ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वर्षाले चितवनका इँटा उद्योगमा १५ करोडको क्षति 

२०७६ फागुन, १४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । सोमवार परेको असिना पानीले चितवनका इँटा उद्योगमा क्षति पुर्‍याएको छ । इँटा उत्पादन गर्ने समयमा अत्यधिक वर्षा भएपछि सुकाएर राखिएका काँचो इँटा गलेर नष्ट भएको हो । पानीले करीब रू. १५ करोड बराबरको इँटामा क्षति भएको व्यवसायीले बताएका छन् । इँटा उत्पादन गर्ने मुख्य सिजनमा पानी परेपछि पोल्न तयार पारिएका काँचो इँटा गलेर नष्ट भएको उनीहरूको भनाइ छ ।

खैरहनी नगरपालिका केबीआई उद्योगका सञ्चालक किशोरचन्द्र खनालले बेमौसमी पानीका कारण पुसयता आफ्नो उद्योगमा ३० लाखभन्दा बढी इँटा नोक्सान हुँदा ठूलो नोक्सानी बेर्होनुपरेको बताए । ‘हामीले इँटा उत्पादन गर्ने मुख्य सिजन नै पुसदेखि फागुनसम्म हो,’ उनले भने, ‘यस अवधिमा अहिलेसम्म ५ पटकभन्दा बढी वर्षा भइसकेको छ । यसले तयार गरिएका काँचो इँटा सबै नष्ट भएका छन् ।’ पानीका कारण अधिकांश उद्योगले तयार पारेका काँचो इँटा नष्ट भएपछि यस वर्ष माग अनुसार उत्पादन नहुने उनको भनाइ छ । यसले एकातिर उद्योगीलाई करोडौं नोक्सानी पुर्‍याएको छ भने अर्कोतिर विकास निर्माणमा इँटाको अभाव हुने देखिन्छ । 

राप्ती नगरपालिका–९, का विनोद कुमार श्रेष्ठले पूर्वबाट हावाहुरी, असिना र पानीका कारण उद्योगमा सुकाइराखिएको इँटामा क्षति पुगेको बताए । ‘यसै त चितवनका इँटा उद्योग बन्द हुने अवस्थामा छन्,’ उनले भने, ‘यो पटकको पानीले झन् ठूलो नोक्सानी बेहोर्नुपर्‍यो ।’ नष्ट भएका इँटा पुनः प्रयोगमा ल्याउन नसकिने र नयाँ इँटा तयार पार्दा लागत बढ्नुका साथै गुणस्तर पनि खस्किने उनको भनाइ छ ।  

इँटा उद्योगलाई सरकारले उद्योगको मान्यता नदिनु, बीमा नीति लागू नहुनु जस्ता कारण आफूहरू थप मारमा परेको उद्योगी व्यवसायीको गुनासो छ । चितवन इँटा उद्योग संघका अध्यक्ष नारायण सापकोटाले इँटा उद्योगमा जति क्षति भए पनि राज्यले क्षतिपूर्ति नदिने गरेको बताए । ‘अहिले पनि सरकारले उद्योग नभनी भट्टा भनी दोस्रो दर्जाको व्यवहार गर्दै आएको छ,’ उनले भने, ‘प्राकृतिक प्रकोपका कारण हुने क्षति न्यूनीकरण गर्न सरकारले बीमा लगायत नीति ल्याउनै सकेको छैन ।’ जलवायु परिवर्तन भएसँगै इँटा उद्योगहरू पलायन हुनुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ । संघका अनुसार चितवनमा हाल १८ ओटा उद्योग सञ्चालनमा छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)