ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तामाकोशी बजारको सडक अतिक्रमण हटाइँदै

Nov 18, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । लामोसाँघु–जिरी सडक अन्तर्गत दोलखाको तामाकोशी बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरू हटाइने भएको छ । उक्त सडक विस्तारमा बाधा उत्पन्न भएपछि अतिक्रमित संरचनाहरू हटाउन लागिएको हो । उक्त सडक दुई लेनको बनाइने भएको छ । 

ती संरचनाहरू हटाउन सम्बन्धित व्यक्तिलाई सडक डिभिजन कार्यालय चरिकोटले आग्रह गरेको थियो । तर, कार्यालयको आग्रहलाई बेवास्ता गरेपछि जिल्ला प्रशासन कार्यालय दोलखाले बिहीवार सर्वपक्षीय बैठक डाकी अतिक्रमण हटाउने निर्णय गरेको हो । 

भीमेश्वर नगरपालिका–५ मा रहेको तामाकोशी बजार मंसिरको पहिलो साताभित्र हटाउन अन्तिम पटक सम्बन्धित पक्षलाई सूचना गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । 

मंसिरको पहिलो साताभित्र अतिक्रमण गरी बनाइएका संरचना सम्बन्धित व्यक्तिले नहटाएमा प्रशासनले बल प्रयोग गरेर भए पनि अतिक्रमित क्षेत्र खाली गराउने रिजालको भनाइ छ । तामाकोशी बजार दोलखाभित्र पर्ने लामोसाँघु–जिरी सडकसँगै जोडिएको चर्चित बजार हो । तामाकोशी नदीमा पुल हाल्ने जिप तयार गर्न समेत अतिक्रमित संरचनाका कारण समस्या भएपछि नयाँ पुलमा रहेको अतिक्रमित बस्ती हटाउनु पर्ने बाध्यात्मक परिस्थिति प्रशासनालाई सृजना भएको छ । 

डिभिजन सडक कार्यालय चरिकोटले पटक–पटक सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाउन सूचना टाँस्दा पनि अतिक्रमण गर्नेहरूले नसुनेको कार्यालयका प्रमुख धर्मेन्द्र झाले बताए । स्वीस सरकारले लामोसाँघु–जिरी सडक निर्माण गरेदेखि नै बसेको तामाकोशी बजारमा हाल करीब ८० घरधुरी रहेको अनुमान छ । 

सीता कुण्ड सामुदायिक वनक्षेत्रभित्र पर्ने तामाकोशी बजारमा निर्मित संरचनाले तामाकोशी नदीमा पुल हाल्न मात्र नभई नयाँपुल–डाँडा खर्कसम्म पुग्ने सडक विस्तारमा पनि बाधा पुर्‍याइरहेको छ । नयाँपुलमा रहेको तामाकोशी बजार मात्र नभई लामोसाँघु–जिरी सडकअन्तर्गत दोलखाभित्र पर्ने सडकको दायाँबायाँ मिचेर बनाइएका सबै संरचना हटाउने जिल्ला प्रशासन कार्यालय दोलखाको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)