कम्पनीमा लगानी गर्न लगानीकर्ताले आफ्नो लगानी सुरक्षित छ वा छैन र कम्पनीको व्यवसाय वा कारोबारमा नाफा वा नोक्सान के छ सो बारेमा थाहा जानकारी राख्नुपर्छ । कम्पनीको लेखाबाट नै कम्पनीका शेयरधनी, साहू, कर्मचारी लगायतले कम्पनीका बारेमा यथार्थ जानकारी प्राप्त गर्छन् । सूचीकृत कम्पनीको आर्थिक विवरणहरू समेत प्रत्येक त्रैमासिक समाप्त भएको ३५ दिनभित्र प्रकाशित गर्नुपर्छ भने बैंक तथा वित्तीय संस्थाले प्रत्येक त्रैमासिक समाप्त भएको ३० दिनभित्र सर्वसाधरणको जानकारीका लागि प्रकाशित गर्नुपर्छ । कम्पनी ऐन, २०६३ ले कम्पनीको हिसाबकिताब तथा लेखा राख्नका लागि निश्चित पदाधिकारीलाई जिम्मेवार तोकिएको हुन्छ । कम्पनीको हिसाबकिताब वा लेखाको विवरण नराख्ने कम्पनीका सञ्चालक तथा पदाधिकारीलाई सजाय गर्ने व्यवस्था कम्पनी ऐनमा गरिएको छ । कम्पनीको हिसाबकिताब तथा लेखा राख्न कम्पनीका सञ्चालक, प्रमुख वित्तीय अधिकृत लगायत कर्मचारी पदाधिकारीको जिम्मेवारी तोकिएको छ । कम्पनीको हिसाबकिताब तथा लेखा राख्ने अन्तिम जिम्मेवारी सञ्चालकहरू वा अन्य तोकिएका पदाधिकारीहरूमा रहन्छ ।
कम्पनीको सञ्चालक समितिले तोकिदिएको रकमबाहेक कम्पनीसँग रहेको नगद मौज्दात बैंकमा दाखिल गरी बैंकमार्फत नै कारोबार गर्नुपर्छ । जस्तो दैनिक कार्य सञ्चालनका लागि आवश्यक रकमबाहेक अन्य रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गर्नुपर्छ । कम्पनीले राखेको हिसाबकिताब तथा लेखालाई मान्यताप्राप्त लेखा परीक्षकद्वारा लेखापरीक्षण गराएर सञ्चालकहरूले प्रमाणित (हस्ताक्षर) गरी सञ्चालक समितिद्वारा पारित गराई स्वीकृतिका लागि साधारणसभामा पेश गर्नुपर्छ । कम्पनीले आफ्नो हिसाबकिताब तथा लेखाको विवरणमा यथार्थ वा वास्ताविकताको चित्रण हुने गरी राख्नुपर्छ । कम्पनीले सरकारलाई तिर्ने करको निर्धारण गर्दा कम्पनीको आर्थिक विवरणबाट नै निर्धारण गरिन्छ । कम्पनीमा लगानी गरेका शेयरधनी, कम्पनीलाई ऋण दिने बैंक तथा वित्तीय संस्था तथा साहू, कम्पनीका कामदार कर्मचारी लगायत व्यक्तिले प्राप्त गर्ने लाभांश, ब्याज तथा पारिश्रमिक लगायत अधिकार समेत कम्पनीको नाफानोक्सानसहितको वासलातबाट निर्धारण हुन्छ ।
कम्पनीको हिसाबकिताब वा लेखालाई लेखापरीक्षण गर्नुपर्छ । कम्पनीको नियमनकारी निकायहरूले सम्बद्ध कम्पनीहरूका लागि लेखापरीक्षणका सम्बन्धमा थप व्यवस्थासमेत गरेका छन् । जस्तो, बैंक तथा वित्तीय संस्थाहरूको हकमा नेपाल राष्ट्र बैंकले थप व्यवस्था गरेको छ । कम्पनीको प्रकृतिअनुसार नियमनकारी निकायले तोकेको लेखा तथा लेखापरीक्षण गरी राख्नुपर्छ । कम्पनीको लेखा दोहोरो लेखाप्रणालीमा आधारित र कम्पनीको कारोबारको यथार्थ स्थिति स्पष्ट रूपमा प्रतिबिम्बित हुने गरी प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायले लागू गरेको लेखामान र कम्पनी ऐनबमोजिम पालना गर्नुपर्ने अन्य शर्त तथा व्यवस्थाअनुरूप राख्नुपर्छ । कम्पनी रजिस्ट्रारको कार्यालयले स्वीकृति दिएकोमा बाहेक कम्पनीको लेखा कम्पनीको रजिस्टर्ड कार्यालयबाहेक अन्यत्र राख्न सकिने छैन । कम्पनीको लेखा तथा वार्षिक आर्थिक विवरण तयार गर्ने सम्बन्धमा कम्पनी ऐनमा गरिएको व्यवस्था पालना नभएमा त्यस्तो लेखा, वार्षिक आर्थिक विवरण तथा अन्य प्रतिवेदनहरू जुन व्यक्ति सञ्चालक वा पदाधिकारीको हैसियतमा कार्यरत रहेको बखत भएको हो, सोही व्यक्ति कम्पनी ऐनबमोजिम जिम्मेवार रहन्छ ।
झूटा बेहोराको वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको प्रतिवेदन तथा कम्पनी ऐनअनुसार तयार गर्नुपर्ने अन्य विवरण तथा प्रतिवेदनहरू तयार पार्ने पदाधिकारी तथा स्वीकृत गर्ने सञ्चालकहरूलाई कम्पनीे ऐन अनुसार सजाय हुन्छ ।
नेपालमा विदेशी कम्पनीको दर्ताको सम्बन्धमा कम्पनी ऐन, २०६३ को परिच्छेद १६ मा उल्लेख गरिएको छ । विदेशी कम्पनीले शाखा कार्यालय र सम्पर्क कार्यालय खोल्न सक्छन् । सम्पर्क कार्यालयमार्फत कुनै व्यवसाय वा कारोबार गर्न नपाइने र आयआर्जन हुने कुनै काम गर्न पाइँदैन । यसर्थ सम्पर्क कार्यालयको हकमा धेरै हिसाबकिताब तथा स्रेस्ताहरू कम हुन्छन् । केवल यस्ता कार्यालयमार्फत कर्मचारीको तलबभत्ता, घरभाडा लगायत खर्च हुन्छन् । नेपालमा सम्पर्क कार्यालय दर्ता गराएको विदेशी कम्पनीले त्यस्तो कार्यालयमा कार्यरत कर्मचारी, सल्लाहकार वा सम्पर्क व्यक्ति तथा निजहरूलाई भुक्तानी गरिएको तलब, भत्ता तथा रकमहरूको विवरण, त्यसरी दिएको भुक्तानीमा प्रचलित कानूनअनुसार कर कट्टी गरेको विवरण र त्यस्तो कार्यालय सञ्चालनका लागि भुक्तानी गरिएको बहाल तथा खर्चहरूको भुक्तानी तथा त्यसरी दिएको भुक्तानीमा प्रचलित कानूनअनुसार कर कट्टा गरेको विवरण लेखापरीक्षकबाट प्रमाणित गराउनुपर्छ । आर्थिक वर्ष समाप्त भएको ३ महीनाभित्र कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गर्नुपर्छ ।
विदेशी कम्पनीको शाखा कार्यालयमार्फत नेपालमा आयआर्जन गर्न व्यवसाय वा कारोबार सञ्चालन गर्न पाउने हुँदा यस्ता कम्पनीको हिसाब–किताब तथा लेखाको विवरण यथार्थ तथा पारदर्शी किसिमबाट राख्नुपर्छ । कम्पनी ऐन २०६३ को दफा १५६ ले शाखा कार्यालय र सम्पर्क कार्यालयका सम्बन्धमा हिसाबकिताब लेखापरीक्षणका सम्बन्धमा छुट्टाछुट्टै उपदफामा व्यवस्था गरेको छ । प्रत्येक विदेशी कम्पनीको शाखा कार्यालयले कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापित कम्पनीसरह नेपाल राज्यभित्रको कारोबारको वास्तविक स्थिति देखिने गरी वासलात तथा नाफा नोक्सानको हिसाबसहितको वार्षिक आर्थिक विवरण तयार गरी लेखापरीक्षण गराई आर्थिक वर्ष समाप्त भएको मितिले ६ महीनाभित्र कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गर्नुपर्छ । सम्पर्क कार्यालयले कारोबार गर्न नपाउने हुँदा यो व्यवस्था लागू हुँदैन । विदेशी कम्पनीले आनोे रजिस्टर्ड कार्यालय रहेको मुलुकको कानून अनुसार प्रत्येक आर्थिक वर्षका लागि तयार पारिएको वार्षिक आर्थिक विवरण, लेखापरीक्षणको प्रतिवेदन तथा सञ्चालक समितिको प्रतिवेदन अन्तिम रूपमा तयार भएको मितिले ३ महीनाभित्र सोको प्रतिलिपि कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गर्नुपर्छ ।
कम्पनीले प्रत्येक वर्षमा तयार गरेको नाफा, नोक्सान हिसाब, नगद प्रवाह विवरण, वासलात लगायत आर्थिक विवरणको स्वतन्त्र र विज्ञ तेस्रो व्यक्तिद्वारा सत्यता र विश्वासनीयताको जाँच गराउने गरिन्छ । कम्पनीको आर्थिक विवरणहरूको सत्यता र विश्वासनीयताको जाँच गर्न लेखापरीक्षकको नियुक्ति गरिन्छ । कम्पनी ऐन, २०६३ अनुसार कम्पनीका शेयरधनीहरूको कम्पनीको वार्षिक साधारणसभा, विशेष साधारणसभामा उपस्थित भई प्रस्तावका सम्बन्धमा मतदान गर्न पाउने, कम्पनीको प्रबन्धपत्र, नियमावली, वार्षिक हिसाब (वासताल) र लेखापरीक्षण प्रतिवेदन, सञ्चालकको प्रतिवेदन लगायत लिखतहरू माग गर्ने अधिकार रहेको हुन्छ र यही विवरण हेरी लगानी गर्नुपर्छ ।
न्यौपाने अधिवक्ता हुन् ।