ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रासायनिक पदार्थ अभावले विषादी परीक्षण प्रयोगशाला बन्द

Mar 5, 2020  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनमा सञ्चालनमा ल्याइएको तरकारी विषादी परीक्षण प्रयोगशाला रासायनिक पदार्थ अभावले बन्द भएको छ । भरतपुर महानगरपालिका–२, क्षेत्रपुरस्थित महानगर फलफूल तथा तरकारी बजारमा स्थापना गरिएको उक्त प्रयोगशालामा तरकारी परीक्षणका लागि चाहिने रासायनिक पदार्थ नहुँदा सञ्चालनमा आएको ३ महीना नपुग्दै बन्द भएको हो  ।

भरतपुर महानगरको तरकारी बजारमा विक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा विषादीको परीक्षणका लागि राखिएको प्रयोगशाला रासायनिक पदार्थ अभावले बन्द भएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिए । पुस १ गतेदेखि सञ्चालनमा ल्याइएको प्रयोगशालामा परीक्षणका लागि चाहिने रासायनिक पदार्थ नभएकाले बन्द गर्नु परेको उनको भनाइ छ । 

बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा प्रयोगशाला सञ्चालनमा ल्याइएको थियो । तरकारी बजारमा रहेको विषादी प्रयोगशालामा कृषि ज्ञान केन्द्रका कर्मचारीले दैनिक बिहानको समयमा तरकारी तथा फलफूल परीक्षण गर्दै आएका थिए । ‘सीमित कर्मचारीको भरमा भए पनि प्रयोशाला सञ्चालनमा ल्याएका थियौं,’ ढकालले भने, ‘तर परीक्षणमा प्रयोग हुने रसायन नै सकिएपछि अहिले बन्द भयो ।’ 

भरतपुर महानगरपालिका कृषि शाखाका शाखा अधिकृत विनोद लामिछानेले परीक्षण प्रयोगशालामा रासायनिक पदार्थ सकिएको मात्रै नभई केही प्राविधिक समस्या समेत सृजना भएको दाबी गरे । शुरुआती चरणमा प्रयोगशालामा परीक्षणका लागि सबै पदार्थ महानगरले उपलब्ध गराए पनि अबदेखि कृषि ज्ञान केन्द्रले निरन्तरता दिनुपर्ने उनको भनाइ छ । 

ज्ञान केन्द्रका अनुसार प्रयोगशालामा दैनिक बजारमा आएका तरकारी र फलफूलका पाँचभन्दा बढी नमूना परीक्षण हँुदै आएको थियो । परीक्षण गर्दा खान अयोग्य देखिएमा विक्री गर्न बन्देज तथा नष्ट गर्ने गरिएको थियो ।

प्रयोगशाला सञ्चालनका लागि रासायनिक पदार्थ मात्र नभई बजेटको समेत अभाव भएको छ । ‘एउटा नमूना परीक्षण गर्दा कम्तीमा ५०० रुपैयाँ खर्च हुन्छ । दैनिक ४/५ ओटा नमूना परीक्षण गर्दा पनि दिनको २ हजार रुपैयाँ खर्च आउँछ,’ अधिकृत लामिछानेले भने, ‘प्रयोगशालालाई नियमित परीक्षण गर्ने कि आवश्यक पर्दामात्र परीक्षण गर्ने भन्ने विषयमा पनि अब छलफल गर्न जरुरी देखिन्छ ।’

महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालका अनुसार बजारमा दैनिक १५० टन तरकारी र ५० टन हाराहारी फलफूल आउने गर्दछ । प्रयोगशालामा परीक्षण स्थगित भएकाले पुनः बजारमा  विषादीयुक्त तरकारी तथा फलफूल भित्रन सक्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)