निजगढको विकल्प भन्नाले प्रस्तावित निजगढ अन्तरराष्ट्रिय एयरपोर्ट (निअएपो) भन्ने बुझ्नुहोला ।
२५ वर्ष अघिदेखि कुरा थालिएको र अहिलेसम्म शिलान्यासै हुन नसकेको यो परियोजनाको बारेमा खुशीको खबर छ । अहिले यसका विकल्पहरू धमाधम आउन थालेका छन् । विकल्प विज्ञहरूका अनुसार यस्ता छन् ती विकल्पहरू :
विकल्प एक : निजगढको सट्टा यहीँ काठमाडौं नजीकैको भट्टेडाँडालाई सम्याएर त्यहीँ एपो बनाउने । पोखरा एपो बनाउँदा पनि डाँडा काट्ने काम भएको अनुभव हामीसँग छँदै छ । त्यसो गर्दा माटो, गिट्टी, ढुंगा आदि बेच्दा पनि ५/६ अर्ब रुपैयाँ आउँछ रे । एपो भने ४ अर्बमा बन्न सक्छ रे । त्यसो हो भने २ अर्ब त सीधै नाफा । काम त यस्तो पो गर्नुपर्छ नि त !
विकल्प दुई : शिवपुरीको डाँडालाई सम्याएर त्यहाँमाथि एपो बनाउने । त्यसो गरे काठमाडौंबाटै सीधै लाङटाङ हिमाल छर्लंङ देख्न सकिन्छ, जसरी पोखरा एपोबाट माछापुच्छ्रे देखिन्छ । अहिले भने काठमाडौंबाट ती हिमाल झल्याकझुलुक मात्रै देखिन्छन्, त्यो पनि वातावरण पूरै खुला भएमा अर्थात् हावा वा पानीले आकाशबाट धूलो, धूँवा हटाएमा । त्यो डाँडो काटिदिए त पानी नपरे पनि धूँवा धूलो उडेर गइहाल्ला नि !
विकल्प तीन : नगरकोटका डाँडा सबैतिर उडाइदिऊँ र पाँचखालसम्म फैलाऊँ । यसै पनि अहिले के पर्यटक, के स्थानीय काठमाडौं आउन–जान निकै सास्ती भइरहेकै छ । त्यहाँ एपो बनाउँदा आएको माटो, ढुंगाले प्रचन्डका घरबेटीले नबनाएको बाटो पनि सम्मिन्छ । अनि काठमाडौं नै पाँचखालसम्म फैलिएर विशाल बन्छ । प्लटिङ गर्न, इँटाभट्टा पुनः शुरू गर्न जति पनि प्रशस्त जमीन उपलब्ध हुन्छ ।
विकल्प चार : पश्चिमको नागार्जुन डाँडा सम्याउने । (चन्द्रागिरिको कुरो चैं ऐले नगरौं है ! पृथ्वीनारायणले नेपाल एकीकरण गर्ने सपना देखेको ठाउँ हो रे नि त त्यो । अझै थप सपना देख्न बाँकी नै छ । त्यो डाँडो पनि काट्यो भने भविष्यको कसरी सपना देख्ने ?) नागार्जुनलाई सम्याएर, खोला खोल्सा सबै पुरेर मुग्लिनसम्मै पुर्याऊँ । खोलासोला पुरेर सम्याउने, खोलामाथि नै महल ठड्याउने, शहरै बसाउने क्षमता नेपालीसँग छँदै छ । यसो गरेपछि मेट्रो रेल, ठूला बस, १८ चक्के लामा गाडी आदि सबै सहजै चलाउन पनि बाटो पुग्छ ।
नगरकोटका डाँडा सबैतिर उडाइदिऊँ र पाँचखालसम्म फैलाऊँ । यसै पनि अहिले के पर्यटक, के स्थानीय काठमाडौं आउन–जान निकै सास्ती भइरहेकै छ । त्यहाँ एपो बनाउँदा आएको माटो, ढुंगाले प्रचन्डका घरबेटीले नबनाएको बाटो पनि सम्मिन्छ । अनि काठमाडौं नै पाचँखालसम्म फैलिएर विशाल बन्छ । प्लटिङ गर्न, इँटाभट्टा पुनः शुरू गर्न जति पनि प्रशस्त जमीन उपलब्ध हुन्छ ।
विकल्प पाँच : माथिका सबै देखिएका विकल्पहरूमा चार नयाँ एपो बनाऊँ । हिजोआज पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र सातै प्रदेशमा अन्तरराष्ट्रिय एपो बन्नुपर्दछ भनेर माग पनि उठिरहेको छ । र, यो समयको पनि माग हो । किनकि नेपालमा सडक यातायात भरपर्दा बन्न सकेनन् । सडक दुर्घटना धेरै बढे । त्यसैले हवाई यातायात बढाउन जरुरी देखिन्छ । त्रिभुवन अएपोमै हवाई यात्रुको भीड हेर्नुस् न, कति माग छ हवाई यातायातको भनेर । अर्कोतिर, काठमाडौं कचौराजस्तो भएकाले धरै प्रदूषण जम्मा भएर उकुसमुकुस भइरहेको छ । एपो बनाउन भएजति डाँडा सम्याइदिएपछि महानगरपालिकाले भन्ने गरेको ‘स्वच्छ, हराभरा काठमाडौं’ पनि बन्नेछ ।
होइन यी विकल्पहरू तपाईंलाई हावा हुन् भन्ने लाग्छ भने लौ निजगढमै अएपो बनाऊँ न त । किनकि निजगढको अएपो सबै हिसाबले युनिक बन्नेछ । एक त जंगल र जनावरवादीहरूले पनि त्यहाँ एपो बनाउन त ठीक छ, तर रूख काट्न चैं कुनै हालतमा पनि पाइँदैन, दिइँदैन भनेका छन् । हुन त बुढा रूखहरू चै काट्नैपर्छ भन्नेहरू पनि छन् । तर रूख काट्नै पाइँदैन भन्ने भीडको अगाडि बुढा रूखको संरक्षण गर्नुपर्छ भन्ने बुढाहरूको मसिना आवाजहरूको के लाग्ला र ? त्यसमा पनि पूर्व प्रधानमन्त्रीदेखि वर्तमान मन्त्रीहरूसम्म निजगढमै अएपो चैं जसरी पनि बनाएरै देखाउने हो भनिरहेका छन् । भनेपछि एपो चैं त्यहाँ पक्कै बन्छ जस्तो छ । यसको मतलव माथि दिइएका यसका विकल्पमा काम हुने छाँट पक्कै पनि शून्य नै छ ।
यसरी रूखहरू बचेपछि जंगल रहने नै भयो, जंगल भएपछि जंगली जनावर र चराचुरुंगी आदि पनि हुने नै भए । कल्पना गर्नुस् त ! एपोभित्रै, अझ जहाजभित्रैबाट चराहरू चिरबिर गरिरहेका सुन्न पाउँदा कस्तो आनन्द आउँछ होला ? बाँदर, चितुवा वा मृगजस्ता जनावरहरूबीच हुन पाउने निकुञ्जवाला एपो भएपछि कति मनमोहक देखिन्छ होला ? अझ रनवेमा पर्ने रूखहरू समेत नकाटी एपो बनाउनुपर्छ, जसरी नेपालका कतिपय हाइवेहरूमा सडककै बीचमा भएका रूख नकाटी पिच समेत गरिएको छ । यति गरेपछि विश्वका पर्यटकहरूले निजगढजस्तो आकर्षक र बुटिक अएपो अन्त कहाँ पाउलान् र ? त्यसले पर्यटकहरूको घुइँचो ह्वात्तै बढ्नेछ । भ्रमण वर्ष भनेर पर्यटक बढाउने कुनै कार्यक्रम ल्याउन आवश्यकै पर्दैन । २० लाख पर्यटक त यै एउटै निजगढ अएपो हेर्न मात्र भनेरै नेपाल आउन सक्छन् । बरु यो अएपो बनेपछि भैरहवा र पोखरा एपोको चैं के गर्ने भन्ने विषयमा अहिलदेखि नै विकल्पमा गम्भीर छलफल गर्न भने जरुरी छ है !
अँ साँची, भारतले निजगढ अएपोलाई अन्तरराष्ट्रिय जहाजका लागि इन्ट्री पोइन्ट वा हवाई मार्ग दिएन भने के गर्ने भन्ने पनि कसैले सोचिरा हुन सक्छ । भैरहवाकै लागि पनि अहिलेसम्म दिएको छैन क्यारे । अर्थात् अएपो चैं त बन्लान् रे पनि । तर अन्तरराष्ट्रिय जहाज त्यो रूटबाट नेपाल आउन नपाउने र केवल चीनतिरबाट आउने जहाज र नेपाली डोमेस्टिक जहाज मात्रै आउन पाउने पो हुन् कि ?
तर त्यस्तो कहाँ हुन्छ र ? किनकि बुद्ध जन्मेको, सगरमाथा भएको, एकसिंगे गैंडा (राइनो होइन नि) भएको जंगलका बीचमा बन्ने, दुनियाँभरमा कहीँ पनि नभएको यस्तो युनिक अएपोलाई भारतले हवाई मार्ग नदिइरहन मिल्छ र ? पक्कै मिल्दैन । दिएन भने संसारभरिबाट भारतको विरोध हुनेछ । यस्तो युनिक अएपो हेर्न लालायित संसारभरिका जनताले आ–आफ्ना देशमा जुलुस निकाल्नेछन्, त्यहाँका भारतीय नियोगहरूमा विरोधपत्र दिनेछन् । अनि रूट नदिई सुख्ख ? भारतले नेपालको विकासमा कति सहयोग गरिरहेको जगजाहेर नै छ नि !
ल एकछिनलाई मानौं निजगढमा अएपो बनेन नै भने त्यै पनि केही बिग्रँदैन । हल्लाखल्ला भने चर्किरहे पुग्छ । हल्ला भएपछि अहिले जसरी काठमाडौंबाट निजगढ जाने बाटो आसपास, कुना काप्चासम्मका घरजग्गाको भाउ बढिरहेको छ, अझै बढ्नेछ । अर्थात् रियल इस्टेट सेक्टरमा बुम आउँछ । अनि बाटातिरका रूखहरू काट्न त कसैले रोकेको पनि छैन । अहिले पनि ती काटिइ नै रहेका छन् । यसमा काठको ठेक्कापट्टा व्यवसाय पनि राम्रो चलेकै छ । तलदेखि माथिसम्मकालाई राम्रो आम्दानी फलेकै छ । अझ बढी फल्दै पनि जाने नै छ । अनि के बिग्य्रा छ त ? त्यसैले एपो नबने पनि कमसेकम हल्ला त मजैले चलाऔं न हो !