विश्वको सबैभन्दा शक्तिशाली को होला, चीन, अमेरिका, रसिया वा यूरोप ? अहिलेको कुरा गर्ने हो भने विश्वकै सर्वशक्तिमान त केवल कोरोना हो । यो कस्तो अदृश्य कीरो होला, जो यति बेला हिरो भएर विश्वलाई त्राहिमाम् पारिरहेको छ ! यो कस्तो सुपरपावर होला, जसले ट्रम्प, पुटिन, सी चीन फिङ जस्ता शक्तिशाली भनिएकाहरूलाई समेत हावाकावा खेलाउन सफल भइरहेको छ ? यो कस्तो जीव होला जो मृत्युलाई यति सस्तो बनाइरहेको छ ?
प्रदेश सरकाहरूलाई त आनन्दै छ । विगतमा पनि व्यवसाय थिएन, अहिले पनि छैन । कामको कुरै छाडौं कतिपय प्रदेशलाई त नाम र राजधानीको न्वारन गर्नै हम्मे भइरहेको छ । काम किन भएन भनेर सोध्दा संघीय सरकारले सहयोग नगरेर भन्न मिलेकै छ ।
अहिले विश्वमा खाशगरी विकसित देशका सडकहरू सुनसान र भूत शहरमा परिणत भएका छन् ! सामान्य जीवन बाँच्न अरू बेला सामान्य लाग्ने वस्तुहरूका लागि मानिसहरू लडिरहेका छन् । ट्वाइलेट पेपर, स्यानिटाइजर, खाद्यान्नको चाँजोपाँजो मिलाउन संसारका प्रहरी र प्रशासन युद्धस्तरमा लागिपरेका छन् ।
पृथ्वीतलका मानिस अहिले बाँच्नकै लागि एक किसिमले युद्ध लडिरहेका छन् । तर यो युद्ध देश देशबीच वा मानिस मानिसबीच नभै मानिस र प्रकृतिबीचको हो । ‘आफूमात्र बाँच्ने स्वार्थले प्रेरित मानिसले प्रकृतिको अतिदोहन गरेको र प्रकृतिका अन्य जीवका लागि बाँच्ने अवसर बिगार्दै गएकाले प्रकृति अहिले मानव भन्ने जातिलाई नै डाइनोसर बनाउने सुरमा छ’ कि भन्ने बुझाइ पनि कतिपय चिन्तकहरूको छ ।
तर विश्व कोरोनासँग तर्सिए पनि नेपाली भने त्यत्ति तर्सिसकेका छैनौं । नेपाल सरकार अस्पतालमा सुतेरै बसेको भने छैन । बालुवाटार आइसकेको छ । उसले आफ्नो सक्रियता बढाएको छ । कोरोनासँग भिड्न बालुवाटार र सिंहदरबारतिर कता हो, औषधि छर्ने काम पनि सम्पन्न गर्यो रे ।
महान्यायाधिवक्ताको कार्यालयले प्रहरीलाई मास्क बेच्न निर्देशन पनि दिइसकेको छ । अस्ति सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कने लगायत १५–१६ बुँदे उर्दी पनि जारी गरिसकेकोे छ । हिजोदेखि हुनलागेको एसईई परीक्षा पनि हाललाई स्थगित गरिदिएर काम गर्न थालेकै छ ।
अहिले सबैको मनमा भने थुप्रै प्रश्न र संशयले घर गर्न थालेका छन् । के साँच्चै नेपालमा अझैसम्म कोरोना आएकै छैन ? कोही भन्छन् यो भाइरस आएको त छ, तर नेपालसँग त्यसको परीक्षण गर्ने पर्याप्त किट नै छैन । चेक नै नगरी कसरी छैन भनेर मान्ने भन्नेहरू पनि छन् । ३ करोड जनता भा ठाउँमा ५०० सामान्यजनको नमूना संकलन गरेर मात्र कोरोना भाइरस देखिएन भन्नु कत्तिको युक्तिसंगत हुन्छ ? सरकारले सही सूचना लुकाइरहेको छ । मिडियाले चाइनेभन्दा बढी कोरोना आतंक फैलाएका छन्, जस्ता भनाइहरूले मिडिया र सामाजिक सञ्जाल भरिएका छन् ।
तर देशमा खोकी र ज्वरोले एक्कासि मृत्यु हुने संख्या बढे ? छैन । अस्पतालमा भुइँ भरिनेगरी संक्रमित बढे ? छैन । विगतमा विश्वमा सार्सको संक्रमण भए पनि नेपालमा देखिएको थिएन । त्यसैले सतर्क हुने हो, तयारीमा रहने हो, आफै त्यसै तर्सिएर आतंकित हुने होइन भन्नेहरू पनि छन् ।
ल यो कुरा त ठीक छ । तर बाँच्नका लागि इन्धनलगायत खाने, पिउने कुरा कसरी जोगाड गर्ने त भन्नुहोला । आपूर्ति मन्त्रालयले विक्रेताहरूलाई सहज रूपमा सामान उपलब्ध गराउन निर्देशन दिइसकेको छ नि त । भलै सरकारले त्यत्रो आदेश दिँदा पनि ग्याँस, पेट्रोलियम लगायत सामान धेरै उपभोक्ताले पाइरहेका छैनन् । सरकारी आदेश नमानेर २ तिहाइको सरकालाई यसरी हेप्न त नपाइनुपर्ने ।
यता व्यवसायहरू सुक्दै गएका छन् । व्यवसायीहरू संघीय सरकारसँग ‘कोरोना राहत प्याकेज’को माग गरिरहेका छन् । बिचरो गरीब सरकारले के गरोस् । ऊ यसै पनि राजस्व असुली राम्रो नभएकोमा सरकारी कर्मचारीलाई तलब, भत्ता कसरी ख्वाउने भन्नेमै चिन्तित छ ।
प्रदेश सरकाहरूलाई त आनन्दै छ । विगतमा पनि व्यवसाय थिएन, अहिले पनि छैन । कामको कुरै छाडौं कतिपय प्रदेशलाई त नाम र राजधानीको न्वारन गर्नै हम्मे भइरहेको छ । काम किन भएन भनेर सोध्दा संघीय सरकारले सहयोग नगरेर भन्न मिलेकै छ ।
तर नेपालीले धेरै सिरियसली लिए पनि नलिए पनि कोरोना वास्तममै नपत्याउँदो किसिमले निकै शक्तिशाली देखिँदै गएको छ । यो कतै विखण्डन गर्न सक्षम देखिएको छ भने कतै जोड्न । जन्मेदेखि नै एकजुट हुन नसकेको सार्क कोरोनाका कारण क्षणिक नै सही एकजुट हुन खोजेको देखिएको छ । यूरोपियन र अमेरिकनहरूले कोरोनालाई ‘चाइना भाइरस’ वा ‘वुहान भाइरस’ भन्दिएका कारण चिनियाँ राष्ट्रवाद एकाएक चुलिएको छ ।
कोरोनाकै कारण परिवारभित्र पनि असमझदारी र झगडा शुरू हुने स्थिति पनि पैदा भएको छ । यूरोपमा घरभित्र धेरै समय सँगै बस्नुपरेका श्रीमान्–श्रीमतीले डिभोर्सका निवेदन दिन थालेका समाचार पनि आएका छन् ।
तेस्रो विश्वयुद्ध जस्तो लाग्ने कोरोनासँगको यो लडाइँमा चीन तथा यूरोप, अमेरिका आफ्नै ढंगले लडिरहेकै छन् । तर हामी भने अरू क्यै गर्न नसके पनि भोजभतेर गर्न, धेरै मानिस एकै ठाउँमा जमघट हुनबाट टाढै रहौं । आफ्नैसँग पनि एउटा दूरी कायम राखौं । किनकि निकै नजिक हुनुभन्दा हल्का टाढा भएकै राम्रो भन्ने पाठ यो भाइरसले सिकायो ।
जिन्दगी हाम्रै हातमा छ । त्यसैले हात धोऔं । तन, मन र आफु वरपर समेत सफा राखौं । तन र मन सफा भएपछि बाँकी कुराहरू पनि ठीक हुँदै हुनेछन् । बाँच्यौं भने कमाउँला, संकटका बेला व्यापार त गरौं, तर कालोबजारी नगरौं भनेर कालाबजारीज्यूहरूमा अनुरोध पनि छ । कोरोनासँगको योयुद्धमा हामी हार्ने खेल खेल्नै हुन्न । तर नहार्न खेलका नियम पनि पालना गर्नैपर्ने हुन्छ ।
विज्ञहरूले बारम्बार भनिरहेका सावधानीहरू मात्र अझै अपनाउन सक्यौं भने पनि कोरोनाले संसारलाई शासन गर्न सके पनि नेपालीलाई सक्ने छैन । विगतको पनि हाम्रो इतिहास पनि विजेताकै हो नि, हैन र ? किनकि हामी नेपाली साँच्चै वीर हौं भने यो जित्नै पर्ने युद्ध हो ।