नेपालका ठूला राजनीतिक दलहरू यसबेला देशलाई समृद्धिको बाटोमा कसरी डोर्याउने भनेर गम्भीर सैद्धान्तिक छलफलमा जुटेका छन् । नेपाली कांग्रेस १४औं महाधिवेशनका लागि महासंग्रामको तयारीमा व्यस्त छ । त्यसका लागि आवश्यक लाठी, मुग्रा, भाला आदि सबै तम्तयार छन् । क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा र विभागको संख्या घटबढ गर्ने र नगराउने बहसले गर्दा महाधिवेशन गर्न महाक्रान्ति नै गर्नुपर्ने जस्तो देखिएको छ । यता नेकपामा पनि कहिले कार्यकारी अध्यक्षता कसले गर्ने, एमसीसीको अनुदान लिने कि नलिने वा प्रदेश ३ को राजधानी हेटौंडा राख्ने वा अन्तै भन्नेजस्ता विवादले देशलाई समृद्धिको बाटोमा डोर्याउने पार्टीभित्र क्षणिक बाधा परेजस्तो मात्र देखिए पनि समाजवादको बाटोमा देशलाई घिस्याउन आवश्यक हँसिया, हथौडा पनि तयार हुँदै होलान् । ठूला दलहरूका सतहमा देखिने यी र यस्ता तयारीहरू वास्तवमा भित्री रूपमा भने देश विकास गर्नकै लागि भैरहेका हुन् भनेर खुलेरै भन्न सकिन्छ । यी तयारीहरू विवाद होइनन्, बरु यो त गहन सैद्धान्तिक छलफल, चिन्तन र मनन हुन् देशका खातिर ।
हुन पनि विगत २०४७ सालयता नेपाली ठूला राजनीतिक दलहरूबाट यस्ता गहन सैद्धान्तिक छलफल नेपाली जनताले सुन्दै आइरहेकै छन् र यसमा रमाइरहेकै पनि छन् । त्यसैले दलहरूका प्रत्येक बैठकमा वा मन्त्री/प्रधानमन्त्रीका प्रत्येक भाषणमा समृद्धि, विकास, स्वच्छ सुशासन, नागरिक अधिकार आदि कुरा कहिल्यै छुट्दैनन् । तर यस्ता सैद्धान्तिक कुरा नबुझ्नेहरू भने देशमा झन् ठूलो समस्या पो ल्याउने हो कि भन्दै त्रसित छन् ।
हास्य कलाकारहरूले बोलेका कुरालाई चैं मानिसहरूले गम्भीरतापूर्वक लिन थालेका छन् । तर मन्त्री, नेताले बोलेका कुरालाई भने हास्य कलाकारले बोलेजस्तो मनोरञ्जनको रूपमा पो लिन थालेका छन् बा ! यो के भएको होला मानिसहरूलाई । सबै मानिस शीर्षाशनमा बसेर पो हेर्न थाले कि क्या हो हँ ?
किनकि हास्य कलाकारहरूले बोलेका कुरालाई चैं मानिसहरूले गम्भीरतापूर्वक लिन थालेका छन् । तर मन्त्री, नेताले बोलेका कुरालाई भने हास्य कलाकारले बोलेजस्तो मनोरञ्जनको रूपमा पो लिन थालेका छन् बा ! यो के भएको होला मानिसहरूलाई । सबै मानिस शीर्षाशनमा बसेरपो हेर्न थाले कि क्या हो हँ ? अर्थात् मानिसहरूले सबै कुरा उल्टो पो देख्न थाले कि क्या हो हँ ? त्यै भएर जब–जब मन्त्री, नेताहरूले समृद्धि र सुशासनको कुरा गर्छन्, बडो डर पो लाग्न थालेको छ । किनकि जे कुरामा पनि सोचेको भन्दा नतीजा त्यसको ठीक उल्टो देखिन थालेको छ । त्यै भएर ‘बरु हामीलाई गरीबी र कुशासन देऊ, धेरैभन्दा धेरै दुशासनहरू देऊ, हाम्रो भाग्यमा कति समृद्धि र सुशासन मात्रै लेखिरहन्छौ भगवान् १ अलिकति त दया गर १’ भन्नुपर्ला जस्तो भएको छ । हुन पनि सरकार आदर्शको कुरा गर्छ, स्वच्छता, इमानदारीको कुरा गर्छ । तर नेताहरूको पेट बढ्दै जान्छ । उनीहरू महलमा बस्नुपर्ने बाध्यतामा पर्दै जान्छन् । विरोध सामन्ती, पूँजीवादी व्यवस्थाको हुन्छ, तर व्यवहार तिनै उपयोगितावादी, उपभोगवादी र भोगवादीमा पुग्छ । कुरा त्याग, देशका लागि समर्पणको हुन्छ । तर व्यवहारमा पदका लागि पार्टीसमेत फुटाउनेमा पुग्छ । कुरा जनताको गरीबी घटाउने हुन्छ, तर व्यवहारमा डाडुपन्यूँ हातमा हुनेहरूको गरीबी चैं हट्छ, देशमा गरीबी बढ्छ । होइन यो के भइरहेको छ ? कसले यस्तो परिस्थिति सृजना गर्दिरहेको छ ? बिचरा १ नेताजीहरू त देशका लागि यति अहोरात्र खटिरहनु नै भएको छ त । तर नतीजा उल्टो उल्टोतिर गइरहे जस्तो देखिन्छ ।
नेताजीहरू विदेशीलाई नेपालमा लगानी गर भनेर भन्या भन्यै हुनुहुन्छ । तर विदेशीहरू लगानी ल्याउने कुरै गर्दैनन् । जनतालाई राम्रो होस् भनेर सरकारले विधेयकमाथि विधेयक ल्याएको ल्यायै छ । सरकारले राम्रो सोचेर ल्याउँछ । तर मानिसहरूले त्यसको ठीक उल्टो बुझ्छन् वा उल्टो अर्थ लगाउँछन् । उदाहरणका लागि, देशमा गालीगलौजको संस्कृति बढेको भन्ठानेर सरकारले हालै सूचना प्रविधि विधेयक संसद्मा पेश गर्यो । तर पत्रकारहरू यसको विरोधमा जताततै हारगुहार गरिरहेका छन् । विधेयक कति राम्रो छ भन्ने धेरै पत्रकारलाई थाहै छैन जस्तो छ । शायद उनीहरूले विधेयक राम्रोसँग पढेकै छैनन् । जस्तै, विधेयकमा कसैलाई पिटेमा भन्दा गाली गरेमा धेरै जरीवाना गर्ने प्रावधान छ । सरकारले सीधै ‘कसैले तिमीलाई सामाजिक सञ्जालमा गाली गर्यो भने सीधै चुटे हुन्छ, जरीवाना कम पर्छ’ भन्न खोजेको हो । यत्ति कुरा पनि नबुझ्ने के
पत्रकार ?
वास्तवमा यो सूचना प्रविधि ऐन नल्याई नहुने कुरा हो । किनभने उता अमेरिकामा पनि ट्रम्पलाई ‘फेक न्यूज’हरूले दुःख दिएका कारण सामाजिक सञ्जाललाई नै ठीक पार्नुपर्छ भनिरहेकै छन् । नेपालमा पनि अहिले मूलधारका मिडिया भनेकै सामाजिक सञ्जाल नै त हुन्, कमसेकम दुई तिहाईको सरकारलाई यस्तै लाग्छ । अब मानिसहरू दुई तिहाईको सरकारले पेल्यो भन्छन् । अनि कल्ले पेल्छ त? अल्पमतले पेल्ने हो त ? पेल्ने नै दुई तिहाई भएपछि हो । यति सानो कुरा त बुझ्नैपर्ने हो । प्रधानमन्त्रीले पटक–पटक भन्ने गर्नुभएको छ, ‘गणतन्त्र र गरीबी सँगसँगै जान सक्तैन’ भनेर । यसको मतलब अब देशमा गरीबी रहिरहे पनि गणतन्त्र चैं रातो बग्गीमा जसरी पनि अगाडि नै बढिरहन्छ !