ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भरतपुर र लुम्बिनी नगरबीच पर्यटन प्रवर्द्धन सम्झौता

२०७६ मंसिर, १९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटन प्रवर्द्धन गर्न भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच सम्झौता भएको छ । बुधवार भरतपुर महानगरपालिकामा भएको एक कार्यक्रमबीच ११ बुँदे सम्झौतापत्रमा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल र लुम्बिनी नगरपलिका प्रमुख मनमोहन चौधरीले हस्ताक्षर गरे । 

सम्झौतापत्रमा पर्यटन प्रवर्द्धनका लागि दुई नगरबीच सहकार्य गर्ने, निजीक्षेत्र र सरकारबीच समन्वय गरेर अघि बढ्ने, हवाई मार्ग जोड्न पहल गर्ने लगायत उल्लेख छ । यसैगरी, भरतपुरमा लुम्बिनी क्षेत्रको प्रवर्द्धन गर्न लुम्बिनी मार्ग र लुम्बिनीमा भरतपुर मार्ग बनाइनेछ । त्यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिकाले चितवनको जंगल सफारीको प्रचारप्रसार गर्ने र भरतपुरले लुम्बिनीको सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने पनि सम्झौतामा उल्लेख छ । 

हस्ताक्षरपछि भरतपुर महानगरपालिकाका प्रमुख दाहालले यसअघि पोखरा महानगरपालिकासँग पनि यस किसिमको सम्झौता गरिसकिएको जानकारी गराए । द्विपक्षीय सम्झौतालाई बलियो बनाउन मंसिरको अन्तिम साताभित्र लुम्बिनी र विराटनगर पनि सम्झौताका लागि जाने तयारी भइरहेको उनले बताइन् । भरतपुर महानगरपालिकामा २७ ओटा पर्यटकीय स्थल रहेको भन्दै उनले देशकै १०० गन्तव्य स्थलमध्ये २ ओटा गन्तव्य महानगरभित्रै  रहेको बताइन् । 

कार्यक्रममा सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरीले लुम्बिनीको ऐतिहासिक, धार्मिक महत्त्वबारे चर्चा गर्दै पर्यटन प्रर्वद्धनका लागि भएको उक्त सम्झौताबाट पर्यटकको संख्या बढ्ने अपेक्षा गरे । भरतपुर महानगर पर्यटनसँगै कृषि शिक्षा, स्वास्थ्यको समेत हब भएकाले आगामी दिनमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । 

कार्यक्रममा उद्योग वाणिज्य संघ, चितवनका  वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि संघ सहकार्य गर्न तयार रहेको भन्दै पर्यटन प्रवद्र्धनले देशको सामाजिक एवं आर्थिक रूपान्तरणमा टेवा पुग्ने बताए । यस सम्झौताले निजीक्षेत्र समेत उत्साहित भएको उनको भनाइ थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)