विरोधीले जे सुकै भनून्, ओली सरकारका २ वर्ष भव्य रुपमा सफल भएको छ भन्नुपर्छ । नेपाल जस्तो देशमा २ वर्षसम्म सरकार टिक्नु नै आफैमा ठूलै सफलताको कुरो हुँदै हो । पहिलेका सरकारहरू नौ नौ महीनामा फेरिन्थे । तर ओली सरकारले २ वर्षमा बरू नौ पटक मन्त्रिमण्डल विस्तार गर्यो । मन्त्रीहरू चेरिदै, फेरिदै गए । तर सरकार आफू फेरिएन | त्यो कस्ता सफलताको कुरा हो ? त्यसमा पनि अझ केही समय अझै टिक्ने नै देखिन्छ । यो भन्दा सफलताको कुरा अरू के हुन सक्छ र ? विरोधीहरू सरकारले केही काम गर्ने सकेन भनेर आरोप लगाउँछन् । काम नगरेको भए बाँसुरी बजाउने फुर्सद र आँट कसरी आउन सक्थ्यो र प्रमलाई ? कसैले बाँसुरी बजाइरहेको छ भन्नुको मतलव लुन्छ, ऊ यति व्यवस्थित छ, उ यति खुशी छ कि ऊ बाँसुरी बजाउन समय निकाल्न सक्छ भन्ने हो । टेन्सनमा भाको, बिरामी भाको मान्छेले सक्छ बाँसुरी फुक्न ? रोम शहर जल्दा समेत शासक निरो बांसुरी बजाएर मस्त बस्न सकेका थिए रे भनेर पढेकै हो । कति धैर्य । जल्ने कुरा जलिरहन्छ, तर धैर्यपूर्वक बाँसुरी बजाउन सक्नु कम सफलताको कुरा हो र ?
वास्तवमा भयो के भने नेकपा सरकारमा आएदेखि प्रमले मान्छेहरूलाई खुब हँसाउन थाल्नुभयो । यसले जोकरहरूलाई आफ्नो पेशा संकटमा परेको ठाने । त्यसैले सरकारको विरोध गर्न थाले | प्रधानमन्त्रीले फेरी बाँसुरी बजाउनु भयो । पत्रकारहरूलाई टेन्सन भयो । किनकि सरकारका विरोधमा लेख्ने कुनै मसाला नै भएन | अनि लेखे प्रमले बांसुरी बजाए भनेर । सरकारको सफलताका कथाहरू खोजी खोजी लेख्नु त कता कता, सरकारप्रति सहानुभूति प्रकट गर्नु त कता कता. अझ प्रशंसा गर्नु त परै जाओस् आदरार्थी तपाई, हजुर जस्ता शब्दहरू नै बिर्सेजस्तो गरेर सरकारको र अझ प्रमकै विरोधमा पो लेख्न थाले पत्रकारहरूले । यसरी मुटु नै नभए जसरी पूर्वाग्रही लुन पाइन्छ ?
बिहीवार पनि सञ्चारमन्त्रीले राजीनामा दिए क्यारे । आशा छ उनी पनि महराजस्तै शुद्ध बनेर फर्किनेछन् ।
प्रम ओली वास्तवमै सबै हिसाबले सफल हुनुहुन्छ । राज्यको सम्पूर्ण शक्ति आफू वरिपरि राख्न सक्नु उहाँको कम ठूलो सफलता हो ? जंगबहादुरले पनि शायद यति शक्ति आफू वरिपरि थुपार्न सकेका थिएनन् होला | आज कानूनी संरचनाभन्दा बोलेकै भरमा धमाधम काम गर्ने, गराउने परिपाटी बसाउँदै जान प्रम ओली सफल हुनुभएको छ । राजनीतिक हस्तक्षेपमुक्त भएर स्वतन्त्र रूपमा चलिरहेका आधा दर्जनभन्दा बढी सरकारी संस्थाहरूलाई प्रम कार्यालयको छानामुनि ल्याउन सफल हुनुभयो, चाहे त्यो राष्ट्रिय अनुसन्धान विभाग होस्, राजस्व अनुसन्धान विभाग वा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग होस् | यी जस्ता राष्ट्रिय महत्वका इन्टेलिजेन्स संस्थाहरूलाई आफ्नै टाङमुनि ल्याएर आफूले भने जसरी चलाउन सक्नु कस्ता सफलता हो त ? यति गर्दिसकेपछि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको सन्तुलन पनि गरिरहनै परेन । संसद्लाई सरकारको रबर छाप बनाउन सजिलो भएको छ । घोडालाई आफ्नो काबुमा राखेजस्तै सफलतालाई आफ्नो पकडमा राख्नु भनेको शायद यही हो । यति गरेपछि प्रान्तीय सरकारहरूको त यसै स्वर सानो हुनै नै भयो । यो हो नि आफ्नो हातमा शक्ति नियन्त्रण गर्ने काइदा | तर यो कुरा विरोधीहरूलाई पचेन । सरकार योभन्दा अझ कति चै सफल हुनुपर्ने भनेका हुन् विरोधहरूले है।
शुरू शुरूमा त प्रायः सबै प्रान्तका मुख्यमन्त्री (मुम)हरूले केन्द्रीय सरकारले सहयोग गरेन भनेर खुब मच्चिया थिए । तर ओली बासँग क्यै नलागेपछि अहिले आएर उनीहरू थच्चिएका छन् । केन्द्र सरकार र अझ प्रम ओली सफल भएसि प्रान्त त यसै सफल भएको मान्नुपर्दैन ? प्रान्त सफल भएपछि देश त यसै सफल हुने नै भयो । ख्खै ऐलेसम्म कुरा किन नबुझेका होलान् मुमहरूले ?
देशमा अलिले सुशासन धेरै बढेको छ । धमाधम माछाहरू पक्राउ पर्दैछन् । त्यै भएर कांग्रेसका गच्छदार पनि भ्रष्टाचारमा मुछिए । हिजोआज देशैभरि देखिनेगरी कसैले पनि घूस लिंदैन र दिदैन पनि । त्यै भएर मन्त्रीहरूको त सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन नै बन्द गरियो । अब सुशासनै भएसि सम्पत्ति विवरण किन गरिरहने सार्वजनिक ? हुँदा सुंदा सुशासन यति राम्रो भइरहेछ कि केन्द्रीय तथ्यांक विभागले नियमित सार्वजनिक गर्ने गरेका तथ्यांकहरू समेत नगर्ने भएछ । किनकि त्यसको आवश्यकता नै रहेन | राजनीति आज ठेकेदार र बिचौलियाले होइन प्रमले नै चलाउँछन् । चाकडी, चाप्लुसी, षड्यन्त्र, घुस, कमिशन भन्ने कुरा देशमा कुनै क्षेत्रमा पनि व्याप्त छैन | राजनीतिज्ञमा अधिनायकवादी सोच कसैमा पनि देखिएकै छैन । मन्त्रीहरूमा नैतिकता यति धेरै छ कि नैतिकताका आधारमा राजीनामा दिन्छन् । बिहीवार पनि सञ्चारमन्त्रीले राजीनामा दिए क्यारे । आशा छ उनी पनि महराजस्तै शुद्ध बनेर फर्किनेछन् ।
वास्तवमा देसमा अहिले रामराज्य नै चलिरहेको छ । जताततै सुशासन, समृद्धि, सुख, शान्ति, अमनचैन कायम छ । नपत्याए गोर्खापत्र पठ्नुभए हुन्छ, गोर्खापत्रले सत्ताको गीत गाउँदैन, भजन, कीर्तन र आरती पनि गर्दैन । त्यहाँ दिनदिनै सरकारका सफलताका कथाहरू रिठ्ठो नबिराई छापिने गरेको छ । जहाँसम्म विकासको कुरा छ, त्यो त अहिले कुरै गर्ने पनि मौसम नै होइन । किनकि अहिले त उता चाइनिज कोरोना भाइरस (कोभिड १९)को चर्तिकलाले गर्दा यता विकासका निरर्थक बहस गर्नुको कुनै तुक र तर्क नै छैन । त्यसैले अहिले तपाई मास्क लाएर चूप लागेर घरमै बस्नुस् र सरकारलाई गाली गर्न छाड्नुस् | मास्क लगाएका फोटो छाप्ने र शेयर गर्ने चै नगर्नुस् । किनकि ओली सरकारको २ वर्ष अत्यन्त सफल भनेर प्रम कार्यालयले आफ्नो किताबका पानामा लेखिनै सकेको छ, त्यसलाई कसैले पनि परिवर्तन गर्न सक्नेछैन । प्रमले बाँसुरी बजाइरहेको बेलामा, ताल र सुर नमिले पनि, बरू आउनुस् तपाई हामी एउटा गीत गाम हे कान्छा । ठट्टैमा यो बैश जान लाग्यो…. ।
साह्रै मन छुने शब्दहरु। भावपूर्ण व्यङ्ग। :)
जाबो ७० करोड पनि खान नपाउनी दुई तिहाई को सरकार हुँदा पनि ! हेप्नी !