ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनओसी स्थगितपछि विद्यार्थी मारमा 

२०७६ फागुन, ३०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । पछिल्लो समय कोरोना भाइरसको संक्रमणको जोखिमका कारण सरकारले एनओसी (नो अब्जेक्शन लेटर) स्थगित गरेपछि विदेश पढ्न जाने विद्यार्थी र परामर्शदाता मारमा परेका छन् । कतिपय विद्यार्थीको भिषा प्राप्त भए पनि पढ्न जान नपाउनु र सीओई आएपछि पनि एनओसी नपाएका कारण उनीहरू मारमा परेका छन् । यसका कारण परामर्शदाता चिन्तामा छन् भने हजारौं विद्यार्थीको भविष्य अन्योलमा परेको छ । 

चितवनका सबै परामर्श संस्थामा पनि विद्यार्थीको उपस्थिति न्यून भएको शैक्षिक परामर्श संघ चितवनले बताएको छ । ‘शिक्षा मन्त्रालयले एनओसी स्थगित गरेपछि हामी थप आर्थिक भारमा परेका छौं, विद्यार्थीको भविष्यसमेत अन्योल भएको छ ।’ इकयान (शैक्षिक परामर्श संघ) का केन्द्रीय सदस्य वाईबी पौडेलले भने । एनओसी लेटर नपाएपछि कलेज तथा युनिभर्सिटीको इनटेक सार्न लगाएको उनले बताए । कतिपय विद्यार्थीको अग्रिम भर्ना शुल्क र कलेज शुल्क तिरिसकेका विद्यार्थीहरू थप चिन्तामा रहेको उनको भनाइ छ ।

स्वास्थ्य जोखिमको कारण सरकारले अपनाएको सतर्कता सकारात्मक भए पनि यसले दुवैपक्षलाई दीर्घकालीन असर पर्ने डिलाइट एजुकेशन कन्सल्ट्यान्सीका सञ्चालक सुजन थापा क्षत्री बताउंँछन् । ‘हामी व्यवसायीलाई त मार पर्ने नै भयो,’ उनले भने, ‘तर, विद्यार्थी झन दोहोरो तेहेरो मारमा परेका छन् ।’ उनका अनुसार कलेज तथा युनिभर्सिटीलाई बुझाउनुपर्ने एवम् देखाउनुपर्ने रकमको निक्षेपको ब्याजका कारण विद्यार्थी थप मारमा परेका हुन् । विद्यार्थीको भविष्य अन्योल भएसंँगै व्यवसायी समेत अप्ठ्यारो अवस्थामा पुगेका छन । अधिकांश संस्थामा तयारी भाषा कक्षासमेत स्थगित गरिएको छ । काम नै नभएपछि हाल सबै संस्थाका सञ्चालक, परामर्शदाता, कर्मचारी, प्रशिक्षक समेत फुर्सदिला भएका छन् । एनओसी स्थगित भएका कारण अफर लेटर मगाउनेबाहेक अन्य प्रोशेसिङका काम स्थगित भएको ग्लोबल रिच कन्सल्ट्यान्सीका क्षेत्रीय प्रबन्धक सुरेश पौडेलले बताए । ‘अस्टे«लिया भिषा प्राप्त गरेका, जाने प्रक्रियामा रहेका, भाषा तयारी गरिरहेका विद्यार्थी र उनीहरूका अभिभावक समेत चिन्तामा रहेका छन्,’ उनले भने । कोरोनाका कारण विश्वलाई नोक्सान पुगिरहेको बेला वैदेशिक अध्ययन क्षेत्रमा पनि यसको असर देखा पर्नु स्वाभाविक रहेको उनको भनाइ छ । शैक्षिक परामर्शदाताले नियमित तालिकाअनुसार गरिँदै आएका शैक्षिक मेला, सेमिनारका कार्यक्रम समेत रद्द गरेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)