देशमा बेला बेलामा विभिन्न खाले लहर चल्छन् । कहिले समृद्धिको लहर, कहिले पानीजहाजको लहर, कहिले लगानी सम्मेलनको लहर, कहिले शीतलहर, कहिले शपथ खाने र खुवाउने लहर ।
शपथ पक्कै स्वादिलो हुन्छ होला । त्यही भएर यो खानका लागि धेरै मानिस मरिहत्ते गर्छन् । आफ्ना सारा नीति, नियम र आदर्शलाई तिलाञ्जली दिएर भए पनि शपथ खान पाएपछि अरू सबै कुरा छाडिदिन्छन् । यसैले त होला संसारमा जति लडाइँ भएका छन्, तीमध्ये धेरैजसो शपथ खानकै लागि भएका छन् । हिजोआज शपथ खान पाउन विगतमा जस्तो धरै मेहनत पनि गरिरहन पर्दैन । राजनीतिक दलका वरिपरि झुम्ने र नेताका बातैपिच्छे वाह ! वाह ! भनिरहने क्षमता भए पुग्छ । पैले शपथ धर्म वा भगवान्का नाममा खान्थे । अहिले त क्रान्तिकारीका नाममा । समय कति छिटो बदलिएछ ।
शपथ खाने मेसोमा पछिल्लो समय पत्रकारपछि टिपर चालकहरूले खाने र ट्राफिक प्रहरीले खुवाउने उपक्रम चलेछ । यसले दुर्घटना घटाउने अचुक वाणको काम गर्छ भन्ने विश्वास छ रे । वास्तवमा यो टिपर शपथ ग्रहण कार्यक्रम भ्रमण वर्ष २०२० लाई सफल बनाउन ल्याइएको रहेछ । किनकि भ्रमण वर्षलाई सफल बनाउन सरकारलाई आइडिया फुरिरहेको थिएन । कसो कसो एक अमेरिकी नागरिक कोबोल्ड भन्नेले नेपाल ‘इन्क्रिडिबल’ छ भन्ने कुरा विदेशतिर देखाउने भनेर यो आइडिया पर्यटन बोर्ड मार्फत सरकारलाई रू. १ करोडमा बेचेको रहेछ । यो अर्कै कुरा हो कि पैसा हात पर्नासाथ ऊ अन्तध्र्यान भएछ । मान्छे साँच्चे ‘बोल्ड’ नै रहेछ ।
अब देशमा नयाँ पर्यटन प्रडक्टका रूपमा ‘टिपर सफारी’ भन्ने शुरू हुने भो । यो आफैमा ‘युनिक’ छ । पर्यटकलाई यस्तो सफारीको प्याकेज दुनियाँमा कुनै देशले ल्याउन सकेको छैन । आखिर हाम्रा शहरहरू पनि त टिपर कुद्ने खालकै छन् नि !
अब देशमा नयाँ पर्यटन प्रडक्टका रूपमा ‘टिपर सफारी’ भन्ने शुरू हुने भो । यो आफैमा ‘युनिक’ छ । पर्यटकलाई यस्तो सफारीको प्याकेज दुनियाँमा कुनै देशले ल्याउन सकेको छैन । आखिर हाम्रा शहरहरू पनि त टिपर कुद्ने खालकै छन् नि ! हुन पनि टिपर महान् छन् । टिपरबाट जीवनको मुक्तिमार्ग पनि भेटिन्छ । टिपर हाम्रो माटोमा राम्रैसँग चलेको छ, रातिराति बाटोभर गतिलै फलेको छ । यो टोलटोलमा फैलिएको छ, डाँडाकाँडा उक्लिएको छ, विकास बोकेर हाम्रा खोला खोलामा दौडिएको दौडियै छ ।
दिउँसो सडकमा बन्देज नलगाउने हो भने टिपरले थुपै्र विकास र अरू धेरै मानिसको निकास पनि गर्छ जस्तो छ । दिउँसो सडकमा बन्देज नलगाउने हो भने टिपरले थुपै्र विकास र अरू धेरै मानिसको निकास पनि गर्छ जस्तो छ । त्यसैले टिपर कसैका लागि डर र आतंक त कसैका लागि जीवनभरका लागि कलंक बनेको छ । तर टिपर कसैका लागि जीवन जीउने बाटो बनेको छ । अर्थात् टिपर कसैका लागि मरण, कसैका लागि भरण र पोषणको माध्यम पनि बनेको छ । कतिपय अवस्थामा बाटोबाटोमा ड्राइभर र ट्राफिकहरूबीच टिपरले फाटो ल्याएको छ । तर धेरै अवस्थामा उनीहरूका लागि यसले आम्दानीका लागि नयाँ बाटो पनि खोलिदिएको छ । त्यसैले मान्नैपर्छ यो टिपर शपथ आफैमा एक अद्भूत काम हो, भ्रमण वर्ष २०२० लाई पूर्ण सफल बनाउन ।
शपथ खुवाएरै भए पनि पर्यटन वर्ष २०२० लाई सफल बनाउने भनेर नियुक्ति पाएलगत्तै पर्यटनमन्त्री योगेश भट्टराईले भनेका थिए । उनले तारे होटलस्थित एक कार्यक्रममा भ्रमण वर्षलाई भव्य बनाउन २० हजार पर्यटन व्यवसायी र प्रधानमन्त्री लगायत सबैलाई टुँडिखेल बोलाएर शपथ खुवाउने भनेका थिए । सबैमा को को पर्छन् र उनले त्यस्तो शपथ ख्वाए कि ख्वाएनन् वा खानेले खाए कि खाएनन् भन्ने त थाहा पाइएको छैन । वा टुँडिखेलको सट्टा प्रमलाई प्रम निवास र अरू सबैलाई पार्टी प्यालेसतिर कतै लगेर पो केही ख्वाए कि ? त्यो पनि जानकारीमा आएको छैन । शपथ मात्र होइन, सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राखेर समेत मान्छेहरूलाई पर्यटन पथमा ल्याउने पनि मन्त्रीले भनेका थिए । यो शपथ खाने खुवाउने तीव्र क्रम पछिल्लो समय त्यहीँबाट शुरू भएको हो, जुन अहिले टिपरसम्म पुगेको छ ।
जे होस्, भ्रमण वर्षलाई जसरी पनि सफल बनाउन पर्यटनमन्त्रीले पनि शपथ खाने खुवाउने काइदालाई काइदासँग समातेकै हुन् । त्यसपछि विमानस्थलमा लाखौं मान्छे उतार्ने पनि भनेका हुन् । हुन पनि त्यस भनाइपछि अहिलेसम्म त लाखौं मान्छे विमानस्थलमा यसै पनि आफै उत्रिइसकेकै छन् । उनले निजगढमा बन्ने भनिएको विमानस्थलको शिलान्यास गर्न १० लाख सर्वसाधारण उतार्ने पनि भनेका थिए । ती १० लाखलाई पनि पर्यटकमा गणना गरेर भ्रमण वर्षमा २० लाख पर्यटक पुर्याउने भनेका हुन् वा यो १० लाख चैं अतिरिक्त पर्यटकमा गणना गरिने हुन् भ्रमण वर्षको अन्त्यमा थाहा होला नै । अर्को कुरा, बन्ने विमानस्थल हेर्न उत्रेका सर्वसाधारणलाई समेत उनले शपथ मात्र खुवाएर पठाउँछन् कि अर्थोक पनि, त्यो चैं त्यही बेला थाहा होला । तर यति भएपछि भ्रमण वर्ष २०२० असफल हुनुपर्ने कुनै कारण चैं बाँकी रहेन है !