हामी नेपालीहरू धेरै भाग्यमानी हौं । किनकि विश्वका अधिकांशले वर्षमा एकपटक मात्र नयाँ वर्ष मनाउन पाउँछन् । हामीले चैं कम्तीमा पनि आधा दर्जनजति ‘न्यू इयर’ मनाउने सौभाग्य पाएका छौं । पहिलो त वैशाख १, त्यसपछि नेपाल संवत्, अनि पश्चिमाहरूको जनवरी १, अनि आउँछन् तीनओटा ल्होसार ।
नयाँ वर्षमा आफन्तहरू र मित्रजनहरूले दिएको शुभकामनाको बाढी सम्हाल्न पनि भ्याइनभ्याइ पो छ त । यसमा प्रविधिको विकासको पनि ठूलै हात छ । आजभोलि पहिलेजस्तो शुभकामना लेख्ने, टाइप गर्ने वा भनिरहने कष्ट गर्नै पर्दैन । गूगल र युट्युबका भित्ताहरूमा रेमिमेड र भच्र्युअल शुभकामनाका किसिम किसिमका डिजाइन छ्याप्छ्याप्ती सित्तैमा पाइहालिन्छ । एउटै क्लिकमा हजारौंलाई एकैचोटि पठाइदियो, काम तमाम ! त्यसैले शुभकामनाको छाल यसरी आइरहेको छ कि २/४ दिन त सामाजिक सञ्जाल, मोबाइलमा २४ घण्टा समय दिए पनि थेग्न सकिँदैनजस्तो छ । जे होस्, अनलाइनमा शुभकामना दिने कुरामा देश आत्मनिर्भर भइसकेको छ ।
नेपालमा यती पाइएको थिएन । त्यो नपाएर कति स्वदेशी र विदेशी दुःखी थिए । त्यै भएर सरकारले हिमाल, पहाड, तराई, गोकर्ण, लुम्बिनी दरबारमार्ग, ताहाचल जताततै यतीलाई स्थापना गर्दियो ।
तर म भने मलाई शुभकामना दिने र नदिने सबैलाई शुभकामना दिन हिचकिचाइहेको छु । म कसरी भनुँ कि यो नयाँ वर्षमा तपाईंलाई सुख, शान्ति मिलोस् भनेर ? किनकि, दिएपछि त्यो शुभकामना फलदायी पनि हुनुपर्यो नि । तर त्यस्तो भएजस्तो लाग्दैन । मानौं मैले कुनै किसानलाई भनेँ कि ‘यो वर्ष तपाईंको बाली राम्रो लागोस् । तपाईंले राम्रो मूल्य पाउनुहोस् ।’ मेरो शुभकामना लागेर भगवान् वा प्रकृतिले भनेजस्तै उनको उखु वा खाद्यान्न राम्रो फल्यो पनि रे । तर फसल बेचेर उनलाई फाइदा हुन्छ त ? फसल आउनासाथ व्यापारीले मूल्य घटाउन थाल्छन् र त्यसरी किनेको लुकाउन पनि थाल्छन् । साथै विक्री भाउ बढाइदिन्छन् । सरकार जिल्ल परेर हेरिरहन्छ । त्यति बेला मलाई आफूले दिएको शुभकामनाकै उपहास भए झैं लाग्छ ।
मैले एकपटक एक सरकारी कर्मचारीलाई सुख समृद्धिका लागि शुभकामना दिएँ । नतीजा यस्तो भयो कि उनले सेवाग्राहीसँग घूस पो लिन थाले । किनकि उनलाई मेरा शुभकामना पूरा गर्नु थियो । तपाईंलाई थाहै छ, सरकारी कर्मचारी वा नेता घूस नलिई पक्कै पनि सुखी हुन सक्तैनन् । त्यो एक वर्ष त ती कर्मचारी सुखी नै रहिरहे ।
तर वर्ष सिद्धिनासाथ उनी अस्ति भर्खर अख्तियारबाट समातिए । त्यस्तै एक नेतालाई मैले गतवर्ष तपाईंलाई सुख, शान्ति र उज्यालो (याने रोशनी) देओस् भनेको थिएँ । उनले एउटा समृद्ध संस्थाको पूरै कोष हजम पारेछन् र रोशनी नामकी सहायकसँग दोस्रो गन्धर्व बिहे पनि गरेछन् । त्यस्तै त्रिविविका एक विद्यार्थीलाई भनेको थिएँ कि तिम्रो नयाँ वर्ष सुखमय रहोस् भनेर । उनले त्रिविविका एक प्रोफेसरलाई घूस ख्वाएर परीक्षाभन्दा पहिले नै प्रश्नपत्र हात पारे अनि गोल्ड मेडल पाएर सुखी भए । हुन सक्छ ती प्रोफेसरलाई पनि कसैले सुख पाउने शुभकामना दिएका थिए ।
त्यसैगरी पत्रकार साथीहरूलाई यो वर्ष सुखमय होस् भनेको त बालुवाटारमा गएर शपथका साथै के के खान भ्याएछन् । उनीहरूले त सुख पाए, अब देशले चैं के पाउने हो थाहा छैन । मैले कतिपय राजनीतिमा लागेका तर जीवनमा कहिल्यै कुनै अफिसमा समेत काम नगरेका मानिसलाई सुखको शुभकामना दिएको थिएँ । ती त अहिले मन्त्री भका छन् । उनीहरूले जजसलाई प्रतिस्थापन गरे, शायद उनीहरूलाई कसैले पनि सुख पाउने शुभकामना दिएका थिएनन् होला । त्यै भएर उनीहरू मन्त्रीबाट हटे । त्यसैले मलाई शुभकामना दिइहाल्न डर लाग्छ क्या ! किनकि जसलाई शुभकामना दियो, उसले त सुख पाउँछ, तर अर्कोले दुःख । यसको मतलव मैले दिएको शुभकामना मात्र पूरा हुन्छ भन्ने होइन नि । शुभकामना सबैको लाग्छ । त्यसैले त जजसले बढी शुभकामना पाए, उनैले बढी सुख पाए । शुभकामनाले सुख मात्र होइन, सत्ता पनि पाइन्छ । बढी मानिसको शुभकामना पाएरै त नेताहरू सरकारमा पुग्छन् । भनेपछि नेताहरू वा सरकारले नै दिएको शुभकामना त झन् कति फलदायी हुन्छ होला त ?
दुई तिहाइको शुभकामना पाएको सरकारले पनि जनतालाई सुखको कामना गरेको गर्यै छ । अझ सुखी मात्र होइन, समृद्ध नेपाली पनि भन्या भन्यै छ । नेपालमा यती पाइएको थिएन । त्यो नपाएर कति स्वदेशी र विदेशी दुःखी थिए । त्यै भएर सरकारले हिमाल, पहाड, तराई, गोकर्ण, लुम्बिनी दरबारमार्ग, ताहाचल जताततै यतीलाई स्थापना गर्दियो । अझ नेपाल भ्रमण वर्ष २०२० को प्रतीक चिह्न (मस्कट) स्वरूप सरकारले ठाउँ–ठाउँमा यतीको मूर्ति नै ठड्याइदिएको छ । अझ यसलाई छिट्टै विश्वभर पुर्याउने रे । यसरी नेपालमा यती पाइएन भनेर दुःखी भएकाहरूलाई सरकारले एकाएक सुख दिन थालेको छ । भर्खरै सूचना विधेयकबाट पनि सरकारले नेपाली जनतालाई धेरै सुख दिन खोज्दैछ क्यार ! त्यो पाउने भएर खुशीले होला सामाजिक सञ्जालमा मानिसहरू एकाएक शान्त र संयमित हुन थालेका देखिन्छन् ।
सरकार जनतालाई सुख दिनमा साँच्चै गम्भीर पो देखिन्छ त । त्यै भएर उसले एमसीसी र बीआरआईको बहस चलाइरहेको छ । पार्टी र परिवारको, क्यापिटलिजम र समाजवादकोे कुरा उठाइरहेको छ । तर बीच्चबीच्चमा उखुका लाँक्रा लिएर एक हुल मानिस सरकारलाई बिनासित्तीमा बिथोल्न आएका छन् । माइतीघरमा बसेर उखुकै गीत गाइरहेका छन् । उखुबाट चिनी निस्कन्छ, सबैलाई थाहा भएको कुरा हो । तर चिनी नै मधुमेहको प्रमुख कारण हो भन्ने कुरा किसानहरूले बुझिरहेका छैनन् । फेरि धेरै नेता र उद्योगीहरूलाई चिनीकै रोग पनि लागिसकेको छ । यस्तोमा सरकारले कसको सुखको कामना गर्ने ? किसानको, उद्योगीको, कि आफ्नै ? उखु लगाउनुको सट्टा आलु, प्याज रोप्नु वा उखु नै लगाउने भए आफै सख्खर वा गुड बनाएर खानु, त्यसबाट पो तागत आउँछ त । अनि सुख प्राप्त हुन्छ । काँ यो उखु लगाएर मिललाई त्यसबाट चिनी बनाउन लगाएर आफू पनि दुःखी, अरूलाई पनि दुःखी बनाएका होलान् किसानहरूले ! चिनी खान मन लागे सरकारले जति पनि आयात गरेर ल्याउन दिईहाल्थ्यो नि !
त्यसैले अंग्रेजहरूको यो नयाँ वर्षमा मैले केवल सुक्खा शुभकामना मात्र दिएँ ल ? यो वर्ष यसैमा दुःखसुख टार्नुहोला है !