ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जोक कोरोना

२०७६ चैत, १४  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, जताततै शून्य अनि उराठ लाग्ने मौसम ऐले । हुन पनि अफिसमा कोरोनाको गफ, घरमा कोरोनाकै । टिभी हेर्‍यो कोरोनाकै टक ।

पत्रिकादेखि पसल पसल कोरोनै कोरोना । अब घरभित्र सेल्फ क्वारेन्टाइनमा बस्ता समेत यो कोरोनाले नछाड्ने भो त । स्थिति यस्तो भइसक्यो कि अब त विश्वको नक्सामा जुन देशमा थिचे पनि त्यस देशमा कोरोना यतिमा सरे, कोरोनाले यति मान्छे मरे भन्नेमात्र समाचार आउने भएको छ । यो भाइरस लागेर नमरे पनि यसको डरले चैं मरिने भो जस्तो छ ।

घरमा बस्दा बस्दा बसको सीटमा बसेजस्तो पो हुन थाल्ने रैछ । केवल ट्वाइलेट जान उठ्यो, अनि फेरि पुरानै सीटमा । कता कता आफू इन्डियन रियालिटी शो बिग बोसको सहभागी पो हो कि जस्तो भान हुन थालेको छ ।

घरभित्र सोफामा बस्दा बस्दा गद्दीले बिझाउन थाले ओछ्यानमा डङरङ्ग पल्टिने काम छ । ओच्छ्यानमा पल्टिँदा पल्टिँदा थकाइ लागे भुइँमा लड्ने । भुइँमा पल्टिरहँदा बोर लागे फेरि सोफा, ओच्छ्यान र भुँइमा । यो क्रम दोहोरिइरहेको छ । अब घरमा भएका आफ्ना कपडा पट्याउने, फुकाउने, फेरि पट्याउने, यो क्रम डिनरमा नबोलाउन्जेल जारी राखिराख्ने योजना छ ।

घरमै बसी बसी महीनाको ५० हजार, १ लाखसम्म कमाउनुहोस् भन्ने विज्ञापन गर्नेहरू कता गए अहिले हँ ? नम्बर खोज्नुपर्ने भयो ।

मान्छेहरू अरू बेला आफ्ना लागि फुर्सद भएन भनेर रोइकराइ गर्छन् । तर अहिले घरघरमा बस्नुपरेका कारण जताततै वातावरण यस्तो छ कि यो भाइरस लागेनछ भने पनि आफैलाई भाइरस लागेसरी मानिसमा निराशा बढ्दो छ । त्यसैले यो वातावरणलाई अलिअलि भए पनि हँसिलो र रसिलो बनाउन संकलन गरिएका र आफैद्वारा सृजित केही कोरोना जोक र कमेन्ट प्रस्तुत गर्ने प्रयास गरेको छु ।

मन परे हरियो, नपरे रातो बटन थिच्नुभए हुन्छ ।

•••

कोरोनाबाट कसरी बच्ने भनेर एकजना भक्तिनी पण्डित भेट्न मन्दिर पुगिछन् ।
भक्तिनी : पण्डितजी, कोरोना भाइरससँग एकदम डर लागिरहेछ । के गर्ने होला ?
पण्डित : डराउनु पर्दैन । हात थाप्नुस् त । 
भक्तिनी : पण्डितजी, आज यो पञ्चामृत अलि कडा पो छ त !
पण्डित : हत्तेरिका ! यो सेनिटाइजर पो हो त, हात सफा गर्न दिएको ।

•••

अब हाच्छ्यूँ आउँदा ‘सरी’ भन्नुको सट्टा ‘भगवान्ले भलो गरून्’ भन्ने जमाना आयो !

•••

पहिले जब कसैले मेरो छोरा फलानो देशबाट आएको छ भन्थे तब उसलाई भेट्न र हेर्न भीड लाग्थ्यो । अहिले कसैले त्यसो भन्यो भने त पूरै बस्ती नै खाली हुन्छ । समय समयको कुरा !

•••

पत्नी : यो कहाँको कानून हो कि तिम्लाई सधैं मैले नै खाना पकाएर दिनुपर्छ भन्ने ?
पति : यो पूरै दुनियाँको कानून हो कि कैदीलाई खाना सरकारले नै दिने गर्छ ।

•••

कोरोनाका बेला एकजना श्रीमान्लाई श्रीमतीले यस्तो सल्लाह दिइरहेकी थिइन् :
... बारम्बार खाली साबुनपानीले हातमात्र धुनुको सट्टा त दुई–दुईओटा भाँडा पनि साथै माझ्दिने गर्नु नि !

•••

विदेश घुमाउन नलागेको भनेर श्रीमती धेरै दिनदेखि श्रीमान्सँग झगडा गरिरहेकी थिइन् । 
... फुर्सद भयो अब घुमाउन लान्छु नि त भनेर श्रीमान्ले भन्दा श्रीमती मानिरहेकी छैनन् !

•••

दुई साथीहरूको गफ
पहिलो साथी : यार म त तेस्रो स्टेजमा छु ।
पहिलो स्टेजमा भाँडा माझेँ, दोस्रोमा खाना बनाएँ र तेस्रो स्टेजमा कपडा धोइरहेको छु ।
तँ नि ?
दोस्रो साथी : मैले त गालीमाथि गाली खाइरहेको छु । तर काम गर्नेवाला छैन । किनकि कोरोना त केही दिनमा जाला, तर मलाई सबै काम गर्न आउँछ भन्ने श्रीमतीले चाल पाई भने जिन्दगीभर भाँडा माझिरहन पर्छ क्या !

•••

छुट्टीका लागि एक कर्मचारीको निवेदन
श्रीमान् व्यवस्थापक ज्यू, 
म कोरोनाबाट पीडित भएको छु । कृपया मलाई लामो छुट्टी दिएर एक महीनाको तलब तु घरमै पठाउने व्यवस्था गर्नुहोला । अन्यथा म आफै अफिस आउनेछु ।
... उसको निवेदन स्वीकृत भयो ।

•••

एक सर्वेक्षणका अनुसार कोरोनाले गर्दा कर्मचारीहरू एकआपसमा भेट्न नपाएकाले अफिस अफिसमा चुक्ली लगाउनेहरूको संख्यामा भारी गिरावट आयो रे !

•••

अब कसले भन्छ कि चिनियाँ सामान ज्यादा दिन टिक्दैन भनेर ?
... कोरोना नै काफी प्रमाण छ चिनियाँ सामान कति टिक्छ भनेर !

•••

पहिलो साथी : यार, अचेल सबै मन्दिरहरूसमेत बन्द छन् त ! किन होला ?
दोस्रो साथी : ल तलाई था छैन ? सबै भगवान्हरू अहिले सेतो कोट लगाएर अस्पताल गाछन् त !

•••

ग्राहक : साहूजी, डेटोल साबुन छ ?
साहुजी : छ ।
ग्राहक : ... त्यसोभए छिट्टो हात धोएर एक किलो चिनी दिनुस् त !

•••

कहिलेकाहीँ जिन्दगीमा यस्तो दिन पनि आउँदो रहेछ मानिसको जीवनमा ।  
... घरमै सुतेर पनि राष्ट्रलाई योगदान गर्न सकिने रहेछ । 

•••

समय समयको कुरा । पहिले घरमा बस्नेहरूलाई ‘निकम्मा’को दर्जा दिइन्थ्यो, अहिले ‘जिम्मेवार’ ।

•••

ब्यूटिपार्लर १ महीनामात्र बन्द हुने हो भने पनि कोरोनाभन्दा भयंकर रौद्र रूप घरघरमै देख्न पाइन्छ भन्ने कुरा पनि आयो ।

•••

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)