ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आपूर्ति प्रणालीको सुव्यवस्थामा ट्रेसेबिलिटी प्रणाली 

आपूर्ति व्यवस्थापनमा सूचनाप्रविधिको अविलम्ब उपयोग

२०७६ चैत, ६  
लेख | दृष्टिकोण
Aarthik Abhiyan 18th Anniversary NA
author avatar कृष्णराज बजगाईं

मुलुकमा संकट आउँदा हरेक पटक आपूर्ति प्रणाली प्रभावित हुने गरेको छ । यस प्रणालीलाई यथावत् ल्याउन सरकारले हरेक पटक ठूलो कसरत गर्नु परिरहेको हुन्छ । यसरी संकटमा र संकटको आभास हुनासाथ आपूर्ति प्रणाली अवरुद्ध हुनुमा पाँचओटा कारण जिम्मेवार छन् । पहिलो, संकटको अवसरको दुरुपयोग गर्ने केही व्यापारीको चलखेल । दोस्रो, उपभोक्ताहरूमा आपूर्ति प्रणालीप्रति व्एप त अविश्वास र त्रासका कारण अधिक सञ्चय गर्ने प्रवृत्ति । तेस्रो, सरकारी संयन्त्रमा गुनासो गर्ने पहल नगर्ने र महँगै भए पनि किनेर राखौं न त गुनासो उजुरीको कसले झन्झट गरिरहन्छ भन्ने उपभोक्ताको झुकाव । चौथों आपूर्ति, माग र विक्रयलाई अनुगमन गर्ने वैज्ञानिक प्रणालीको कमी । पाँचौं आपूर्ति व्यवस्थामा सार्वजनिक संस्थानहरूको न्यून उपस्थिति प्रमुख रूपमा जिम्मेवार रहेका छन् । 

आवश्यकभन्दा बढी किनेको अवस्थामा केन्द्रीय कमान्डबाट लोकेशन पहिचान गरी तुरुन्त फिर्ता गर्ने कानूनी व्यवस्थाहरूका विषय समानान्तर रूपमा युद्धस्तरमा सञ्चालन गरिनु आवश्यक छ । 

यी पाँचओटा कारणले गर्दा हरेकपटक संकट आउँदा र संकटको आभास मात्र हुँदा पनि बजारमा अत्यावश्यक वस्तुको अभाव हुने गर्छ । तसर्थ माथिका पाँचओटा कारण प्रविधिको माध्यमबाट विशेष रूपमा सम्बोधन गर्नु जरुरी छ, ताकि देशको सम्पूर्ण आपूर्ति प्रणालीका प्रत्येक विन्दुमा हुने गतिविधिहरू एउटा केन्द्रीय कमान्डमा एउटा क्लिकको भरमा थाहा पाउन सकियोस् । यसका लागि देहायका व्यवस्था हुन जरुरी छ : 

सर्वप्रथम अत्यावश्यक वस्तुहरूको सूची तयार गरिनुपर्छ । दोस्रो, अत्यावश्यक वस्तुहरूको आपूर्ति र मागको वास्तविक तथ्यांक राखिनुपर्छ । औसत एक परिवारले वार्षिक कति खपत गर्छ सोको एउटा मानक केन्द्रीय तथ्यांक विभाग र नेपाल राष्ट्र बैंकमार्फत तयार गरिनुपर्छ । तेस्रो, सम्बद्ध सरकारी निकाय र वडा कार्यालयहरूमार्फत अत्यावश्यक वस्तु आपूर्ति गर्ने थोक र खुद्रा विक्रेताको सूची पनि तत्काल तयार गरिनुपर्छ । चौथो, ती थोक र खुदा विक्रेताले आपूर्ति गर्ने अत्यावश्यक वस्तुको नियमित क्रेताको सूची पनि सँगसँगै तयार गरिनुपर्छ ताकि आपूर्ति प्रणालीलाई ट्रेस गर्न सकियोस् । 

पाँचौं, अत्यावश्यक वस्तु किन्ने प्रश्नमा अनिवार्य रूपमा स्वदेशी ग्राहक भए परिचय खुल्ने परिचयपत्र नम्बर र विदेशी भए श्रम अनुमतिपत्र नम्बर, पासपोर्ट नम्बर या आधारकार्ड नम्बर अनिवार्य रूपमा उल्लेख गर्ने व्यवस्था गरिनुपर्छ र यसका लागि सम्बद्ध सरकारी निकायले आवश्यक सूचनाहरू तत्काल जारी गर्नुपर्छ । 

छैटौं, देशभरिको अत्यावश्यक वस्तु किनबेच नियन्त्रण गर्न एउटा सफ्टवेयर तयार गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा केन्द्रीय कमान्डको स्थापना गरिनुपर्छ । यसरी स्थापना गरिने सफ्टवेयरमा देशभरिमा अत्यावश्यक वस्तुका थोक तथा खुद्रा विक्रेताले मोबाइल एप मा राख्ने तथ्यांकहरू एकत्रित हुन सकून् । सातौं, केन्द्रीय कमान्डमा रहने सफ्टवेयर विकास र हरेक थोक तथा खुद्रा पसलका लागि आपूर्ति प्रणाली ट्र्याकिङ गर्न मोबाइल एप विकास कार्य एकैचोटि शुरू गर्नुपर्छ । यसका लागि कम्प्युटर प्रविधिमा कार्यरत प्रतिनिधिमूलक संघसंस्थाको सेवा स्वय्मसेवाका रूपमा प्रयोग गर्न सकिन्छ । आठौं, यसरी विकास गरेको मोबाइल एपमा अत्यावश्यक वस्तु किन्नेको परिचयपत्र नम्बर हेरेर विक्री गरेको परिमाण र मूल्यसहित सूचना प्रविष्ट गर्ने कार्यलाई अनिवार्य (म्यान्डेटरी) बनाउने सूचना जारी गर्नुपर्छ । नवौं, ती सबै सूचना वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका स्थापित हुने केन्द्रीय कमान्डमा एकत्रित हुने व्यवस्था गरिनुपर्छ । त्यहाँ रहेको प्राविधिक समूहले कुन समयमा कुन लोकेशनमा कसले कुन वस्तुहरू कति किनेको छ, व्यक्तिसँग कति स्टक छ, खुद्रा पसलेसँग कति स्टक छ र थोक पसलेसँग कति स्टक छ भन्ने कुरा तुरुन्त थाहा पाउँछ । जहाँ अनावश्यक कारोबार भएको छ, अधिक सञ्चय भएको छ त्यो स्थानमा तत्काल कारबाही गर्न प्रणालीलाई सहज हुन्छ । दशौं, उपभोक्ताहरूमा व्याप्त असुरक्षा, भय र त्रासको निराकरण गर्न निजीक्षेत्रले उपलब्ध गराउन नसकेको खण्डमा तोकिएको परिमाणमा सरकारले सहज आपूर्ति प्रणालीको व्यवस्था समानान्तर रूपमा अगाडि बढाउन पनि आवश्यक छ ।  

माथिका यी व्यवस्था गर्न सर्वप्रथम स्थानीय वडा कार्यालयका जनशक्ति र स्थानीय प्रशासनमार्फत अत्यावश्यक वस्तुहरू विक्रीवितरण गर्ने पसलको सूची तयार गर्न लगाउनुपर्छ । केन्द्रीय सफ्टवेयर निर्माण, खुद्रा र थोक विक्रेताहरूका लागि विक्रीको तथ्यांक प्रविष्ट गर्न मोबाइल एप निर्माण तथा पसलका नियमित ग्राहकहरूको सूची तत्काल तयार गर्नु आवश्यक छ । अत्यावश्यक वस्तुहरू किन्दा अनिवार्य रूपमा परिचयपत्रसहित मोबाइल एपमा परिमाण प्रविष्ट गरी मात्र किन्ने र सूचना तुरुन्त प्रवाह गर्ने व्यवस्था हुनुपर्छ । आवश्यकभन्दा बढी किनेको अवस्थामा केन्द्रीय कमान्डबाट लोकेशन पहिचान गरी तुरुन्त फिर्ता गर्ने व्यवस्थाका कानूनी व्यवस्थाहरू गर्नेजस्ता विषयहरू समानान्तर रूपमा युद्धस्तरमा सञ्चालन गरिनु आवश्यक छ । 

देशभरिको अत्यावश्यक वस्तु किनबेच नियन्त्रण गर्न एउटा सफ्टवेयर तयार गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा केन्द्रीय कमान्डको स्थापना गरिनुपर्छ ।

यी व्यवस्था मिलाउन धेरै समय चाहिने देखिँदैन । सबै सरकारी निकाय एकल कमान्डमा यस कार्यमा परिचालन गर्ने हो भने १ हप्तामा यो संयन्त्रको विकास गरी परिचालन गर्न सकिन्छ । यो प्रणाली स्थापना गर्न सक्ने हो भने नेपालमा समय समयमा दोहोरिरहने संकट र संकटको आभास हुँदा समेत देखिने आपूर्ति प्रणालीको व्यवधान समाधान हुने निश्चित छ । सूचना प्रविधिको अधिकतम उपयोग गरी आपूर्ति प्रणालीलाई व्यवस्थित गर्ने यो सबैभन्दा छोटो र उत्तम उपाय हो । यो प्रणालीको स्थापना गरी सञ्चालनमा आउँदा कुन विन्दुमा समस्या आएको छ र समस्यामा को जिम्मेवार रहेको छ भन्ने वर्तमान अन्योल एउटा क्लिकको भरमा समाधान हुने निश्चित छ । 

उपभोक्ताहरूमा गुनासो नगर्ने, गनगन मात्र गरी रहने प्रवृत्तिका कारण पनि समस्या विकाराल हुँदै गएको छ । यस पंक्तिकारको क्षेत्रमा ग्यासको अभाव हुँदा पंक्तिकारले गरेको सानो गुनासो तत्काल सुनुवाइ भएको र यस विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सम्बद्ध पदाधिकारी र नेपाल आयल निगमको सक्रियता साँच्चै नै प्रंशसनीय र उल्लेख्य रहेको थियो । नेपाल आयाल निगमबाट बारम्बार तपाईंको क्षेत्रको ग्यास आपूर्तिको समस्या समाधान भयो कि भएन भनेर जुन अनुगमन भयो र फोनमा सोधनी भयो त्यसले सम्बद्ध निकायहरू आपूर्ति प्रणालीलाई सुचारू र व्यवस्थित बनाउन कटिबद्ध भएको प्रमाणित हुन्छ । यस अवस्थामा आपूर्ति सम्बन्धी समस्याहरूलाई उपभोक्ताहरूले पनि अन्यत्र पोख्नुको साटो सम्बद्ध निकायहरूमा व्यवस्थित रूपमा पुर्‍याउन आवश्यक छ । यो गुनासो पनि वास्तविक हो कि कृत्रिम हो भन्ने विषय पनि उपरोक्त सफ्टवेयरबाट तुरुन्त पत्ता लगाउन सकिन्छ र वास्तविक उपभोक्ताको पीरमर्का तत्काल समाधान गर्न सकिन्छ । 

यसरी कृत्रिम अभाव नियन्त्रणमा वैज्ञानिक र भरपर्दो सूचना प्रविधिको प्रयोग, समस्याको समाधानमा सम्बद्ध निकायहरूमा उपभोक्ताहरूको पहल तथा सरकारी संस्थानहरूलाई अत्यावश्यक वस्तुहरूको आपूर्तिको भरपर्दो विकल्पका रूपमा प्रस्तुत गर्न सक्ने हो भने संकटका बेलामा आपूर्ति व्यवस्थामा आउने समस्याहरू सदाका लागि समाधान हुने निश्चित छ ।

लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् । यहाँ व्यक्त विचारहरू लेखकका निजी हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)