१३औं सागमा नेपालले यसपटक राम्रो प्रदर्शन गरिरहेको छ । अब हुने खेल समापन समारोहमा मन्त्री र राखेपका पदाधिकारीले यो सफलताको जश लिन पक्कै चुक्ने छैनन् । अझ आफ्नै कारण र आफैले जितेसरह कुर्ली कुर्ली उनीहरूले भाषण पनि पक्कै ठोक्नेछन् । विगतदेखि वर्तमानसम्मका सरकारले खेलका लागि कति बजेट छुट्ट्याए र कति काम गरे भन्ने त जगजाहेर नै छ । पञ्चायती सरकारले बनाइदिएको एकमात्र दशरथ रंगशाला २०४७ सालपछिका सरकारहरूले टालटुल गर्दै आएका छन् । त्यसो त यो ३० वर्षमा प्रत्येक सरकारले खेलकुदका लागि भनेर केही बजेट पनि छर्ने गरेका थिए क्यारे । तर त्यै बजेट पनि मन्त्री र खेलकुद पदाधिकारीका विदेश भ्रमण र नयाँ दौरासुरुवाल सिलाउँदैमा सिद्धियो र पो ! बाँकी बचेखुचेको रकम खेलकुदका राजनीतिक खेलाडीलाई पनि भागशान्ति पुर्याउनै पर्यो । अनि बिचरा पदाधिकारीले केले गरून् देशमा खेलकुदको विकास ?
हुन त खेलाडीहरू पनि भाग्यमानी नै छन् । किनकि उनीहरूका बाउआमाले आफूले राम्रो नखाई, राम्रो नलाई, पैसा जोगाई खेलाडी बनाइदिएकाले पो आज सागमा नेपाली खेलाडीहरू चम्किइरहेका छन् । नत्र के जोर चल्थ्यो तिनीहरूको अरू देशका खेलाडीका अगाडि ? जे होस् नेपाली खेलाडीहरूलाई सरकारले सहयोग गर्न नपाए पनि उनीहरूले कतै न कतैबाट सहयोग त पाएकै छन् । कसैको ट्र्याकसुट मागेर भए पनि, कतिपय खेलकुदका सामग्री प्रतिस्पर्धी देशकै खेलाडीसँग पैंचो लिएर भए पनि, भोकै पेट सही, पटुका कसेरै भए पनि, खेल्ने मौका त पाएका छन् कमसेकम । यति भए नि भैगो नि । यसै पनि कुन चैं धेरै ठूला अन्तरराष्ट्रिय खेल जित्नु छ र हाम्लाई ?
अरू धेरै देशहरूमा त खेलको उद्घाटन एउटा रंगशालामा, समापन अर्कोमा, खेल पनि विभिन्न खेल मैदानहरूमा सम्पन्न हुने गर्र्ने गर्छन् रे । विनाकाममा धेरैओटा रंगशाला बनाएर किन ठूलो रकम खर्चेका होलान् उनीहरूले ? दर्शकहरूलाई किन विभिन्न खेल मैदान धाउने कष्ट दिएका होलान् ? उनीहरूले सिकून् नेपालबाट कि मितव्ययी कसरी बन्ने भनेर । यता कसले उक्साएर हो, हँसाउने एक कमेडियन जोडीले चितवनतिर स्टेडियम बनाउने भन्दै हिँडेको सुनिएको छ । यसरी दिनदहाडै सरकारलाई होच्याउने काम गरेकोमा उनीहरूलाई कसैले किन कारबाही गर्दैन हँ ? कि त सरकारका मन्त्रीहरूले कमेडियनको र कमेडियनहरूले विकास निर्माणको काम गर्ने भनेर भूमिका साट्नुपर्यो । हैन भने यो जग हँसाउन छाडेर आ–आफ्नै काममा गम्भीर हुन चेतावनी दिइन्छ । किनभने कमेडियनहरूले देश चलाउन सके पनि सरकारी हाकिमहरूले विकास निर्माण गर्न सक्छन् भन्ने कुरामा त सबैलाई शंका छ नि !
विदेशीहरू खेलाडीका नाममा विनासित्तीमा राज्यकोषको दोहन गर्छन् र खेलाडी तथा तिनका परिवारलाई समेत सरकारी तलब, भत्ता सुविधा र आजीवन खेल भत्ता प्रदान गर्छन् । मन्त्रीभन्दा बढी आदर सम्मान गर्छन् । म्रोमा त्यस्तो भद्रगोल चलन छैन ।
त्यसो भन्दैमा सरकारले खेलकुदका लागि सिन्को नै नभाँचेको भन्न चैं कसैले पनि पाउँदैन है ! किनकि कति वर्ष अगाडि हो, उसले मूलपानीमा क्रिकेट स्टेडियम बनाउने घोषणा गरेकै हो । खेलकुद परिषद् र ओलम्पिक कमिटी पनि बनाएकै छ । अरू अनेक नामका समितिहरू बनाइएका छन् । देशैभरि खेलसँग सम्बन्धित थुप्रै संघसंस्थाहरू पनि खडा गरिएकै छन् । जीवनमा गीर पनि नखेलेका थुप्रै राजनीतिक खेलाडीहरूले त्यहाँ जागीर पड्काएकै छन् । ती जागीरेहरू खेलाडीसँगै विदेश जान पनि भ्याएकै छन् । बरु खेलाडीले आफ्नो टिकट आफै पैसा तिरेर विदेश जानु पर्ला । तर धन्न कार्यकर्ता जागीरेको भने सबै खर्च खेलकुदकै पैसाबाट अहिलेसम्म चलेकै छ ।
हुन पनि खेलाडीले मात्र खेल खेलेर जितिने पनि होइन । राजनीतिक कार्यकर्ता र पदाधिकारीले खेलाडीमा उत्साह नभर्दिने हो भने खेलाडीले आफ्नै बलबुताले मात्र कसरी खेल्न सक्छन् र ? खेलका पदाधिकारीले खेलाडीलाई अब्बल बनाउन कम्ता मेहनत गर्नुपर्छ ? पद पाउनेबित्तिकै पद दिलाउनेकहाँ हाजिरी बजाउन धाउनुपर्यो । त्यहाँ धाएर मात्र पुग्दैन । भगवान सरह नेताजीका दर्शन पनि समय समयमै पाउनु पर्यो । अनि बजेट निकासा गराएर आफ्ना लागि गाडी किन्न भ्याउनु पर्यो । आफ्नो स्वास्थ्य, सुरक्षा आदिको जोहो पनि मिलाउनै पर्यो । यो सबै व्यवस्थापन गर्न कम्ता दौडधूप गर्नु पर्दैन !
विदेशीहरू खेलाडीका नाममा विनासित्तीमा राज्यकोषको दोहन गर्छन् र खेलाडी तथा तिनका परिवारलाई समेत सरकारी तलब, भत्ता सुविधा र आजीवन खेल भत्ता प्रदान गर्छन् । मन्त्रीभन्दा बढी आदर सम्मान गर्छन् । हाम्रोमा त्यस्तो भद्रगोल चलन छैन ।
खैर, यो चिसो मौसममा पनि खेलकुदका हाकिमहरूले गरेको विशेष मेहनतका कारण १३औं साग सफलता उन्मुख सम्पन्न हुन गइरहेको छ । यसमा खेलाडी त खेलाडी भैहाले । उनीहरूलाई के बधाई दिनु ? किनकि बधाई पनि कति दिनु ? सबैले खेलाडीलाई त जीवनभरलाई पुग्नेगरी बधाई दिइरहेकै छन् । अब त्योभन्दा धेरै बधाई उनीहरूले शायद धान्न पनि सक्दैनन् । त्यसैले ल है ! १३औं साग सफल हुनुमा खेलाडीहरूबाहेक बाँकी सबै बधाईका पात्र हुनुहुन्छ ।
अब समापन समारोहमा सबैको धोको प्रधानमन्त्रीले सम्बोधन गरेको हेर्ने छ । तर प्रधानमन्त्री अहिले अलिअलि बिरामी हुनुहुन्छ । भलै सल्लाहकारहरूका अनुसार भने उहाँ खास बिरामी हुनुहुन्न । केवल आरामका लागि १० दिन आईसीयूमा बस्नुभएको उहाँ बिहीवार दिउँसो डिस्चार्ज समेत भइसक्नुभयो । जे जस्तो अवस्थामा हुनुहुन्छ, अझ स्वस्थ भएर, सके प्रत्यक्ष, नसके भिडियो कन्फ्रेन्स मार्फत नै भए पनि कमसेकम १३औं सागको समापन गर्न हँसिलो अनुहार लिएर आउनुहुनेछ भन्ने आशा र कामना पनि गरौं ।