एकादेशका प्रधानमन्त्री एकपटक स्वर्ग पुगेछन् । जिउँदै स्वर्ग कस्तो रहेछ भनेर हेर्न मन लागेर स्वर्गको ढोका ढकढक्याएछन् । निकै बेरपछि बल्ल पालेले ढोका खोलेछ र सोधेछ, ‘तिमी को हौ र यहाँ किन आयौ ?’
एकादेशका प्रमले भनेछन्, ‘मैले देशमा धेरै राम्रो काम गरिरहेकाले भोलि पर्सि यतै आउन पाउँछु होला । आउनुअघि ठाम हेरेर जाम भनेर आएको ।’
यो कुरा सुनेर स्वर्गको पालेले भनेछ, ‘तिमी कहाँबाट आएका हौं ?’
प्रमले भनेछन्, ‘म त पृथ्वीबाट आएको ।’
पालेले सोधेछ, ‘ब्रह्माण्डमा अनन्त ग्रह छन्, अनि पृथ्वी छन् । तिमी कुन चैं पृथ्वीबाट आएका हौ ?’
प्रमले भनेछन्, ‘म त्यै पृथ्वी, जहाँ अहिले ट्रम्प, सी चीन फिङ र मोदी जस्ता शासकहरूले देश हाँकिरहेका छन् । विश्व हाँकिरहेका छन् ।’
‘तिमी त बिरामीजस्तो पो देखिन्छौ त । तैपनि ल भन, तिमी चाहिँ कुन देश हाँकिरहेका छौ त ?’ पालेले सोधेछ ।
प्रमले भनेछन्, ‘म पृथ्वीकै अग्लो हिउँ नै हिउँको ढिस्को भएको एक भूपरिवेष्टित देश हाँकिरहेको छु ।’
पालेले भनेछ, ‘यहाँबाट तिम्रो पृथ्वी नै यति सानो थोप्लो मात्र देखिन्छ कि दुरबिन लगाएर हेर्दा पनि तिमीले भनेको पृथ्वीको अग्लो ठाउँ देखिँदैन । यहाँबाट त सबै सम्म देखिन्छ त !’
प्रमले फेरि भनेछन्, ‘म त्यो देशबाट आएको हुँ, जहाँ ठूला ठूला ऋषिमुनिहरूले जप, तप र ध्यान गर्थे । यस्तो देश जुन पृथ्वीभरिमा स्वर्ग जस्तो हो । त्यहाँ हिमाल छन्, पहाड छन् । हजारौं नदीनाला छन् । अति राम्रो हावापानी, वातावरण, खनिज, जडीबुटी आदिले भरिएको छ मेरो देश ।’
तर स्वर्गमा त वास्तविक हिसाब किताब हुन्छ । जनतालाई गफ दिएजस्तो स्वर्गमा त चल्दैन । के भन्ने के नभन्ने भएछन् । घण्टौं बितेछ । तैपनि केही भन्नै सकेनछन् । त्यसपछि स्वर्गको पालेलाई पनि दिक्क लागेछ र भित्रबाट ढोका ड्याम्म लगाइदिएछ ।
यो सुनेर पालेले फेरि भनेछ, ‘यसो गर न मनुवा, प्रकृतिले बनाएका कुरा होइनन्, तिमीले शासकका रूपमा गर्व गर्न लायक गरेका काम, मानव हितका लागि, तिमीले शासन गरेका जनताका लागि गरेका एकदमै राम्रा १० कामको विवरण बताऊ । तिमी कति सहिष्णु र उदार मुटु भएका शासक रहेछौ थाहा पाऊँ, ता कि तिमीलाई स्वर्गको ढोकाभित्र अनुमति दिन म चित्रगुप्तलाई सिफारिश गर्न सकूँ ।’
एकादेशका प्रम एकछिन वाल्ल परेछन् । आफूले जनताका लागि गरेका राम्रो काम सम्झन खोजेछन् । आफ्नो मन्त्रीमण्डल हेरेछन् । देशलाई राम्रो नेतृत्व दिइरहेका कुनै निकाय सम्झन खोजेछन् । त्यस्तो केही पाएनछन् । स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार आदि क्षेत्रमा कुनै राम्रा काम भइरहेको सम्झन खोजेछन् । अहँ सकेनछन् । वैदेशिक लगानी लगायत देश र जनताका खातिर साँच्चै दूरगामी र सकारात्मक कुनै काम सम्झन खोजेछन् । सकेनछन् । नसकेपछि अक्क न बक्क भएछन् ।
त्यतिबेला एकादेशका प्रमलाई दुई–चार कुरा, जस्तै– रेल, पानीजहाज, ग्यास आदि भनौं कि जस्तो लागेछ । तर सोचेछन्, एक त पाँचओटा पनि भन्न मिल्ने काम गरेको छैन । फेरि ती कुराहरू पनि राजनीतिमा जनतालाई झुक्याउन, प्रतिपक्षीलाई छक्याउन पो भनिएका थिए । तर स्वर्गमा त वास्तविक हिसाब किताब हुन्छ । जनतालाई गफ दिएजस्तो स्वर्गमा त चल्दैन । के भन्ने के नभन्ने भएछन् । घण्टौं बितेछ । तैपनि केही भन्नै सकेनछन् । त्यसपछि स्वर्गको पालेलाई पनि दिक्क लागेछ र भित्रबाट ढोका ड्याम्म लगाइदिएछ । स्वर्गको ढोका बन्द हुँदा ठूलो आवाज आएछ । यता, प्रमको निद्रा खुलेछ । उनले बल्ल थाहा पाएछन् कि उनी त सपनामा पो रहेछन् ।
दिउँसो संसद्मा बोल्ने कार्यक्रम थियो उनको । उठेर उनी त्यतै लागेछन् । उनले त्यहाँ भाषण गरे । भाषणमा उनले अब फेरि त्यस्तै सपना देखिए के भन्ने विचार गरेर केही ठूल्ठूला कुरा गरे । किनकि बिउँझै देखिए पनि उनको सपना पूरै टुटिसकेको थिएन । सपना देख्न छाडेका थिएनन् ।