुकको निर्यात र आयातको करीब दुई तिहाइ व्यापार भारतसँग हुने गरेको छ । नेपालको भारतसँगको दुई तिहाइ व्यापारमा पनि व्यापारघाटाको खाडल उच्च रहनुले भारततर्फको निर्यात व्यापारले अपेक्षित गति लिन नसकेको प्रष्टै हुन्छ ।
यसरी देशगत रूपमा मुलुकको निर्यात व्यापारलाई टेवा पुग्ने गरी व्यापार विविधीकरण हुन सकेको छैन । यसमा व्यापार विविधीकरणमा देशगत रणनीति तर्जुमा गर्नु नसक्नु प्रमुख कारणका रूपमा रहेको छ । देशगत रणनीति तर्जुमा गर्दा विद्यमान समस्याहरू यसप्रकार रहेका छन् :
देशगत रणनीति तर्जुमा गर्दा अनुसन्धानात्मक पक्षमा हाम्रो लगानी शून्यप्रायः रहेको छ । लक्षित मुलुकमा केके वस्तुहरू नेपालबाट निर्यात गर्न सकिन्छ, सो मुुुलुकबाट के कस्ता वस्तुहरू आयात गर्न सकिन्छ भन्ने विषयमा सूक्ष्म र विस्तृत रूपमा विशेषज्ञहरूबाट अनुसन्धान गर्ने प्रचलनको शुरुआत नै भएको छैन । विकसित मुुलुकहरूले सम्बन्धित देशको बजारको अध्ययन गर्न कूटनीतिक नियोगहरूमा आफ्ना विश्वविद्यालयका विज्ञहरूको समूह नै खडा गरेका हुन्छन् । विभिन्न गैरसरकारी संस्थाहरूमार्फत अध्ययन अनुसन्धानका कार्यहरू सम्पन्न गरिरहेका हुन्छन् । अर्को शब्दमा भन्नुपर्दा लक्षित देशहरूमा बाह्रैमास ‘मार्केट इन्टेलिजेन्स’का लागि सरकारी, गैरसरकारी, निजी र प्राज्ञ क्षेत्र खटिरहेको हुन्छ । यी तीनओटै क्षेत्रलाई सम्बन्धित देशमा स्थापित कूटनीतिक नियोगहरूले समन्वय गरिरहेका हुन्छन् । ती निचोडहरूले सम्बन्धित मुलुकलाई सम्बन्धित देशको व्यापार रणनीति तर्जुमा गर्न मार्गदर्शन गरिरहेका हुन्छन् ।
अनुसन्धान तथा प्रशासनिक सूचनाहरूमार्फत प्राप्त निचोडका आधारमा सम्बन्धित मुलुकमा निर्यात र आयात व्यापार सञ्चालन गर्न उच्च कोटीको व्यापारवार्ता आवश्यक हुन्छ । यस्ता व्यापारवार्ताहरू सञ्चालन गर्न संस्थागत संस्मरण सहितको उच्चकोटीको जनशक्ति प्रमुख शर्त हो । अंग्रेजी भाषाको ज्ञान, कूटनीतिक शिष्टाचार र पोशाक संहिताको ज्ञानलाई व्यापारवार्ताको योग्यता ठानिनु गलत हुन्छ । एकतर्फी व्यापारलाई दुईतर्फी बनाउने सोच व्यापार वार्ताका सारतत्व मानिन्छ । यसतर्फ पनि प्रयासहरू हुन सकिरहेका छैनन् ।
उपरोक्त तथ्यांकअनुसार नेपालका प्रमुख व्यापारिक साझेदार मुलुकहरू मध्ये संयुक्त राज्य अमेरिका र स्वीजरल्यान्ड बाहेकका देशहरूसँग नेपालको व्यापारघाटा अत्यधिक छ । अजेन्टिनाबाट रू. १० अर्ब ४५ करोड बराबरको आयात हुँदा निर्यात भने शून्य छ । इन्डोनेशियाबाट रू. १८ अर्ब ३१ करोड बराबरको आयात हुँदा रू. २ करोडको मात्र निर्यात हुने गरेको छ । चीन, यूएई, थाइल्यान्ड, मलेशिया, भियतनाम, युक्रेन जस्ता देशहरूसँगको नेपालको निर्यात नगन्यमात्रामा छ भने आयात भीमकाय छ । यदि आवश्यक अध्ययन र प्रभावकारी व्यापारवार्ता र आयातलाई निर्यातसँग जोड्ने रणनीतिमा हामी पोख्त भएको भए नेपाल–इन्डोनेशिया निर्यात–आयात व्यापारलाई १ः१ मा पुर्याउन दुग्धपदार्थ, लसुन, सुन्तला, स्याउ नै काफी हुने थिए । हामी व्यापार वार्तामा पोख्त भएको भए अर्जेन्टिनाबाट वस्तु आयातका लागि लाग्ने रकम छालाजन्य उत्पादनको निर्यातबाट परिपूर्ति गर्न सकिने अवस्थाहरू थिए ।
माथि उल्लेखित उदाहरणहरूलाई दृष्टिगत गर्दै निर्यात आयात अनुपात सकारात्मक भएका देशहरूसँग आयात प्रवद्र्धनको रणनीति अंगीकार गर्नुपर्दछ । निर्यात नगन्य र आयात अत्यधिक भएका देशसँग आयातलाई निर्यातसँग जोडी व्यापार वार्ताहरूमार्फत निर्यात प्रवद्र्धन गरिनुपर्दछ । यसका लागि अध्ययन, व्यापार वार्ता र संस्थागत संस्मरणलाई व्यवस्थित रूपमा अघि बढाउन आवश्यक छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् । यहाँ व्यक्त विचारहरू लेखकका निजी हुन् ।