नेपालको निर्यात व्यापारमा गत आर्थिक वर्षमा नयाँ दिशा दिन सफल भयो, पाम तेलको निर्यात । पाम तेलको निर्यातले देशको निर्यात व्यापारमा व्याप्त जडतालाई गतिशीलतामा रूपान्तरण गर्ने काम यही पाम तेलका कारण सम्भव भयो । गतवर्ष पाम तेल नयाँ निर्यात वस्तुका रूपमा देखा नपरेको भए नेपालको निर्यात व्यापारको वार्षिक वृद्धिदर ६ दशमलव ७ प्रतिशत मात्र हुने थियो । यदि यस निर्यातमा भटमासको तेल समेत प्रवेश नगरेको भए नेपालको वार्षिक वृद्धिदर ३ दशमलव ८ प्रतिशतमा सीमित हुने थियो । रू. ८४ अर्बको हाराहारीमा निर्यात सीमित हुने थियो । प्रयास गरे एकै वर्षमा पनि अर्बौंको निर्यात वृद्धि सम्भव रहेछ भन्ने पक्षलाई पाम तेलको निर्यातले पुष्टि गरेको छ । पामतेलको निर्यातमा नेपालको निजीक्षेत्रको कौशलता साँच्चै प्रशंसनीय छ । यस प्रकारको आठ दशओटा वस्तु पहिचान गरी निर्यात गर्न सकेको खण्डमा नेपालको निर्यातमा विगत लामो समयदेखि रू. ६० अर्ब देखि ९० अर्ब बीच रहेको गलपाशो ( बटलनेक) बाट मुक्त हुने देखिन्छ ।
विश्वका दुई विशालतम अर्थतन्त्र भारत र चीनबीच अवस्थित नेपालका लागि यस प्रकारको निर्यात भूराजनीतिक अवस्थिति अनुसार उपयुक्त मोडेल पनि हो । विगतमा यही मोडलका कारण नेपालबाट फलाम र स्टीलका उत्पादनहरू, यार्न, कपडा, ऊनी गलैंचा, तयारी पोशाक, फेल्ट जस्ता वस्तु निर्यात भइरहेका छन् ।
विदेशबाट कच्चापदार्थ आयात गरी त्यसमा निश्चित प्रतिशत मूल्य अभिवृद्धि ( भ्यालु एडिशन) गरी निर्यात गर्ने यो मोडेलले मुलुकको निर्यात व्यापारलाई निश्चित उचाइमा पुर्याउन मद्दत दिएको छ । यो मोडेलको निर्यातले मुलुकमा उद्योगधन्दाको आधार पनि तयार गरेको छ । मुलुकभित्र रोजगारी सृजनामा पनि यी निर्यातजन्य उद्योगहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् ।
नेपालमा विगत १० वर्षको आयातलाई विश्लेषण गर्दा वार्षिक औसत रू. ४ अर्बको कच्चा पाम तेल आयात भएको देखिन्छ । गत आर्थिक वर्ष (आव) २०७५/७६ मा (प्रशोधित पाम तेल निर्यात शुरू भएको वर्ष) करीब रू. ११ अर्ब ७६ करोडको कच्चा पाम तेलको आयात भएको छ । आव २०७४/७५ मा नेपालमा रू. ४.७१ अर्ब कच्चा पाम तेल आयात भएको थियो जो नेपालमा हुने आन्तरिक खपत हो । सारमा भन्नुपर्दा नेपालमा आन्तरिक खपतका लागि करीब रू. ४ अर्बदेखि रू. ५ अर्बको बीचमा कच्चा पाम तेलको आवश्यकता रहेको पुष्टि हुन्छ । यस कोणबाट विश्लेषण गर्दा गत आवको कच्चा पाम तेलको कुल आयात रू. ११ अर्ब ७६ करोडमध्ये रू. ७ अर्ब १५ करोड मूल्य बराबरको कच्चा पाम तेल निर्यात प्रयोजनका लागि आयात भएको देखिन्छ । यो अंक रू. ७ अर्ब १५ करोडमा मूल्य योग भएर करीब रू. १० अर्ब ३३ करोड बराबरको प्रशोधित पाम तेल निर्यात भएको छ । यसरी सर्सर्ती हेर्दा कच्चा पाम तेलमा करीब ४५ प्रतिशत जति मूल्ययोग भएको देखिन्छ । नेपालले कच्चापदार्थ आयात गरेको वस्तुमा कम्तीमा ३० प्रतिशत मूल्य योग भए निर्यात गर्न सकिने प्रावधान रहेको छ । यसरी हेर्दा कच्चा पाम तेलमा उल्लेख्य मूल्य वृद्धि गरी भारतमा प्रशोधित पाम तेल निर्यात भएको छ ।
गतवर्ष भारतले सोही अवधिमा रू. १७४ अर्ब प्रशोधित पाम तेल आयात गरेको भारतको वाणिज्य विभागको तथ्यांक रहेको छ । गत वर्षको भारतको कुल प्रशोधित तेलको आयातमा नेपालको अंश करीब ६ प्रतिशत मात्र हुन आउँछ । यसै गरी भारतले आर्थिक वर्ष सन् २०१८/१९मा करीब रू. ४१५ अर्ब बराबरको कच्चा पाम तेल आयात गरेको भारतको वाणिज्य विभागको तथ्यांक रहेको छ ।
भारतमा प्राप्त रू. १७४ अर्बको प्रशोधित पाम तेलको बजारलाई लक्षित गरी नेपाली उद्योगको क्षमता अभिवृद्धि गर्ने हो रू. १७४ अर्ब बराबरको निर्यात गर्न सकिने सम्भावना रहेको छ ।
यस पक्षलाई दृष्टिगत गरी नेपाल सरकारले भारतको करिव रू. ५८६ अर्बको पामको बजारलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । यसका लागि सर्वप्रथम, नेपाली तेल मिलको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनु आवश्यक छ । दोस्रो, नेपाली पाम तेलको निर्यातमा पाउने प्रत्यक्ष नगद अनुदानलाई सहज बनाउन पनि आवश्यक देखिन्छ । तेस्रो नेपाली तेललाई भारतको वर्तमान बजार प्रवेशलाई निरन्तरता दिन नेपालको आर्थिक कूटनीतिलाई सबल बनाउन पनि जरुरी छ । विशेष गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाम तेलको निर्यात प्रवद्र्धन र निरन्तरताका लागि विशेष सेल उत्पादनको गठन हुन पनि आवश्यक छ । १ वर्षमा रू. १० अर्ब ३३ करोडको निर्यात गर्ने क्षमता भएको यस उद्योगलाई भारतको रू. ५८६ अर्बको पाम तेलको ठूलो अंशमा प्रवेश गर्ने गरी स्तरोन्नति गर्न सरकार र निजीक्षेत्रले सहकार्य गर्नु जरुरी छ । यही पक्षलाई दृष्टिगत गरी नेपाल एकीकृत व्यापार रणनीतिमा पाम तेललाई समेत समावेश गरी यस वस्तुको आधार बलियो गरिनुपर्छ । पाम तेलको निर्यातमा देखिएको यति राम्रो वृद्धिलाई थप माथि पुर्याउनु सबको बुद्धिमत्ता हुन जान्छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् । यहाँ व्यक्त विचारहरू लेखकका निजी हुन् ।
#आर्थिक अभियान दैनिकको आजको प्रिन्ट संस्करणको चार पेजमा प्रकाशित पाम तेल निर्यात रणनीति आवश्यक शिर्षकको समाचारको पहिलो लाइनमा ‘नेपालको निर्यात व्यापारमा गत’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । –सम्पादक