ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अण्डा उत्पादकको पीडा : ११ रुपैयाँ लागतको अण्डा ६ रुपैयाँमा विक्री

Nov 20, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनका किसान लागत मूल्यभन्दा झण्डै आधा मूल्यमा अण्डा बेच्न बाध्य छन् । दानाको मूल्य निरन्तर उकालो र अण्डाको मूल्य ओरालो लाग्दै गएकाले लागत मूल्यभन्दा सस्तोमा अण्डा बेच्नुपरेको हो । 

सस्तोमा अण्डा बेचेर दाना खरीद गर्नुपर्ने अवस्था रहेको किसान बताउँछन् । ‘अहिले दानाको प्रतिकेजी मूल्य ६० रुपैयाँसम्म छ । एउटा कुखुराले दैनिक ११० ग्राम दाना खान्छ,’ विगत २५ वर्षदेखि कुखुरापालन गर्दै आएका ज्यामिरेका अर्जुन अर्यालले भने, ‘यस क्षेत्रमा कुखुरापालनमा ८० अर्ब रुपैयाँभन्दा बढी लगानी छ । बैंक र किसानको लगानी सुरक्षित गर्न पनि राज्यले नियमन गर्नुपर्छ ।’ अण्डाको मूल्य निरन्तर घट्दा व्यवसाय नै धरापमा परेको उनी बताउँछन् । 

पाँच वर्षअघि प्रतिक्रेट ३६० रुपैयाँमा बेचिएको अण्डाको मूल्य अहिले प्रतिक्रेट २२० रुपैयाँ छ । नेपाल अण्डा उत्पादक संघले ठूलो अण्डाको प्रतिक्रेट (फर्म मूल्य) रू. २७५ र मझौला प्रतिक्रेट रू. २४५ निर्धारण गरे पनि व्यवहारमा लागू नभएको किसानको गुनासो छ । अघिल्लो वर्ष प्रतिकेजी ३९ रुपैयाँमा पाइने दानाको मूल्य अहिले प्रतिकेजी ६० रुपैयाँ तिर्नुपर्छ । 

संघका निवर्तमान महासचिव मदन पोख्रेल हाल प्रतिगोटा अण्डामा ११ रुपैयाँ लगानी परेको र ६ रुपैयाँमा प्रतिगोटा बेच्नुपरेको बताउँछन् । दाना तथा फर्ममा प्रयोग हुने औषधि लगायत वस्तुको मूल्यमा भएको वृद्धिले लागत मूल्य बढेको र अस्वस्थ प्रतिस्पर्धाका कारण विक्री मूल्य घटेको उनको भनाइ छ । 

चितवनमा यस वर्ष अघिल्लो वर्षभन्दा अण्डाको उत्पादन झण्डै ३ गुणाले बढेको छ । तर, सोही अनुसारको माग र बजार व्यवस्थापन नभएका कारण पनि किसानले दैनिक घाटा बेहोर्नुपरेको छ । 

जति धेरै उत्पादन छ, उति नै घाटा पनि बेहोर्नुपरेको स्थानीय सुविस पोल्ट्री फर्मका सञ्चालक सुनील शाक्य बताउँछन् । उनको फार्ममा दैनिक १३० पेटीभन्दा बढी अण्डा उत्पादन हुँदै आएको छ । केही वर्षअघिसम्म चितवनमा मात्रै व्यावसायिक कुखुरा पालक रहेका र हाल यो व्यवसाय धेरै जिल्लामा विस्तार भएका कारण पनि मूल्यमा एकरूपता नभएको उनको बुझाइ छ । 

पछिल्लो समय अण्डा उत्पादक किसानसँग आपसी सहकार्य नहुनु, संघमा नेतृत्वको विषय र बिचौलिया हावी हुनु लगायत कारणले पटक–पटक मूल्यका विषयमा विवाद हुँदै आएको छ । संघका अनुसार देशभर दैनिक उत्पादन हुने ६७ लाख अण्डामध्ये चितवनमा मात्रै करीब १५ लाख उत्पादन हुने गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)