ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरानमा बसपार्क निर्माणको बाटो खुल्यो

Nov 19, 2019  
यातायात
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

धरान । १८ वर्षदेखि विवादित बनेको धरान उपमहानगरपालिकाको बसपार्क निर्माण अघि बढ्ने भएको छ । स्थानीयवासीसँग भएको जग्गाको विवाद उपमहानगरपालिकाले सुल्झाउने भएपछि बसपार्कको बाटो खुलेको हो । नगरपालिकाका कर्मचारीले जग्गा अधिग्रहणमा अनियमितता गरेको भन्दै स्थानीयले विरोध गर्न थालेपछि बसपार्क योजना अलपत्र परेको थियो । तर पछिल्लो समय कर्मचारीको नाममा रहेको जग्गा अधिग्रहण गर्ने निर्णय भएसँगै बसपार्क बन्ने निश्चित भएको उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी बताइन् ।

धरानको बसपार्क साँघुरो भएको भन्दै धरान उपमहानगरपालिकाले २०५८ सालमा धरान–८ सुन्दरबस्तीमा सार्ने योजना ल्याएको थियो । यस स्थानमा रहेको सर्वसाधारणको ३५ कठ्ठा जग्गा उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा समेत ल्याइसकेको थियो । स्थानीय बासिन्दाबीच भएको विवाद समाधान भएसँगै प्रदेश तथा संघीय सरकारको बजेटबाट बसपार्क बनाउन प्रक्रिया अघि बढाइएको भण्डारीले बताइन् । ‘बसपार्कको जग्गाबारे स्थानीयको गुनासो सम्बोधन गरिसकेका छौं,’ उनले भनिन्, ‘छलफल गरेर अघि बढेका छौं, नीति र विधिलाई उनीहरूले पनि साथ दिएका छन् ।’

बस्ती विकास आयोजनाको १ बिगाहा १५ कठ्ठा जग्गामा स्मार्ट बसपार्क बनाउन डीपीआर तयार भइरहेको भण्डारीले बताइन् । बसपार्क निर्माणको अनुमानित लागत ४३ करोड रुपैयाँ रहेको छ । तीन तहकै सरकारबीच समन्वय र सहकार्य गरेर बसपार्क निर्माण सम्पन्न गर्ने लक्ष्य उपमहानगरपालिकाले लिएको छ ।  

प्रदेश नं १ सरकारले धरानको प्रमुख आवश्यकतामध्येको उक्त बसपार्कको डीपीआर बनाएको हो । ऋषिकेश सर्भिसेस प्रालिले तयार गरेको डीपीआर प्रदेश सरकारले स्वीकृत गरिसकेको छ । डीपीआर अनुसार बसपार्क निर्माणका लागि नगर विकास कोषसँग छलफल र परामर्श भइसकेको भण्डारीले बताइन् । ‘बजेटका लागि तीनओटै सरकारसँग समन्वय गरेर यही आर्थिक वर्षमा निर्माण शुरू गर्छौं,’ उनले भनिन् ।

लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि आएपछि आयोजनाको समस्या समाधान गर्दै काम अघि बढाउन भण्डारीले स्थानीयवासीसँग पटक पटक छलफल गरेकी थिइन् । उनकै पहलमा आयोजनाको काम अघि बढेको हो । बसपार्क निर्माण अघि बढ्ने भएपछि जग्गादाताहरू उत्साहित भएका छन् । बसपार्क बन्ने भएपछि जग्गाको सदुपयोग हुनेमा आफू विश्वस्त रहेको जग्गादाता मुकुल कायस्थले बताए । बसपार्क निर्माणमा धरान उपमहानगरपालिकाले मात्र लगानी जुटाउन  समस्या हुने भएकाले प्रदेश र संघीय सरकारबाट बजेटको सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए । धरानको बजारीकरण पनि बढ्दै गएकाले यसको व्यवस्थापनको काम अघि बढाउन पनि उनले सुझाए । 

उक्त बसपार्कको एउटा विशेषता साना ठूला विद्युतीय बसको पनि पार्किङ स्थल रहनेछ । बसपार्क बेसमेन्ट (अन्डरग्राउन्ड पार्किङ) सहित तीन तलाको हुनेछ । डीपीआर अनुसार बेसमेन्ट २०० ओटा साना गाडी र १५० ओटा मोटरसाइकल अट्ने क्षमताको हुनेछ । यस्तै, सतह (दोस्रो तला)मा ४९ ओटा बस र १५ ओटा साना गाडी राख्ने ठाउँ हुनेछ । यो तलामा रूटमा चल्ने गाडीहरू मात्र राखिनेछ । त्यहाँ १२ ओटा विभिन्न रूटमा जाने गाडीको पार्किङ गरिनेछ । डिजाइन अनुसार तेस्रो तला टर्निमल भवन यात्रुको प्रयोगमा आउनेछ । त्यहाँ क्याफे, लाइब्रेरी र व्यापारिक कोठाहरू रहनेछन् । बसपार्कको सतहको खाली स्थानमा पूmलबारी (बगैंचा) पनि निर्माण गरिनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)