हिजोआज व्यंग्य लेख्ने विषय नै रहेन । किनकि समाजमा, सदनमा, सरकारमा, बाटोमा, अस्पतालमा, विश्वविद्यालयमा वा मदिरालयमा जताततै व्यंग्य नै व्यंग्य देखिन थाले । जहाँसुकै देखिने भएपछि लेखिरहनै किन पर्यो र ? त्यसैले होला व्यंग्यकार पनि करीब करीब विलुप्त भएको स्थिति छ यतिबेला । कि त सूचना प्रविधि विधेयक पास भइहाल्छ भनेर डराएर व्यंग्यकारहरू बेलैमा गायव भएका हुन् ? वा मुटु दह्रो नभएकाले व्यंग्य ठोक्न नसकेका हुन् ? अथवा लेखेर क्यै परिवर्तन नआउने देखेर लेख्नै छाडेका हुन्, थाहा भएन । तर व्यंग्य मात्र होइन यत्र, तत्र, सर्वत्र समाचारै समाचारको बाढीबीच पनि खास समाचारको चाहिँ खडेरी नै देखिएको जस्तो छ । त्यै भएर होला स्वयं प्रधानमन्त्रीले मुटु भएका सम्पादक, खास समाचर लेख्ने लेखाउने भएनन् देशमा भनेर ठाडै भन्नु परेको ।
यतिबेला सबैतिर कामचलाउ लेखकहरू, कामचलाउ विषयमा, कामचलाउ व्यंग्य वा लेख लेखेर, कामचलाउ मिडियामा प्रकाशन गराएर, कामचलाउ पारिश्रमिकमा चित्त बुझाइरहेका छन् । केही लेखक घोस्ट राइटिङका भूतका पछि दौडिएका पनि छन् ।
मैले सफल बन्न के मात्र गरिनँ ? नेताका इशारामा बन्दुक बोकेँ, आफ्नै छिमेकीका सन्दकु फोडेँ । दिनदुःखीसँगै बसेर उनीहरूकै खोसेर पनि खाएँ, क्रान्तिका गीत गाएँ ।
यहाँ प्रत्येक व्यक्ति आफू राम्रो र सफल । बाँकी दुनियाँ नराम्रो, असफल, गलत, निकम्मा सावित गर्न सदा तम्तयार देखिन्छन् । सफल–असफलको प्रसंग आएपछि ‘प्रत्येक सफल व्यक्तिको सफलताको पछाडि एक महिलाको हात हुन्छ’ भन्ने भनाइ सम्झिनै पर्यो । तर हिजोआज ठूला ठूला व्यक्तिको असफलताको पछाडि चैं एक हैन २–४ ओटै महिलाको हात रहेछ भन्नुपर्ने हो कि जस्तो पो देखिँदै छ । जस्तै, कतिपय ठूला पदमा बसेकाहरू महिलाकै कारण एकाएक तल ओर्लनु पर्यो । कतिपय महिला मन्त्री भए, राजदूत भए । तर आफूलाई सफल ठान्ने ठूला भनिएका कति नेता अहिले कतिपय ती महिला मन्त्री र राजदूतकै कारण बदनाम भैरहेका छन् र दिनप्रतिदिन अलोकप्रिय र असफल भइरहेका छन् भनिन्छ । तर यता मेरा असफलताका सम्पूर्ण जिम्मेवारी भने म आफै लिन्छु है !
शुरूमा जागीर खाने प्रयास गरेको, कुनै कम्पनीले पत्याएनन् । किनकि लब्धांकपत्रमा सबै नम्बरहरू निम्नमध्यम कोटीका थिए । आफू कक्षाकोठामा सधैं बाल्कोनी सीटमा बस्न मन पराउने जो परियो । एक त यसै सरकारी विद्यालय, त्यसमा पनि उक्साउने विद्यार्थी युनियनका दोस्तहरू छँदै थिए । विद्यालयमा सफल हुने कुरै थिएन । अनि लागेँ व्यावसायिक कृषि कर्मतिर । तर कृषिको अनुदानजति सबै टाठाबाठाले चप्काउँदा रैछन् आफू त हेरेको हेर्यै भइयो । खेत बाँझै छाडेर त्यसपछि लागियो खेलकुदतिर । तर अंक र स्कोरको खेल भन्दा त्यहाँ पनि राजनीतिकै खेल बढी चल्ने । केही नलागेर चलचित्रमा हिरो बन्न हिँडियो । तर हिरोको चिया बनाउने रोल समेत नपाएपछि त्यस क्षेत्रबाट पनि जीरो भएर फर्किइयो । झोँक चलेपछि दुई–चार साथीभाइलाई उक्साएर लागियो आफै फिल्म निर्माता बन्न । यसो देशी विदेशी कथा सारेर जसोतसो कतै आफै हिरो बनेको फिल्म त बन्यो । तर फिल्म बनेपछि हल पाउन गाह्रो, हल पाए पनि दर्शक पाउन गाह्रो अर्थात् फिल्म चल्नै साह्रो भो । अनि त के ! फिल्म बनाएर रातारात करोडपति बन्छु भनेको त आफूलगायत साथीभाइ समेतलाई रोडपति बनाइयो ।
यसरी भएन भनेर विज्ञापन एजेन्सी चलाउन थालियो । तर भयो यस्तो कि आफूले बनाएका विज्ञापनका कारण उल्टो त्यस ब्रान्डको विक्री नै झन् घट्दै गयो । त्यसपछि टीभीमा कार्यक्रम चलाउन थालेँ र तमाम विकृति विरुद्ध बोल्न थालेँ, डनहरूलाई उडाएँ । तर डनहरूले नै मलाई संस्थाबाटै उछिट्याइदिए । लौ, यो पाराले पनि काम चलेन भनेर ‘स्यान्डअप कमेडी शो’ शुरू गरेँ । तर यस्तो कमेडी गरिएछ कि, दर्शकहरूले कुहिएका गोलभेँडा र अण्डाले पो स्वागत गर्न थाले ।
अब के गर्ने त भन्ने भइराबेला समाजसेवामा पो लाग्नुपर्यो भनेर शुरू के गर्याथेँ । सेवा होइन, एनजीओले दिने गरेजस्तो सीधै पैसै चाहियो भनेर मानिसहरूले मेरो कुरै सुन्न नचाहेपछि त्यो पनि काम लागेन । केही शीप नचलेपछि विदेश भासिन पर्यो भनेको दलाललाई फ्री भिसाको पैसा तिर्न नसक्दा २–४ वर्ष यसै बित्यो । बल्ल बल्ल बाउको लगौंटी जस्तो बाँकी भएको अलिकति पैतृक सम्पत्ति पनि बेचेर विदेश त गइयो । तर गलत कम्पनी परेर झन्डै कफिन बक्साभित्र फर्कनु परेको । मुश्किलले बाँचेर ‘स्वदेश’ फर्किइयो, एनआरएनको बिल्ला भिरेर । दुई–चार दिन त विदेशमा साथीहरूले किन्दिएको नयाँ लुगा र २–४ पैसा हुन्जेल साथीभाइ आउँथे । नयाँ ‘स्टार्टअप’ कम्पनी खोल्ने कुरा गर्थे । पैसो सकिएपछि ती पनि सबै हराए ।
यहाँसम्म कि परिस्थिति मिलेपछि बिहे गर्ने भनेर ‘लिभिङ टुगेदर’मा रहेकी गर्लफ्रेन्डले पनि मलाई छाडेर अर्कै एनारेनसँग गइछ । यहाँ पनि म मुनाको मदन वा राधाको कृष्ण बन्न असफल रहेँ ।
मैले सफल बन्न के मात्र गरिनँ ? नेताका इशारामा बन्दुक बोकेँ, आफ्नै छिमेकीका सन्दुक फोडेँ । दिनदुःखीसँगै बसेर उनीहरूकै खोसेर पनि खाएँ, क्रान्तिका गीत गाएँ । म डाक्टर, इन्जिनीयर, सीए, वकिल वा सरकारी अफिसर त बन्न सक्ने कुरै थिएन । बाँकी म एक सफल छोरा, पति वा बाउ पनि बन्न सकिनँ । मेरो असफलताहरूको सूची लामै छ । तर मैले हार खाइसकेको छैन । दुःखको गीत पनि गाएको छैन है ! अब मेरो एउटै आशाको व्यापार भनेको राजनीतिमा लाग्ने र नेता बन्ने हो ।
किनकि नेपालमा नेतालाई कानून लाग्दैन रे । अख्तियार पनि लाग्दैन । जताततै नेताकै स्वर ठूलो हुन्छ । नेताहरू मिलेर जे निर्णय गरे पनि त्यो कानून बन्छ, नभए पनि त्यसलाई कसैले काट्न सक्तैन । जस्तै, क्याबिनेटले गरेको निर्णयमाथि कसैले पनि प्रश्न समेत गर्न पाउँदैन रे, अख्तियार र मिडियाले पनि । सुशासन अरू सबैले पालना गर्नुपर्छ, तर नेताले पर्दैन । नेताका नजिक पुग्न देशका ठूला पदधारीहरू, ठेकेदारदेखि सबै मन्दिर जानुको सट्टा बिहानै नेताकहाँ आइपुग्छन्, सयौं किलोका सयपत्री माला र ब्रिफकेस लिएर । यहाँसम्म कि धर्मगुरुहरू समेत नेताकै पछि लाग्छन् । नेता नीति, नियम, कानून र संविधानभन्दा पनि माथि हुन्छ । त्यसैले देशमा सबैभन्दा सुरक्षित पेशा अहिले नेतागिरी देखिएकाले म त्यतैतिर लागेँ अब । अब त कसो सफलता हात नपर्ला र हँ ?