ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० दिन बन्द हुँदै भरतपुर विमानस्थल

Nov 29, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । भरतपुर विमानस्थल १० दिन बन्द हुने भएको छ । धावन मार्ग र पार्किङ स्थलको मर्मत सम्भारका लागि विमानस्थल मङ्सिर १५ देखि २४ गतेसम्म बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण, भरतपुरले जानकारी दिएको छ । धावनमार्ग, हवाई पार्किङ र विमानस्थलको मुख्य प्रवेशद्वार कालोपत्रको काम सोमवारदेखि शुरू गरिए पनि प्रभावकारी नभएपछि विमानस्थल नै बन्द गरेर काम अघि बढाउन लागिएको हो ।

उक्त विमानस्थलबाट काठमाडौं र पोखरा गन्तव्यमा बुद्ध र यती एयरलाइन्सका दैनिक ११ उडान हुँदै आएका छन् । १० दिन विमानस्थल बन्द हुँदा करीब ८ हजार यात्रु प्रभावित हुने भएका छन् । जोखिम र सुरक्षा चासोलाई दृष्टिगत गरी सेवा रोकेरै काम गर्नुपरेको विमानस्थल प्रमुख पवनकुमार गौतमले बताए । ‘विमानस्थलको मर्मत सुधार राति पनि गर्न सकिन्थ्यो,’ उनले भने, ‘तर कालोपत्र लगायतको तापक्रम सन्तुलनका लागि दिउँसो काम गर्नुपर्ने अवस्था आयो ।’ उक्त अवधिमा मेघौली विमानस्थल प्रयोग गर्ने तयारी भइरहेको गौतमले जानकारी दिए । यद्यपि उक्त विमानस्थलमा घाँसे मैदान भएकाले ट्वीनअटर विमान मात्र उडान–अवतरण हुन सक्ने बताइएको छ ।

बुद्ध एयरका भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले लामो समय विमानस्थल बन्द हुँदा यात्रु र कम्पनीलाई मर्का पर्ने बताए । ‘नेपाल भ्रमण वर्ष नजिकिँदै गरेको छ । यात्रुको बुकिङ चाप पनि बढी छ,’ उनले भने, ‘यस्तो अवस्थामा विमानस्थल बन्द हुँदा सबै पक्षलाई समस्या पर्छ ।’ यस्तै यती एयरलाइन्सका भरतपुर प्रबन्धक अनुप ढकालले विमानस्थल स्तरोन्नति आवश्यक भए पनि सेवा बन्द हुँदा व्यवसायमा नकारात्मक असर पर्ने बताए । कम्पनीले उक्त अवधिका लागि बुकिङ भइसकेका टिकट रद्द गर्नुका साथै नयाँ बुकिङ लिन छाडेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)