यति बेला विश्वभरका सरकार, प्रशासक, उद्योगी, व्यापारी, सर्वसाधारण सबै भाइरल कोरोना भाइरसको प्रकोपले ‘त्राहिमाम्’ छन् । ‘कोभिड १९’ नामक यो ‘ज्याद्रो’ कीटाणु अहिले सबैको टाउको दुखाइको विषय बनिरहेको छ । तर, अन्त आतंक फैलिए पनि नेपालमा हामी अझै आतंकित भइसकेका छैनौं जस्तो छ । किनकि हामी वीर गोर्खालीका सन्तान पो हौं त ⁄ बरु भाइरस चाहिँ हामीसँग डराएको हुनुपर्छ । नेपालमा भएको जताततै फोहोर र प्रदूषणबाट कोरोना त के सबैखाले भाइरस बच्न सक्नेवाला छैनन् । हुन पनि यसअघि विश्वभरका कस्ता कस्ता भाइरस पचाइयो, जाबो चाइनिज भाइरस त हाम्रा लागि के नै हो र ?
कोरोनाको ज्वरोभन्दा कालाबजारीको ज्वरो बढी चर्को छ । यसरी धेरै नेपाली गरीबीले ग्रसित र त्रसित छन् । काला बजारीहरू भने झन् हर्षित छन्, मौकामा चौका हान्न पाइने भो भनेर ।
त्यै भएर होला, जाबो भाइरससँग डराउने डरछेरुवा हो र भन्दै धेरै नेपाली विनामास्क हिँडिरहेका छन् । बहादुर भएर नै त सरकारले पनि नेपाल भ्रमण गर्नुस्, यो ‘कोरोना–फ्री देश हो’ भनेर घोषणै गर्द्यो । तर विश्वका सरकारहरू विनाकाममा आतंकित भएकाले नेपाल आउने पर्यटकले धमाधम बुकिङ रद्द गरेकाले पो होटल, ट्राभल एजेन्सीहरू काम नपाएर ठण्डाराम भएका छन् त । शायद अब आर्थिक मन्दी शुरू हुनेछ । हामी त डराएका छैनौं । तर अर्थतन्त्रका सबै क्षेत्र डराएका कारण आर्थिक गतिविधि शून्यप्रायः भएपछि बैंकको ब्याज तिर्न नसकेर धेरैले बैंकहरूबाट मुख लुकाएर हिँड्नुपर्ने अवस्था पक्कै आउनेछ । त्यसपछि त नेपालीले पनि मास्क लगाएर नहिँडी कहाँ सुख पाउलान् र ?
तर, सबैमा मास्क लगाउने चेत आउन्जेल बजारमा मास्क पाइएला र ? किनकि मास्कको ठूलै अभाव छ । अलिअलि भएको पनि नेपालले चीनलाई सहयोग स्वरूप १ लाख प्रोटेक्टिभ मास्क पठाइहाल्यो क्यारे । चीन जस्तो शक्तिशाली मानिएका देश पनि यति कमजोर र लाचार छ भन्ने देखाउन पो नेपालले चीनलाई मास्क सहयोग पठाको हो कि ? किनकि ६ दिनमा हजारौं बिरामी अट्न सक्ने अस्पताल बनाउन सक्ने देशले जाबो १ लाख मास्क सहयोग किन लियो होला र ?
यता, चीन र भारतका बोर्डरहरूमा मास्कको तस्करी भइरहेको कुरो छ । चीनलाई दिएर बाँकी भएका मास्क पनि कालाबजारीले लुकाइसके जस्तो छ, नेताहरूलाई मात्र सप्लाई गर्न । नेतालाई जीवनको अलि बढी नै मोह हुन्छ क्यारे । त्यसमा पनि नेताहरूलाई सार्वजनिक स्थानहरूमा जाँदा नचिनिने भएर जानुपर्ने अवस्था बढ्दै गएको छ । चिनिनेगरी जाँदा खादाको मात्र होइन, जुत्ताको स्वागत पनि पाइने डर बढेर गएको छ ।
त्यै भएर पनि मास्कको माग बढेको होला । फेरि मान्छेले मान्छेलाई भेद गरे पनि यो भाइरसले चैं नेता र जनता नछुट्ट्याउदो रहेछ । यसले त कांग्रेस र कम्युनिष्ट जान्दैन । यसलाई मारौं, उसलाई बचाऊँ पनि भन्दैन । चीनबाटै आएकाले होला, कोरोना चैं झन् पक्का कम्युनिष्ट जस्तो पनि छ । यसले कसैलाई जात, पात, भात, पद, प्रतिष्ठा आदिका आधारमा भेदभाव गर्दैन । सबैभन्दा साम्यवादी त कोरोना पो रहेछ । यो त भर नभाको भाइरस पो रैछ ।
मास्क लगाउँदैमा कोरोनाबाट जोगिन्छ भन्ने ग्यारेन्टी पनि छैन । अहिले कोरोनाभन्दा पनि ठूलो आपत्काल त औषधि र मेडिकल उपकरणको अभाव हुन सक्ने देखियो । तर के गर्नु संसारभरिका मान्छे कोरोनासँग डराए पनि धेरै नेपालीले अहिलेसम्म यसलाई इत्ति पनि मानेका छैनन् ।
हुन पनि कस्ता कस्ता कुरा पचाउन सक्नेलाई जाबो भाइरस त के भो र ? किनकि कोरोनाभन्दा बढी खतरनाक चैं नेपालमा राजनीतिक भाइरस नै छ, जसले नेपालीलाई सदियौंदेखि प्रताडित पारिरहेको छ र यसको औषधि कसैले पत्ता लगाउन पनि सकेका छैनन् । यी विभिन्न खाले भाइरसको संक्रमण देशैभर, सातै प्रदेश र स्थानीय तहका वडा वडासम्म फैलिएको छ । संघीयतासँगै गाउँ–गाँउका सिंहदरबार छिरेका यी घूसखोरी, भ्रष्टाचार, तस्करी, ढिलासुस्ती, अनिर्णय, महँगी, धूले, खाल्टे आदि विविध प्रजातिका भाइरसले नेपाली जनतालाई कोरोनाले भन्दा बढी सताएको देखिन्छ ।
विश्व स्वास्थ्य संगठन (विस्वासं)ले नेपाल सरकारलाई कोरोनाको विषयमा विशेष सतर्कता अपनाउन भनेको छ । तर आफ्नै पार्टीको आदेश नमान्ने नेपाल सरकारले विस्वासंले भन्दैमा सबै कुरा किन मान्ला र ? ढिलै भए पनि सरकारले सकेसम्म एअरपोर्टबाट कोरोना नेपालभित्र छिर्नै नदिने रे, कसैगरी छिरेछ नै भने पनि सबै राज्य संयन्त्र मिलेर त्यसलाई बन्दुक हानेरै निर्मूल पार्ने रे । त्यति गर्दा नि भएनछ र महामारीको रूप लिएछ भने स्वास्थ्य संकटकाल घोषणा गर्दिने रे लौ जा ! हुन त केही जिल्लाका प्रमुख जिल्ला अधिकारीले सकेसम्म बाहिरै ननिस्कनू भनेर विज्ञप्ति त जारी गरेका छन् क्यारे । नेपालमा हुने पक्का भएका सगरमाथा संवाद, नेपाल भ्रमण वर्षजस्ता ठूलो कार्यक्रम स्थगित पनि भएका छन् । तर आधारभूत कुराहरू पनि नभएका जनता धेरै बसोवास गर्ने देशमा घरभित्र बसेर मात्र कसरी बाँच्न सक्छन् र ? यता, बजारमा मास्क र सेनिटाइजर लिनेको लर्को छ । कोरोनाको ज्वरोभन्दा कालाबजारीको ज्वरो बढी चर्को छ । यसरी धेरै नेपाली गरीबीले ग्रसित र त्रसित छन् । काला बजारीहरू भने झन् हर्षित छन्, मौकामा चौका हान्न पाइने भो भनेर । यसले यसै पनि विभिन्न अभावमा बाँचिरहेका नेपालीलाई थप खाद्यान्न र अन्य सामग्री अभाव हुने स्पष्ट देखिँदै छ । यसले अबका दिनमा बाँच्न झनै मुश्किल पर्न सक्ने पोे देखिन्छ ।
यस्तो अवस्थामा रुँदै मर्नुभन्दा यै कोरोनाले नै छिट्टै मर्नु पो श्रेयस्कर हुन्छ कि भन्ने पक्कै लाग्न सक्छ, खासगरी हुनेखानेलाई भन्दा हुँदा खानेलाई चैं । यो परिस्थितिमा मलाई पनि ‘लौन कोरोना मलाई पनि लैजा वा मलाई पनि माया गर्’ भनौं कि जस्तो पो लाग्न थालेको छ । अझ हिन्दीमा ‘साथीया, .......इतना कोरोना मुझे प्यार’ भन्ने गीत गाउँदै कतै टाढा भागीदिऊँ कि क्या हो जस्तो लागिराछ । तर हाम्रा प्रधानमन्त्रीको आत्मबल हेर्दा भने नभएको आशा पनि पलाएको छ । रोगैरोग भएर पनि प्रम त्यति उत्साहित देखिनुहुन्छ ।
हामी चैं सर्दै नसरेको कोरोनासँग अत्तालिएर सिकिस्त छौं । हामीसँग पनि त लाखौं टनका सपना बाँकी नै छन् नि । तिनलाई अलपत्र छाडेर यति छिट्टै किन अलप हुने जस्तो पनि सँगसँगै लागिराछ । तपैंलाई चैं कस्तो लागिराछ कुन्नि ?
"कोरोनाभन्दा बढी खतरनाक चैं नेपालमा राजनीतिक भाइरस (खप्रओ,विदेभ,पुकदा,माकुने,शेबदे,बाराभ..) नै छ, जसले नेपालीलाई सदियौंदेखि प्रताडित पारिरहेको छ र यसको औषधि कसैले पत्ता लगाउन पनि सकेका छैनन् । "
‘साथीया, .......इतना कोरोना मुझे प्यार’ भन्ने गीत गाउँदै कतै टाढा भागीदिऊँ कि क्या हो जस्तो लागिराछ । तर हाम्रा प्रधानमन्त्रीको आत्मबल हेर्दा भने नभएको आशा पनि पलाएको छ । रोगैरोग भएर पनि प्रम त्यति उत्साहित देखिनुहुन्छ । हामी चैं सर्दै नसरेको कोरोनासँग अत्तालिएर सिकिस्त छौं । हामीसँग पनि त लाखौं टनका सपना बाँकी नै छन् नि । तिनलाई अलपत्र छाडेर यति छिट्टै किन अलप हुने जस्तो पनि सँगसँगै लागिराछ ।