ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फागु र फुंग उडेको अर्थतन्त्र

२०७६ फागुन, ३०  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

यो वर्षको रङको पर्व फागुपूर्णिमा (होली) सकियो । तर राजनीतिको होली भने प्रधानमन्त्री ओली अस्पताल छाडेर सक्रिय हुन थालेपछि मात्र शुरू होला जस्तो छ ।

यसपटक सरकारले धेरै मानिस एकैठाम जम्मा भएर फागु नखेल्न उर्दी जारी गरेको थियो । सरकारसँग डराएर होला, नभन्दै धेरै मानिसले होली खासै खेलेनन् । हुन त सरकारको आज्ञाकारी भएरै होली नखेलेका त पक्कै होइनन् होला । किनकि हिजोआज भगवान्ले भन्या त नसुन्ने जमानामा सरकारले भन्दैमा मात्र के मान्थे होला र ? वास्तवमा वर्षमा ३६४ दिन नै दुःखी, रंग उडेको, उदास हुनुपर्ने अवस्था छ देशमा । नेताहरूको ताल र अर्थतन्त्रको बेहाल हिसाब हेर्दा पूरै वर्ष देशको जिन्दगी एक प्रकारको मुर्दाजस्तो छ । त्यसैले वर्षमा जाबो एक दिन होली खेलेर यसै बिग्रेको मुड थप किन बिगार्नु ? अचानक एक दिन होलीमा मात्र उम्लिएर नाचेर के गर्नु ? त्यसमा न जीवन्तता हुन्छ, न उमंग नै । त्यै भएर नै धेरै नेपालीले यसपाला होली नखेलेका हुन् कि ?

सरकारलाई भने कोरोना एउटा भरपर्दो भर भएको छ, आफ्ना अक्षमताहरू लुकाउनका लागि । किनकि यस आवको पहिलो ६ महीनाको आर्थिक सूचकांकहरूले नै देशको अर्थतन्त्रको सुई गलत बाटोमा गइसकेको देखाइसकेकै थिए ।

भलै म कुनै परदोषदर्शी (सिनीकल) होइन । तर खासमा सत्ताका हाम्रा महानायक जसरी देशमा होली खेलिरहेका छन्, त्यसमा कुनै उत्सवको सुगन्ध होइन कि गाली गलौज, निन्दाको दुर्गन्ध धेरै छ । रङ फेरेको र रङ फ्याँकेकोसम्म त ठीकै थियो । तर हिजोआज राजनीतिमा नालीको फोहोर पानी मिसाएरै होली खेलिन थालेको छ । यसले के देखिन्छ भने होलीको उत्सव एक उत्सव नभै झगडा र फोहोर फ्याँकाफ्याँक गर्ने अवसर जस्तो पो देखिन्छ । त्यसको नराम्रो असर देशको समग्र अर्थतन्त्र र जनजीविकामा परिरहेको छ । अनि वर्षभरि लोडशेडिङको अँधेरो र १ दिन मात्र बत्ती बालेजस्तोगरी एकदिने होली उत्सव किन मनाइरहनु भनेर सर्वसाधारणमा होलीप्रति वितृष्णा जागेको स्पष्ट देखिन्छ ।

कोरोनाका डरका कारणले नै धेरै मानिसले फागु नखेलेका हुन् भन्ने पनि कतिको बुझाइ छ । हुन पनि कोरोनाहरू पर्यटक बनेर संसार घुम्न थालेपछि मान्छेहरू पर्यटक भएर घुम्न डराए जस्ता छन् । कोरोनाहरू पर्यटक भएर जापान, अमेरिका, यूरोप, अस्टे«लियालगायत विश्वका झन्डै १०० देश पुगिसके । तर हाम्रो देशमा भने कोरोना पर्यटन शुरू भइसकेको खबर आएको छैन । त्यसैले कोरानाको डर त्यति छैन । यहाँ त कोरोनाको डरभन्दा सरकारले जनतालाई पारेको अभरले मानिस चिन्तित बन्दै गएका छन् । 

नेपालको दैनिक उपभोगको आपूर्ति प्रणाली, जुन झन्डै ४० प्रतिशत आयातमा निर्भर छ, कोरोनाको कारण खलबलियो भने के हुन्छ ? त्यस्तै, देशलाई विदेशी मुद्रा पठाउन वैदेशिक रोजगारीमा जाने नेपाली र विदेशबाट पर्यटक भएर डलर ल्याउने विदेशी आउने क्रम थप रोकियो भने के हुन्छ ? भन्ने जस्ता प्रश्न गर्नेहरू धेरै छन् । यसमा के भन्न सकिन्छ भने ‘ढुक्क हुनुस्, कोरोना नसल्किउन्जेल कसैलाई पनि केही हुँदैन ।

केही भइहालेछ भने पनि पाचकका गोलीे खाएर त्यसलाई पचाउनुस् । नभए एक से एक डाक्टरले भनेको सुन्नुस् र गुर्जो, बेसार, कागती, लसुन लगायत घरेलु एक से एक औषधि आआफै सेवन गर्न थाल्नुस् । कोरोना भागिहाल्छ । तपाईं हामी नेपाली कस्ता कस्ता खतरा भाइरस त पचाउने क्षमता राख्छौं, जाबो कोरोना कुन चैं ग्रहको कीरो हो र ? तीँ चाइनाको त हो नि ! त्यसमा पनि संसारभरि कोरोना सल्किए पनि एकजना नेपालीलाई पनि सल्केन क्यारे । किन त ? किनकि नेपालीलाई बचाउने त हिन्दूहरूका देवाधिदेव पशुपतिनाथ अहिलेसम्म त छँदै छन् नि ! त्यै भएर त भारत र नेपालका एकथरी मानिसहरू नेपाललाई पुनः हिन्दूराज्य बनाउनुपर्छ भनेर धोती र लँगौटी कसेर लागेका छन् ।

तर सरकारलाई भने कोरोना एउटा भरपर्दो भर भएको छ, आफ्ना अक्षमताहरू लुकाउनका लागि । किनकि यस आवको पहिलो ६ महीनाको आर्थिक सूचकांकहरूले नै देशको अर्थतन्त्रको सुई गलत बाटोमा गइसकेको देखाइसकेकै थिए । धन्न कोरोनाको कुराले सरकारको भने नाक बचाएको छ, अर्थतन्त्रलाई डामाडोल बनाए पनि । तर स्थिति यस्तो देखिँदै छ कि कोरोना भाइरस लागेर मर्नुअघि अभाव, चिन्ता र भोकमरीले पो नेपालीलाई बिताउला कि जस्तो परिस्थिति बन्दै गएको छ । ‘वनको बाघले नखाए पनि मनको बाघले खाएर’ पो मरिन्छ कि क्या हो हँ !

सरकारले जसरी अहिले हरेक आर्थिक गतिविधिमा बन्देज लगाउने कोसिस गरिरहेको छ, त्यसबाट एउटा कुरा पक्का सिद्ध हुन्छ, त्यो हो नेपालमा कोरोना रोगले संक्रमण होला नहोला तर देशको आर्थिक स्थिति पूरै संक्रमित हुने पक्का छ । सत्तासीन र माथिल्लो वर्गले त देशमा लुटपाट पहिल्यैदेखि चलाइरहेकै थिए, गरीबको सरकारले तल्लो वर्गलाई पनि अब त्यो मौका दिन शुरू गर्ला जस्तो छ । मध्यम वर्ग त यसै सधैं ‘यता न उता, मुलाबारी भित्ता’ भनेझैं अरूको चर्तिकला हेरिबस्ने मात्र हैसियतमा बसिरहेकै छ । 

तर सरकार कोरोना, जनस्वास्थ्य लगायत विविध समस्याबारे पूरै बेखबर र सरोकारविहीन जस्तो छ भन्ठान्नुहुन्छ भने तपाईं गलत हुन सक्नुहुन्छ । किनकि अस्पतालमा बस्दा पनि देशका खातिर गम्भीर चैं हुने सर्खार हो हाम्रो । तर नेपालीहरूलाई केही पाठ पढाउन पनि सर्खारले कोरोनाप्रति अलि बढी एक्टिङ गरेको हुन सक्छ । पहिलो त नेपालीहरूको स्वास्थ्य चेतना अर्थात् ‘हाइजिन सेन्स’ अलि कमजोर भएकाले त्यसलाई बलियो बनाउन ।

सरकारले आतंकित बनाइदिएको कारण त ऐले धेरैले साबुनपानीले हात धुन थालेका छन् । सुत्न जाँदा समेत मास्क लाउन थालेका छन् । हात मिलाउनुको साटो ‘कोरोना नमस्कार’ गर्न थालेका छन् । होटल, रेष्टुराँतिर गएर खाना खानुभन्दा घरभित्रै खान थालेका छन् । घरमै पिउन थालेका छन् । बाहिर पिउन कम भएपछि मापसे कारबाही पनि गर्नुपरेको छैन । बाटोहरू सुनसान बन्दै छन् । बजार बन्दप्रायः छन् । अफिसमा सितिमिति छुट्टी नपाउनेहरूले पनि लामै छुट्टी पाउन थालेका छन् । माइतीघर मण्डलामा मान्छे भेला हुन अहिले रोकिएको छ । 

एउटा सरकारले यति धेरै जनताका हितका खातिर यो भन्दा बढी के गर्नुपर्छ र हँ ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)