ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवर्क्सको परीक्षण शुरु

Mar 16, 2020  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar नवराज शिवाकोटी

चैत ३, दोलखा । बहुचर्चित ४५६ मेवाको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवर्क्सको परीक्षण शुरु गरिएको छ । सोमवारबाट आयोजनाको हेडवर्क्सको परीक्षण  शुरु गरिएको हो ।

सोमवार ९ : ३० बजेबाट जलासयमा पानी जम्मा गर्न शुरु गरिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए । आयोजनाको हेडवर्क्सको परीक्षण अन्तर्गत बाँध, मुहान, गेट र डिसेन्डर बेसिन (बालुवा थिग्राउने पोखरी) मा पानी भरेर परीक्षण गरिने छ ।  

हेडवर्क्सपरीक्षणका लागि तामाकोशी नदीमा एक तिहाई पानी छोडी बाँकी पानी ड्याममा  जम्मा गर्न शुरु गरिएको प्रवक्ता न्यौपानेको भनाई छ । आयोजनाको बाँध २२ मिटर अग्लो तथा ६० मिटर लामो रहेको छ ।

हेडवर्क्सका संरचनाहरुको परीक्षण चैत २२ गतेसम्म जारी रहने छ । हेडवर्क्सका संरचनाको परीक्षणको अवधिमा तामाकोशी नदीमा पानीको सहतह घटबढ भइरहने भएकोले नदी आसपासमा नजान तथा पशुचौपाया नलैजान माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

आयोजनाको कठिन काम मानिएको माथिल्लो तथा तल्लो भर्टिकल साफ्ट (ठाडो सुरुङ) मा पेनस्टक जडान गर्ने काम अहिले चलिरहेको प्रबक्ता न्यौपानेको भनाइ छ । उनका अनुसार सोमवारसम्ममा ३७३ मिटरको तल्लो भर्टिकल साफ्टमा २६० मिटर तथा ३१० मिटरको माथिल्लो भर्टिकल साफ्टमा १४५  मिटर पेनस्टक पाइप जडान सम्पन्न भएको छ । 

पेनस्टक जडानको  क्रम बढ्दै जाँदा पेनस्टक जडानको समयावधि कम लाग्ने तथा कंक्रिटीङको काम पनि तुलनात्मक रुपमा सहज हुने हुनाले जडानको गति बढ्दै जाने न्यौपानेको आशा छ । 

तल्लो भर्टिकल साफ्टमा असार १ गते तथा माथिल्लो भर्टिकल साफ्टमा असार १० गते बाट पेनस्टक जडान सुरु भएको थियो ।हालकै कामको गति कायम रहेमा बैशाख मसान्त भित्र दुवै भर्टिकल साफ्टमा पेनस्टकको काम सकिने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ । 

भर्टिकल साफ्टको काम सकिएपछि प्लगिन लगाएतका काम र अन्य संरचनाहरुको प्राविधिक परीक्षणको काम सम्पन्न गरी असार मसान्तसम्ममा पावर हाउसमा रहेका  ६ ओटा युनीट मध्ये एक युनिटबाट ७६ मेवा परीक्षणको रुपमा विद्युत् उत्पादन शुरु हुने गरी हाल काम भइरहेको आयोजनाका प्रबक्ता न्यौपानेको दावी छ ।

आयोजनाको माथिल्लो भर्टिकल साफ्टमा भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इञ्जिनीयरिङ तथा तल्लो भर्टिकल साफ्टमा अष्ट्रियन कम्पनी एन्द्रिजले पेनस्टक जडानको काम गरिरहेको छ । 

आयोजनाको पावरहाउस तथा प्रसारणलाईनको काम करीब सम्पन्न भइसकेको छ  । मुख्य सुरुङमा अन्तिम चरणको ढलानको कार्य भइरहेकोछ ।  

रामेछापको फुलासीमा निर्माणाधीन सबस्टेशनको सिभिल संरचनाको काम सम्पन्न हुने अवस्थामा पुगेको छ । सिभिल संरचनाको काम सम्पन्न भएपछि सबस्टेशनमा उपकरण जडानको काम हुने छ । 

आयोजनाका प्रवक्ता न्यौपानेका अनुसार हालसम्म आयोजना निर्माणमा करीब रू.४८ अर्ब खर्च भइसकेको छ । डलरमा भएको मूल्य वृद्धि, ऋणको ब्याज, प्रशासनिक खर्च लगायका कारण आयोजना समाप्त हुँदासम्म आयोजनाको लागत रू.७२ अर्बभन्दा केही बढी हुन सक्ने अनुमान  छ  । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)