जबसम्म उनी मन्त्री थिए, तबसम्म मन्त्री क्वार्टर अगाडि कारहरू लाइन लगाएर आउँथे । कोही ब्रिफकेस त कोही झोला बोकेर ‘मन्त्रीज्यू’ भन्दै ताँती लाग्थे । तर अहिले उनको ठाम फेरिएको छ, काम फेरिएको छ । हिजोआज उनी बसेको गाउँको घरसँगै भैंसी बाँधिएका छन् । कामको शिलशिलामा म उनकै घरको बाटो भएर जाँदै थिएँ, मन्त्रीजीको आवाज आयो, ‘हिजोआजका युवा पिढी के भा होलान् । पढाइमा बीए पास तर जाबो भैंसी दुहुन पनि आउँदैन ।’ सोचेँ, भूपू मन्त्रीजीसँग एक छिन भए नि बात मारिहालुँ । उनी आफ्नो छोरालाई भैंसीको दूध दुहुन सिकाउँदै थिए ।
मेरो उत्तरले उनी केही बेर चुप लागे र फेरि भने, ‘हाम्रो पार्टीभित्र विरोधी दल छँदै छैन । गुट उपगुट पनि छैन । यस्ता कुराहरू विरोधीहरूले फैलाएका हौवा मात्र हुन् ।
‘मन्त्रीज्यू नमस्कार ! (हाम्रोतिर भूपूलाई पनि बहालवाला मन्त्रीसरह सम्मान र सम्बोधन गर्ने चलन छ)
मलाई देखेपछि उनले भने, ‘घाउमा नूनचुक दल्न तपाईं पनि आइपुग्नु भो ?’
‘नून यति सस्तो छैन नि नष्ट गर्नलाई । कम्युनिष्टको सरकारमा नून समेत कहाँ सस्तो रह्यो र मन्त्रीज्यू,’ मैले पनि ठट्यौली पारामै सही, आफ्नो भँडास पोखेँ ।
‘यो सरकारलाई किन दोष दिनुहुन्छ ? महँगीले अघिल्लो सरकारको पालामा नि बढेको थियो नि । हाम्रै पार्टीलाई मात्र किन दोष ? । तपाईं विरोधी दलको पर्नुभो कि क्या हो ?’ उनले भने ।
‘हिजोआज त सरकारी दल नै विरोधी दल होइन र ?’ मैले सोधेँ ।
मेरो उत्तरले उनी केही बेर चुप लागे र फेरि भने, ‘हाम्रो पार्टीभित्र विरोधी दल छँदै छैन । गुट उपगुट पनि छैन । यस्ता कुराहरू विरोधीहरूले फैलाएका हौवा मात्र हुन् । हामीलाई त जनताले राज गर्न सरकारमा पठाएका हुन् । २०४७ साल यतादेखि अहिलेसम्म हामीले राज गरिनै रहेका छौं । कर्मचारी संगठनदेखि विद्यार्थी संगठन, सरकारी वन उपभोक्ता समितिदेखि एनजीओ, पत्रकार संगठनहरूदेखि परोपकार संस्थाहरू सबै ठाउँ, सबै क्षेत्रमा त हाम्रै राज चलिरहेको छ । हामीले जसरी चाह्यौं देश त्यसैगरी चलायौं । सरकारी कर्मचारी, सचिवसम्मलाई डाट्यौं, जनतालाई त सधैं ढाट्यौं । हाम्रालाई राम्रा जागीर दिलायौं, ठेक्का मिलायौं । एउटा समय थियो, सरकारी कर्मचारीले मिलाएर खान्थे । पछि त्यो काम हामीले नै गर्न थाल्यौं । व्यापारीबाट आफ्नो काम मिलायौं र पार्टीलाई चन्दा दिलायौं । छ विरोधी दलहरूमा यसरी राज गर्न सक्ने कला, कौशल र क्षमता ? बात गर्नुहुन्छ,’ उनको पारो चढ्दै गयो ।
‘त्यसो भए तपाईंले चैं किन राजीनामा दिनुपरेको त ?’ मैले सोधेँ ।
‘नैतिकताका आधारमा ।’
‘नैतिकता पनि बाँकी छ र भन्या ? थाहा थिएन । अनि धन्न तपाईंसँग चाहिँ रछ । कस्तो, के को नैतिकता हो त्यो ?’
त्यसपछि उनले भने, ‘हेर्नुस्, यो गम्भीर प्रश्न हो । विरोधीहरू राज गर्न छट्पटिएका छन् । त्यसैले उनीहरू नयाँ नयाँ काल्पनिक मुद्दाहरू बनाएर सरकार र हाम्रो दललाई बदनाम गर्न दिलोज्यानले लागेका छन् । कहिले ललिता निवास, कहिले ७० करोड, कहिले एमसीसी, कहिले यति त कहिले के भनेर । यसमा अन्य देशी विदेशी तत्वहरूको पनि गम्भीर पड्यन्त्रको गन्ध आएको छ ।’
‘तपाईंलाई राजीनामा दिने परिस्थितिमा चैं कसले पुर्यायो त ?’
‘विपक्षी दलले,’ उनले भने ।
‘विपक्षी दल भन्ने पनि देशमा अझै बाँकी छ र ?’ मैले सोधेँ ।
‘छ नि अजिंगर जस्तै । अरू बेला सुतिरहन्छ तर कसैले खान लाग्यो भने थाहा पाए उठिहाल्छ ।’
‘अनि मन्त्री पद छाडेपछि तपाईं कस्तो महसूस गर्दै हुनुहुन्छ त ?’
‘पैला जस्तो थिएँ, उस्तै मस्त छु । मलाई कुनै फरक परेको छैन र पर्नेवाला पनि छैन । पैले थ्रीजी, फोरजी आदिका पछि लागेको थिएँ । अहिले भने एउटै ‘जी’ अर्थात् गुडवाला जीले काम चलाइरहेको छु । फेरि केही पर्यो भने मलाई हेर्ने मेरा ‘बा’ हुँदै हुनुहुन्छ । त्यसमाथि मैले सम्पत्ति विवरण सार्वजनिक गर्दा नदेखाए पनि पैल्यैदेखि जग्गा, बंगला, गाडी सबै जोरजम गरेर राखेकै छु । शहरमा भाडामा दिएका घरहरूबाट मासिक रूपमा आइरहन्छ । कुखुरापालन, भैंसीपालन, माछापालन पनि चलिरहेकै छ । छोराहरूलाई दूध दुहुन सिकाउँदै छु । अब दूध डेरी खोल्छु, अनि दूध पनि बेच्न थाल्छु । घरजग्गा किनबेचको साइड बिजनेश पनि छँदै छ । जसरी व्यापारी राजनीतिमा पनि जमेका छन्, त्यसरी नै अब आफू पनि राजनीतिमा सक्रिय नै रहिन्छ, व्यापारमा पनि माहिर भइन्छ । राजनीतिमा पनि अब्बल, व्यवसायमा पनि सबल । जब मन्त्री थिएँ, व्यवसायमा पनि हातहरू हालेको थिएँ । अहिले ती व्यवसायले राम्रो प्रतिफल दिन थालेका छन् । मन्त्री हुँदा पनि एक मिनेट खाली बसिएन, धन्दा चलि नै रह्यो । त्यसैले पनि अहिले सुखी र सन्तुष्ट छु । म त गीतामा भनेजस्तै कर्ममा विश्वास राख्ने मान्छे पो हुँ त ।’
मैले सोधेँ, ‘चुनाव भैहाल्यो भने फेरि लड्नुहुन्छ ?’
‘किन नलड्ने ? सधैं लडिरा हो । फेरि पनि लडिन्छ,’ उनले गर्वसाथ भने ।
‘पार्टीले टिकट देला र ?’
‘पार्टीले टिकट दिएन भने स्वतन्त्र भएर लडिन्छ ।’
‘यो त पाटीविरुद्ध हुँदैन र ?’
मेरो यो प्रश्नपछि उनले भने, ‘म पार्टीकै र प्रधानमन्त्रीको समेत भित्री मान्छे हुँ । पार्टीले मन्त्री बन भन्यो बनेँ । सेवा गरेको छु । मलाई त टिकट दिनैपर्छ । दिएन भने यो मान्छु कि पार्टीले मलाई अब आफ्नो ठान्दैन । नठानोस् । तर पनि पहिला पार्टी र ठूला नेताका बारेमा गीत गाइन्छ । उनका निवास र पार्टी कार्यालय धाइन्छ । तैपनि पार्टीले टिकट पत्याएन भने त अर्को पार्टीबाट उम्मेदवार पड्काइन्छ ।’
यसैबीच, उनको छोरा भैंसी दुहिसकेर गबुवामा दूध लिएर घरभित्र जान खोज्दै थिए । उनले बीचमै गबुवा खोसेर छोरालाई हप्काए, ‘अझै एक मुठी दूध आउँछ । तैंले पूरा दुहेकै छैनस् । ले म दुहुन्छु ।’
मतिर हेर्दै उनले भने, ‘एकातिर देशमा बच्चाहरूलाई दूध पुगिरहेको छैन । अर्कोतिर भैंसीहरू पूरै दुहिएका छैनन् । यसरी जबसम्म तपाईं आफ्नो स्रोतहरूको पूर्ण दोहन गर्न सक्नुहुन्न, तबसम्म विकास सम्भव छैन ।’
यति भनेर उनी आफ्नो स्रोतको पूर्ण दोहन गर्नतिर लागे । उनको छोरा कुखुरालाई दानापानी दिन खोरतिर ओरालो लागे । म भने बिदाइको नमस्कार गरेर आफ्नो बाटो उकालो लागेँ ।
ha ha ha very satiric !