वर्तमान महामारीले गर्दा विश्व अर्थव्यवस्थामा गहिरो संकट आएको छ । विश्व अर्थतन्त्रका तीनओटा प्रधान चक्र (जसले विश्व अर्थतन्त्रलाई गति दिएका थिए ) पूर्वी एशिया (चीन, जापान र दक्षिण कोरिया), यूरोप र संयुक्त राज्य अमेरिका नराम्ररी प्रभावित भएका छन् । यसको प्रभाव अर्थतन्त्रका अन्य क्षेत्रमा झैं निर्यातमा पनि परेको छ । यो प्रभाव स्वाभाविक पनि हो र यसलाई रोक्न पनि सकिँदैन । मुलुक लकडाउनमा गएको अहिलेको अवस्थामा निर्यात क्रियाकलाप ठप्प हुने निश्चित जस्तै छ ।
धेरै सूचना र तथ्यांक इन्टरनेटमा उपलब्ध भएको वर्तमान अवस्थामा आफ्ना उत्पादन कुन देशको बजारमा कसरी पुर्याउन सकिन्छ, बजारको अवस्था के छ भन्ने विषयमा अध्ययन गर्ने यो उपयुक्त समय पनि हो ।
यस विषम परिस्थितिमा निर्यातकर्ताले गर्न सक्ने कार्यहरू यसप्रकार रहेका छन् : सर्वप्रथम, निर्यातकर्ताले आफ्नो व्यापार व्यवसायको दीर्घकालीन रणनीति तर्जुमा गर्न यो समयको सदुपयोग गर्न सक्छन् । यसैगरी बजारका बारेमा डेस्क रिसर्चमा आधारित विस्तृत अध्ययन पनि यस समयमा गर्न सकिने अर्को प्रमुख कार्य हो । धेरै सूचना र तथ्यांक इन्टरनेटमा उपलब्ध भएको वर्तमान समयमा आफ्ना उत्पादन कुन देशको बजारमा कसरी पुर्याउन सकिन्छ, बजारको अवस्था के छ भन्ने विषयमा अध्ययन गर्ने यो उपयुक्त समय पनि हो । यस विषयमा केही जिज्ञासा भए सम्बद्ध क्षेत्रका विज्ञहरू विशेष गरी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका विज्ञहरूसँग इमेल, सामाजिक सञ्जाल वा टेलिफोनमार्फत पनि थप सहयोग लिन सकिन्छ ।
विश्व नै लगभग लकडाउनमा रहेका बेला विदेशी आयातकर्तासँग पनि यति बेला बढी सयम उपलब्ध छ, नेपाली आपूर्तिकर्तासँग संवादका लागि । उनीहरूसँग भावनात्मक सम्पर्क स्थापना गर्ने उचित समय पनि यही नै हो । यस अवधिमा उनीहरूसँग निरन्तर र दीर्घकालीन प्रकृतिका संवादहरू गर्न सकिन्छ । यी संवाद भविष्यमा नेपाली निर्यातकर्ताहरूका लागि बजार प्रवर्द्धनका लागि महत्त्वपूर्ण आधार बन्न सक्छन् ।
वर्तमान विश्व संकटले गर्दा भविष्यमा वैश्विक मूल्य शृंखलामा ठूलो प्रश्न चिह्न उठ्ने निश्चित छ । यूरोप र अमेरिकाले एशिया र अफ्रिकालाई कारखानाका रूपमा विकास गर्ने र आफ्नो देशलाई सेवा व्यापारको केन्द्रका रूपमा विकास गर्ने नीतिमा अब पुनर्विचार गर्ने निश्चित छ । संकटमा आफ्नै देशको उत्पादन मात्र काम लाग्दो रहेछ भन्ने विषय प्रमाणित भइसकेको छ । यस अवस्थामा नेपाल पनि यस नीतितर्फ उन्मुख हुनैपर्ने बाध्यतात्मक परीस्थिति सृजना हुन सक्छ । यो परिस्थितिले आन्तरिक बजारलाई समेत दृष्टिगत गरी नेपाली निर्यातकर्ता उद्यमीहरूले प्राथमिकतामा परिवर्तन ल्याउन आवश्यक छ । उदाहरणका लागि धातु र काष्ठकलाका निर्यातकर्ताले आधुनिक फर्निचरका साथसाथै चिकित्सा प्रयोजनका फर्निचरलगायत सामग्री उत्पादन गर्नेतर्फ ध्यान जानु आवश्यक छ ।
तयारी पोशाक उद्योगहरूले पनि चिकित्सा प्रयोजनका लागि चाहिने व्यक्तिगत सुरक्षा सामग्री, गाउन, बेडस्पे्रड, मास्क आदि उत्पादनमा ध्यान दिनु आवश्यक छ । यही संकटको अवधिमा त्यस क्षेत्रमा संलग्न हुन पनि अति जरुरी छ । नेपालले गत आर्थिक वर्षमा मात्रै करीब कुल कपडा क्षेत्रमा करीब रू. ७६ अर्ब र पहिरन क्षेत्रमा करीब ३२ अर्ब बराबरको आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यो रू. ७६ अर्बको स्वदेशी बजारलाई दृष्टिगत गरी नेपाली उद्यमीहरूले यस समयमा विशेष रणनीति बनाउन सक्छन्, जो संकटपश्चात्को समयमा कार्यान्वयन गर्न सजिलो हुन्छ ।
नेपाली छाला उद्योगहरूले यस अवसरमा सुरक्षा निकाय र चिकित्साकर्मीहरूलाई उपयुक्त हुने छाला तथा रबर र प्लास्टिकका अन्य उत्पादनहरूका उद्योग स्थापना सम्बन्धी रणनीतिहरू तर्जुमा गर्न सक्छन् । विशेष गरी औषधि उद्योगहरूले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन उपयुक्त नीति तर्जुमा गर्न वातावरण सृजना गर्ने समय पनि यही नै हो ।
वर्तमान संकटको समयमा नेपाली निर्यातकर्ताका लागि बाह्य बजारसँग सम्पर्क स्थापना गर्ने, आफ्नो उद्योगको क्षमता अभिवृद्धि गर्नेतर्फ स्पष्ट रणनीतिगत मार्गचित्र कोर्ने र स्वदेशमा उपलब्ध बजारलाई दृष्टिगत गरी आफ्नो उद्योगको विविधीकरण गर्ने रणनीति तर्जुमाका लागि अति महत्त्वपूर्ण छ ।
कच्चा पदार्थ पनि संकटमा स्वदेशकै महत्त्वपूर्ण हुँदो रहेछ भन्ने पनि यस संकटबाट तत्त्वज्ञान भएको छ । यस अवस्थामा कुनकुन उद्योगको कच्चा पदार्थ स्वदेशमा उत्पादन गर्न सकिन्छ, सहायक उद्योगहरूको विकास कसरी गर्न सकिन्छ भनी सोच निर्माण गर्ने समय पनि यही नै हो । यसो गर्न सके नेपाली निर्यात उद्योगहरूका लागि स्वदेश र विदेश दुवैतर्फको बजार र कच्चापदार्थको स्रोतसमेत प्राप्त हुन गई उनीहरूको क्षमता अभिवृद्धि हुने देखिन्छ ।
यसैगरी वर्तमान संकटले वैश्विक मूल्य शृंखलामा विश्राम ल्याउने र आत्मनिर्भर अर्थतन्त्रको दिशामा विश्व जाने स्पष्ट लक्षणहरू देखाएको छ । यसले नेपाली श्रमिकहरूको विदेशमा हुने मागलाई पनि केही घटाउने देखिन्छ । यो भनेको वर्तमान समयमा नेपाली उद्योगहरूले भोगिरहेको श्रमिक अभावलाई केही हदसम्म कम गर्ने निश्चित छ । यस अवस्थामा विदेशबाट शीप सिकेका र कार्यसंस्कार पाएका श्रमिकहरूलाई नेपाली उद्योगहरूमा कसरी समायोजन गर्ने भन्ने विषयमा पनि नेपाली उद्यमीहरू विशेष गरी निर्यातकर्ता उद्यमीहरूले विशेष रूपमा सोच्नु आवश्यक देखिन्छ ।
वर्तमान विश्व संकटले प्राकृतिक उत्पादनहरूको मागलाई थप नयाँ उचाइमा पुर्याउने देखिन्छ । उदाहरणका लागि कपासजस्ता प्राकृतिक रेशाबाट बनेको तर कुनै रंग प्रयोग नगरिएको कपडा, विशुद्ध प्राकृतिक रूपमा उत्पादित कृषिजन्य उत्पादन, प्राकृतिक रंगरोगन, टिकाउ भाडाकुँडा, प्राकृतिक रूपमा तयार गरिएका मेकअपका सामान, चुन र रूखका बोक्राबाट प्रशोधित छालाका उत्पादनहरू, हातेकागज, ऊन र ऊनका उत्पादन, रैथाने पशुबाट उत्पादित दूध र दूधका परिकारको माग विश्वमा अझ बढ्ने देखिन्छ । यसतर्फ पनि यस संकटकालमा शान्त वातावरणमा नेपाली निर्यातकर्ताले सोच बनाउन आवश्यक हुन्छ ।
सारांशमा भन्नुपर्दा वर्तमान संकटको समयमा नेपाली निर्यातकर्ताका लागि बाह्य बजारसँग सम्पर्क स्थापना गर्ने, आफ्नो उद्योगको क्षमता अभिवृद्धि गर्नेतर्फ स्पष्ट रणनीतिगत मार्गचित्र कोर्ने र स्वदेशमा उपलब्ध बजारलाई दृष्टिगत गरी आफ्नो उद्योगको विविधीकरण गर्ने रणनीति तर्जुमाका लागि अति महत्त्वपूर्ण छ ।
निर्यात क्षेत्रका विज्ञहरूसँग सञ्चारमाध्यमको प्रयोगबाट अन्तरक्रिया र नीतिनिर्माताहरूसँग संवाद गर्ने विषयका लागि पनि वर्तमान समय उपयुक्त समय हो ।
निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।