ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यस वर्ष मह उत्पादन घट्ने अनुमान

२०७६ मंसिर, १९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । प्रतिकूल मौसम र चरन क्षेत्रको अभावका कारण यस वर्ष देशभर महको उत्पादन घट्ने अनुमान गरिएको छ । सुक्खापनका कारण मौरी चर्ने वनस्पतिहरूमा पूmल नफुल्दा यस वर्ष अघिल्लो वर्षको तुलनामा मह उत्पादन आधा घट्ने नेपाल मौरीपालक महासंघले प्रक्षेपण गरेको छ । महासंघका अनुसार अघिल्लो वर्ष देशमा करीब ३५ सय मेट्रिक टन मह उत्पादन भएको थियो ।

आफूले मौरीपालन गरेको २ दशक अवधिमा यस वर्ष पहिलोपटक मह उत्पादनमा ह्रास आएको भरतपुर महानगरपालिका–९ का विष्णु भुसालले बताए । ‘अघिल्लो वर्ष २४० घार मौरी थिए,’ उनले भने, ‘अहिले आधाजति मौरी मरे, प्रतिघार उत्पादन पनि घटेको छ ।’ यस वर्ष लामो समयसम्म पानी नपरेको र मोरीले मन पराउने वनस्पतिमा फूल फुल्न ढिलाइ भएकाले महको उत्पादन घटेको उनको भनाइ छ ।

महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्माले यस वर्ष महको उत्पादन अप्रत्याशित रूपमा घटेको बताए । ‘प्रतिकूल मौसम, प्रदूषण र आहाराको कमी नै मह उत्पादन घट्नुका मुख्य कारण देखिएका छन्,’ उनले भने । मौरीका लागि यथेष्ट चरन क्षेत्र नभएकाले चितवनका मौरीपालक किसानले दाङ, सुर्खेत, लमही सर्लाही लगायत जिल्लामा लगेर चराउँदै आएका थिए । तर पछिल्लो समय स्थानीय सरकारका कारण त्यहाँका चरन क्षेत्र पनि सहज नभएको उनले बताए । 

मौरीविज्ञ डा. खेमराज न्यौपानेले जलवायु परिवर्तन मौरीपालन क्षेत्रको मुख्य चुनौती भएको औंल्याए । ‘जलवायु परिवर्तनले वनस्पतिमा प्रत्यक्ष असर पा¥यो,’ उनले भने, ‘त्यसको प्रत्यक्ष असर मौरीपालनमा पनि परेको देखिन्छ ।’ उनका अनुसार वर्षौंदेखि मौरीको वंश विस्तारमा सुधार नहुनु, वनस्पतिमा अत्यधिक विषादीको प्रयोगले पनि मह उत्पादनमा ह्रास आएको हो । मह उत्पादन बढाउन वर्षामा यथेष्ट मात्रामा परागकण संकलन गर्न सक्ने मौरी र मौरीचरन क्षेत्रको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री आधुनिक कृषि परियोजनका, चितवन प्रमुख मेघराज तिमिल्सिनाले मह उत्पादन बढाउन किसानलाई तालीम र परामर्श दिन लागिएको बताए । साथै सामुदायिक वन र खुला जग्गामा फूल फुल्ने बिरुवा रोप्ने, किसानलाई बिरुवा वितरण गर्ने लगायत कार्यक्रम रहेको उनले जानकारी दिए । चितवनमा ४०० र देशका ३८ जिल्लामा ६ हजारभन्दा बढी महपालक किसान रहेको महासंघले बताएको छ । किसानले स्थानीय सेरेना र आयातित मेलिफेरा जातका मौरीबाट मह उत्पादन गर्दै आएका छन् । चितवनमा गतवर्ष ८०० मेट्रिकटन मह उत्पादन भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)