ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भरतपुर विमानस्थलमा  यात्रुको चाप घट्दै

२०७६ फागुन, २९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । कोराना भाइरसको प्रत्यक्ष असर आन्तरिक उडानमा समेत देखा पर्न थालेको छ । विगतका वर्षमा पर्यटकीय सिजनमा अत्यधिक यात्रुको चाप हुने गरे पनि यस वर्ष हवाई यात्रुको चाप आधाभन्दा बढीले घटेको भरतपुर विमानस्थल कार्यालयले बताएको छ ।

कोरोनाकै कारण सरकारले घोषणा गरेको भ्रमण वर्ष स्थगित हुनु, अन्तरराष्ट्रिय उडान कटौती हुनु, सिजनमा पर्यटकको चहलपहल कम हुनु लगायतले हवाई क्षेत्रमा असर परेको बताइएको छ । 

भरतपुर विमानस्थलमा पनि दैनिक रूपमा यात्रुको चाप कम हुँदै गएको कार्यालयले जानकारी दिएको छ । यति एयरलाइन्स, भरतपुरका प्रबन्धक अनुप ढकाल अन्तरराष्ट्रिय रूपमै कोरोना भाइरसका कारण उडान गतिविधि कम भएसँगै यसको असर आन्तिरक उडानमा समेत परेको बताउँछन् ।

‘यति बेला विदेशी पर्यटकको चाप अध्यधिक हुने बेला हो,’ उनले भने, ‘अहिले नेपाली यात्रु पनि घटेका छन् ।’ यात्रु घटेसँगै उडान कटौती गर्न शुरू गरिएको उनले बताए । उनका अनुसार यसको असर तुरुन्तै देखा नपरे पनि दीर्घकालीन रूपमा देखा पर्नेछ । यात्रु पर्याप्त नभएपछि यति एयरलाइन्सले भरतपुर–पोखरा–भरतपुर उडान यसअघि नै स्थगित गरिसकेको छ । 

बुद्ध एयर, भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले यात्रुको चाप क्रमशः घट्दै गएको बताए । ‘अहिलेसम्म त उडान कटौती त गर्नुपरेको छैन । कहिलेकाँही भने मर्ज गरेर चलाउने गर्छाैं,’ उनले भने, ‘यात्रुको चाप हेरेर उडान संख्या घट्न सक्छ ।’ यात्रुको चापअनुसार हाल दैनिक चार÷पाँचओटा उडान हुँदै आए पनि अब भने यात्रुको चाप हेरेर उडान थपघट हुने उनको भनाइ छ । 

यात्रु घट्दै गए पनि उडान भने कम नभएको दाबी गर्छन् विमानास्थलका प्रमुख पवनकुमार गौतम । ‘यात्रुको चाप त कम हँुदै गएको छ,’ उनले भने, ‘फ्लाइट मुभमेन्ट भने हालसम्म कम भएको छैन ।’ विदेशी यात्रु कम हुनु, राष्ट्रिय तथा स्थानीय स्तरका सभासम्मेलन लगायतका कार्यक्रम स्थगित हुनु हवाई यात्रुको संख्यामा कमी आउनुको प्रमुख कारण भएको उनको भनाइ छ । यसको प्रत्यक्ष असर हवाई क्षेत्रमा परेकोे उनले बताए । 

कोरानाका कारण पर्यटन क्षेत्रसँग सम्बद्ध हवाई उडानमा सबैभन्दा बढी असर परेको पर्यटनविद् विश्व सुवेदीले बताए । ‘सबैभन्दा संवेदनशील विषय नै स्वास्थ्य रह्यो,’ उनले भने, ‘सरकारले अत्यावश्यक कामबाहेक भीडभाड क्षेत्रमा नजानु भनेका कारण यो क्षेत्रमा प्रत्यक्ष असर परेको हो ।’ 

भरतपुर विमानास्थलका अनुसार जनवरीमा कुल ५५४ पटक उडान अवतरण भएको थियो भने फेब्रुअरीमा यो घटेर ४९८ पटक उडान अवतरण भएको थियो । मार्चमा यो संख्या झन् घट्दै गएको विमानस्थलको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)