देशमा करदाताको संख्या नै २९ लाख पुगेछ । वाह ! वाह ! अर्थात् अहिले जनसंख्याको झन्डै १० प्रतिशतले देशको सम्पूर्ण प्रशासनिक खर्च धान्न पूर्ण सफल छ । अब चिन्ता छैन । देशमा जतिसुकै मन्त्री, सांसद र सल्लाहकारहरूको भीड बढे पनि जनसंख्याको यति जाबो अंश अर्थात् १० प्रतिशतले नै ९० प्रतिशत देश धानेपछि भ्रष्टाचारी, दलाल, बेइमान देशमा जति भए पनि फरक नपर्ने भएको छ । अर्थात् नेताले कर नतिरे पनि चल्छ, कर्मचारीले घूस खाए पनि खेतमा धान चैं आफै फल्छ फल्छ । फलेन भने पनि पैसा तिरेपछि ‘उता’बाट हाम्रोमा त्यसै बर्सन्छ ।
नेताहरूले भनिरहेका छन् कि ५ वर्षमा भारत र १० वर्षमा चीनलाई भेट्टाउने रे । अझ एक मन्त्रीले त एउटा कार्यक्रममा यतिसम्म भन्न भ्याइसके कि अब यस्तो दिन पनि आउनेछ, तपाईंले आफ्नो घरमा स्वीच थिच्दा ममका डल्ला फुत्त फुत्त झर्नेछन् र घरमै बसी बसी खान पाउनु हुनेछ । ग्याँसको पाइप हुँदै घरघरमा ममका डल्ला समेत पुग्ने भइसके । थप समृद्धिका लागि केही पुरानालाई हटाएर नयाँ अनुहारहरूलाई मन्त्री बनाइएको छ । ह्याँ भन्दा पनि बढी समृद्धि चैं के खोज्ने हो र अब ? बरु यै खुशीयालीमा आउनोस् नाचौं गएर ज्ञानेन्द्र शाहसँगै डिस्कोमा । त्यसले पनि अर्थतन्त्रलाई मद्दत नै गर्छ ।
नेताहरूले भनिरहेका छन् कि ५ वर्षमा भारत र १० वर्षमा चीनलाई भेट्टाउने रे । अझ एक मन्त्रीले त एउटा कार्यक्रममा यतिसम्म भन्न भ्याइसके कि अब यस्तो दिन पनि आउनेछ, तपाईंले आफ्नो घरमा स्वीच थिच्दा ममका डल्ला फुत्त फुत्त झर्नेछन् र घरमै बसी बसी खान पाउनु हुनेछ ।
नेपालको वास्तविक अर्थतन्त्र झन्डै १०० अर्ब डलर पुगिसक्यो भन्छन् अर्थशास्त्रीहरू । खोइ त कहाँ छ भन्नुहोला । यसमा छाँया अर्थात् अनौपचारिक वा अवैध अर्थतन्त्र पनि समावेश छ नि त । त्यति हो कि औपचारिक भन्दा दोब्बर मात्र छ । बिरालो कालो भए नि सेतो भए नि मुसा मारे त भैगो । अर्थात् घाम होस् कि छाँया आखिर अर्थतन्त्र त अर्थतन्त्रै हो नि । ‘इट्स द इकोनोमी स्टुपीड’ भन्छन् नि, हो यस्तैलाई भन्या होला क्या !
त्यसो भने को को छन् त यी दुईथरी अर्थतन्त्रका खेलाडीहरू भनेर पक्कै सोध्नुहोला । त्यो त स्पष्टै छ । यी २९ लाख करदाता सक्कली अर्थतन्त्रका खेलाडी हुन् भने उच्च राजनीतिक नेतृत्वदेखि कर उठाउने गौंडामा कलमरूपी बन्दुक लिएर बसेका हाकिम, सार्वजनिक पदमा बसेका हवल्दारदेखि चौकीदारसम्म, ठेक्का पड्काउने तर पूर्वाधार नबनाउने ठेकेदारदेखि वैध–अवैध प्रशस्त आम्दानी गरे पनि कर नबुझाउने भूमाफिया, तस्कर र अवैध शुल्क अशुल गर्न पल्केका मेडिकल माफियाहरू चैं अर्कै साइड अर्थात् अनौपचारिक अर्थतन्त्रका ठूला खेलाडीहरू हुन् । त्यो अर्को साइडका यिनीहरू अर्थतन्त्रका मात्र होइन, सत्ताकै ठूला खेलाडी हुन्, जसको इशारामा अर्थतन्त्र, छाँया अर्थतन्त्र र सरकार चल्छन् । यिनले भने अनुसार चलेन भने सरकारहरू ढल्छन् ।
कतिसम्म भने यिनको तजबिज अनुसार विद्यार्थीहरू युनिभर्सिटीका प्रश्नपत्र जाँचहल बाहिरै चलाउँछन्, पर्यो भने इँटाभट्टामा आफ्नै मान्छे समेत ज्यूँदै जलाउँछन् । सार्वजनिक नियुक्तिहरू बोलकबोलमा विक्री गर्छन् । फौजदारी कसुर गर्छन् र पार्टीलाई चन्दा दिएकै भरमा सांसद पद पड्काउँछन्, कति त मन्त्री समेत पड्काउँछन् । अनि चलाउँछन् घाम–छाँया सरकार, भित्र वा बाहिरै बसेरै पनि । आखिर छाँया अर्थतन्त्र पनि त हाम्रै हो, त्यो पनि चलाउनु त प¥यो नि ! त्यो चलाउन दलालहरूको दलबल दलहरूका र नयाँ राजाका नयाँ दरबार वरिपरि घुमिरहन्छन् । किनकि उनीहरू नै छाँया अर्थतन्त्रका वास्तविक खेलाडीहरू जो हुन् ।
यति कुरा बुझेपछि वास्तविक अर्थात् औपचारिक अर्थतन्त्र बनाउन त नेपालले अहिले कदापि सक्दै सक्दैन भनेर ठोकुवा गर्न सकिन्छ । भनेपछि छाँया अर्थतन्त्रलाई मलजल गर्नुको विकल्प पनि त छैन हामीसँग । त्यसैले जहाँ जसले र जसरी सक्छ, छाँया अर्थतन्त्रलाई पूर्णरूपमा सफल बनाउन तथाकथित औपचारिक अर्थतन्त्रलाई औपचारिक रूपमै सकेसम्म छिट्टै बिदा गर्नुमा नै सबै प्यारा देशवासीहरूको हित देखिन्छ । अहिले सच्चा नागरिकको कर्तव्य पनि यही हो । अनिमात्र नेपाल दुई तिहाइले सोचेको भयंकर सफल र समृद्ध राज्यतर्फ उन्मुख हुनेछ । हामी ठीक बाटोमै छौं क्या । बरु तपाईं पनि छिटो लाग्नोस् छाँया अर्थतन्त्रलाई बलियो बनाउनेतर्फ !