ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निरन्तरको मेहनतबाट सफल उद्यमी बनेकी गोमा अम्गाईं

२०७६ फागुन, ११  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

फागुन ११,  चितवन । मानिसलाई समय, परिस्थिति र बाध्यताले काहाँ पुरयाउँछ भन्ने थाहा हुने भए के हुँदो हो, सायद अनुमान लगाउन पनि सकिदैन । आफ्नो कर्म भोगाई, पारिवारिक अवस्थाका कारण मानिसले कतिसम्म संघर्ष गर्नुपर्छ, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । 

अझ महिलाको हकमा भने यो परिस्थिति कसरी बदलिन्छ भन्ने सहजै भन्ने अवस्था पनि  हुँदैन । नवलपरासीको त्यो दुर्गम गाउँमा शिक्षण पेशालाई आफ्नो कर्म बनाएकी उनले अहिले सफल महिला उद्यम हुन्छु भन्ने सोचेकी थिइनन् । तर उनको सपना आज आएर साकार भएको छ । उनी हुन् – नमूना हस्तकला उद्योगकी सञ्चालिका गोमा अम्गाईं । 

गोर्खा जिल्लाको  तान्द्राङ गाउँमा विसं २०३३ सालमा मध्यम वर्गीय परिवारमा जन्मिएकी उनको बुबाका दाजुभाई पनि थुप्रै थिए । तर उनको बुबा आफ्ना सन्ततिलाई केही सुख दिलाउने आशामा विसं २०४५ सालतिर चितवन झरे । 

त्यसपछि उनको रत्ननगरकै स्थानीय विद्यालयमा प्रारम्भिक शिक्षा शुरु भयो । पढाइमा अब्बल उनी सरासर पास हुँदै गइन । विसं २०५२ सालमा एसएलसी गरेपछि भने उनका बुबाले बिहे गरिदिने निर्णय गरे । नवलपरासीको भेडेटारमा उनको बिहे भयो सामान्य परिवारमा त्यहाँपनि आर्थिक श्रोतको मुल आधार कृषि कर्मनै थियो । तर दैनिक खर्च चलाउनै मुश्किल ।

आयआर्जनको लागि केही गर्नै पर्ने भयो उनलाई । ‘मैले नजिकैको बोडिङमा पढाएँ, त्यतिबेला मेरो तलब रू.१ हजार  ७०० थियो’, उनले भनिन् ।त्यतिबेला छोरी जन्मिसकेकी थिइन् । घरमा सासुससुरा श्रीमान पनि ज्याला मजदुरीमा कहिले कता कहिले कता । सबै जिम्मेवारी उनकै काँधमा आइलाग्यो । जेनतेन उनले ४ वर्ष स्कुल र घरधन्दा गरेर विताइन् । फेरी अर्को छोरी जन्मिइन् ।

तुलनात्मक रुपमा खर्च त बढ्नेनै भयो । उनले श्रीमानसँग सल्लाह गरीन्, चितवनमा माइत नजिक बस्ने र केही उद्यम गर्ने । सोही अनुरुप उनको परिवार चितवनको रत्ननगर आएर बस्न थाल्यो । 
‘तर आउन त आइयो, के गर्ने कसो गर्ने लगानी पनि थिएन छटपटी भयो’,उनले भनिन्, ‘भनेजस्तो केही काम पनि पाइएन ।’
 

उनका श्रीमान भने नियमित काम नपाएपनि कहिले कुन जिल्ला, कहिले कुन जिल्ला गएर निजी कम्पनीमा काम गर्ने गर्थे । सानैदेखि फुर्सद्धको समयमा टोपी, मफलर, लेस बुन्न रुचि  भएकी उनले नजिकै बस्ने महिलाले सजावटका सामान बुन्दै गरेको देखिन् । उनलाई जिज्ञासा लाग्यो र आफ्नो बारे बेली विस्तार लगाइन् ।

उनी पनि त्यही नजिकै महिला दिदीबहिनीलाई दिने प्रशिक्षणमा जान थालिन् । १५ दिनमै उनी नाइलन डोरीका कपडाबाट झुमर, व्याग, खेलौना, फूलदानी गुडिया, किरीङ, ऐना होल्डर बनाउने काममा दख्खल भइन । ‘अनि मलाई बल्ल आत्मविश्वास पलायो’, उनी सुनाइन् ।

काममा दक्ष भइसकेपछि भने उनले घरमै ती हस्तकलाका सामान बनाउँदै अनि बेच्दै गइन्, घरको गर्जो टार्न सहयोग पुग्दै गयो । उनका श्रीमान त्यतिबेला काठमाडौंमा कामको खोजीमा गएका थिए । उतै काम गर्थे, पैसा पठाइदिन्थे । 

अलिकति आम्दानी हुँदै गएपछि उनले आफ्नो पढाइलाई पनि निरन्तरता दिने सोचिन अन्तत : उनी स्थानीय क्याम्पसमा भर्ना भइन्, अधुरो अध्ययन पुरा गर्न । घरको काम सकिएपछि उनी महिला समुह, प्रशिक्षण केन्द्र जाने गर्थिन् । 

हस्तकलाका उत्पादन विक्री हुन थालेपछि उनले पसल खोलेर बेच्ने सोच बनाइन् । ‘पसल खोल्दा सबैले देख्नसकने अनि किन्न सक्ने, चिजान पनि धेरै हुने’,  उनले भनिन् । विस्तारै ग्राहकको भीड उनको पसलमा लाग्न थाल्यो, स्थानीय बजारमा पनि माग बढ्दै गयो । 

त्यसपछि उनलाई विभिन्न व्यावसायी र महिलाहरुले चिन्न थाले  । अनी उनले विस्तारै वरिपरिका  गृहीणी महिलालाई प्रशिक्षण दिन थालिन् । उनीहरुका हस्तकलाका सामान पनि  उनले नै विक्री गरिन् ।

त्यसपछित उनले मेला महोत्सवमा समेत स्टलहरु राखेर हस्तकलाका सामानहरु विक्री गर्न थालिन् । ‘मेला महोत्सवमा अन्य स्टलमा भन्दा मेरो स्टलमा ग्राहकको बढीनै भीड हुने गथ्र्यो, आकर्षक देखिएर होला सेल्फी हान्ने उत्तिकै ग्राहक हुन्थे’, उनले  भनिन् ।
 

करीब ६ वर्षदेखि उनले यो व्यवसायलाई निरन्तरता दिदै आएकी छन् । औसत मासिक रू.२० हजारसम्म नाफा गर्ने हुने गरेको उनको भनाइ छ । ‘मेला महोत्सवमा स्टल राखेको बेला र तालिम दिएको  बेला त रू.४० हजारभन्दा बढी आम्दानी भयो’, उनी भन्छिन् । 

छोरीहरु कलेज पढ्ने भइसके भने छोरा स्कुल पढ्दैछन् । घरको सबै खर्च र पसलमा लगानी  पनि उनैले गर्न भ्याएकी छन् । यतिमात्र होइन पसलकै आम्दानीले उनले रत्ननगर नगरपालिकामा घडेरी पनि जोडिसकेकी छन् ।  गत वर्ष मात्र घरेलु तथा साना उद्योग कार्यालयमा पसल दर्ता गरेकी उनले आफ्नो अध्ययन स्नातक सकिसकेको  बताइन् । 

हाल उद्योगमा रू.१० लाखको हाराहारीमा लगानी रहेको बताउने अमगाईं महिला उद्यमीलाई प्राथमिकतामा राखेर सहज र सरल ऋण प्रवाह गर्नु आवश्यक रहेको बताउँछिन् । ‘उत्पादन त आवश्यकता अनुसार जतिपनि गर्न सकिन्छ’, उनले भनिन्, ‘यसमा उद्योग वाणिज्य संघ र सरकारले बजारको व्यवस्था गरिदिनुपर्यो ।’ 

लाखौं गृहीणी महिलाहरु चुलोचौकामा सीमित भएको तथा विदेशिएको बेला उद्यमबाट नेपालमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुराको प्रेरणा हामी सवैले गोमा अमगाईंबाट लिन सकिन्छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)