कम्पनीको पूँजी भन्नाले कम्पनी सञ्चालन गर्न आवश्यक पर्ने रकम बुझिन्छ । कम्पनीको प्रबन्धपत्रमा उल्लेख गरिएका उद्देश्य प्राप्त गरी कम्पनीको कारोबार वा व्यवसाय सञ्चालन गर्न पूँजीको आवश्यकता पर्छ । कम्पनीका संस्थापकले कम्पनी संस्थापना गर्दा नियमावलीमा उल्लेख गरिएबमोजिमको शेयर किन्दा मञ्जुर गरेकाले सर्वप्रथम संस्थापकले कम्पनीमा रकम जम्मा गर्छन् । अर्थात्, संस्थापकले शेयरबापत बुझाएको रकमबाट कम्पनीले कारोबार सञ्चालन गर्छ । सर्वप्रथम कम्पनीले शेयर जारी गरेर पूँजी संकलन गर्छ ।
कम्पनीलाई आवश्यक पर्ने पूँजीको संकलन शेयर जारी गरेर र ऋण वा डिबेञ्चर जारी गरेर पूरा गरिन्छ ।
कम्पनी संस्थापना गर्दाका अवस्थामा कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गरिने प्रबन्धपत्रमा नै कम्पनीको शेयर पूँजी कति हुने हो ? सो कुरा अनिवार्य रूपमा उल्लेख गरिएको हुन्छ । कम्पनीको अधिकृत पूँजीको अंक, कम्पनीले तत्काल जारी गर्ने शेयर पूँजीको अंक र कम्पनीको संस्थापकले चुक्ता गर्र्न कबुल गरेको अंक उल्लेख गर्नुपर्छ । कम्पनीको प्रबन्धपत्रमा नै कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र संस्थापकले चुक्ता गर्र्नु कबुल गरेको पूँजी उल्लेख गर्र्नुपर्छ । त्यस्तै कम्पनीको प्रबन्धपत्रमा कम्पनीको शेयरको किसिम, त्यस्ता शेयरमा निहित हक, अधिकार, प्रत्येक शेयरको मूल्य र विभिन्न प्रकारको शेयर संख्या राखीन्छ ।
कम्पनी ऐन, २०६३ अनुसार पब्लिक कम्पनीको पूँजीको हद रू. १ करोड वा सोभन्दा माथि हन्छ । कम्पनी ऐनमा प्रचलित कानूनमा वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै खास कम्पनीको चुक्ता पूँजी बढी हुनुपर्ने गरी अन्यथा व्यवस्था गरिएकोमा बाहेक पब्लिक कम्पनीको चुक्ता पूँजी कम्तीमा १ करोड रुपैयाँ हुनुपर्छ । कुनै खास प्रकृतिको व्यवसाय सञ्चालन गर्ने कम्पनीका हकमा त्यस्तो व्यवसायको नियमन गर्ने निकायले तोकिदिएबमोजिमको निर्धारण गर्नुपर्छ । जस्तो : नेपालमा वाणिज्य बैंक सञ्चालन गर्न रू. ८ अर्ब चुक्ता पूँजी हुनुपर्ने गरी बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने निकाय (नेपाल राष्ट्र बैंक) ले तोकिदिएको छ । त्यस्तै बीमा समितिले समेत जीवन बीमा कम्पनीको रू. २ अर्ब र निजीवन बीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीको हकमा रू. १ अर्ब चुक्ता पूँजी हुनुपर्ने व्यवस्था गरेको छ ।
प्राइभेट कम्पनीले शेयर पूँजी संकलन गर्दा खुला रूपले विक्रीवितरण गर्न पाउँदैन । पब्लिक कम्पनीले एकपटकमा ५० जनाभन्दा बढी व्यक्तिलाई शेयर विक्रीवितरण गर्दा विवरणपत्र प्रकाशित गरी सार्वजनिक आह्वानमार्फत विक्रीवितरण गर्न सक्छ । प्राइभेट कम्पनीको शेयरको अंकित मूल्य उक्त कम्पनीको नियमावलीमा तोकेबमोजिम हुनेछ । पब्लिक कम्पनीको शेयरको अंकित मूल्यप्रति शेयर ५० रुपैयाँ वा १० अंकले भाग जाने सोभन्दा बढी अंकले हुन आउने गरी प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था भएबमोजिमको रकम बराबर हुने व्यवस्था गरेको छ । शेयर निष्कासन गर्दा कम्पनीले शेयरको मूल्य निम्नानुसार निर्धारण गर्न सक्छ— १. शेयरको अंकित मूल्य, २. प्रिमियम मूल्यको शेयर जारी गर्र्नु, ३. डिस्काउन्टमा शेयर निष्कासन गर्नु वा विक्री गर्नु ।
कम्पनी ऐन, २०६३ अनुसार मुनाफा वितरण नगर्ने कम्पनीको हकमा यस्तो शेयर पूँजीको सृजना गरिएको हुँदैन । तर, यस्ता कम्पनीले आफ्ना सदस्यहरूबाट सदस्यता शुल्क प्राप्त गर्न र कम्पनीले आफ्नो उद्देश्य पूरा गर्र्न कानूनबमोजिम दानअनुदान प्राप्त गर्न सक्छन् । यसरी मुनाफा वितरण नगर्ने कम्पनीले पूँजी संकलन गर्छन् । मुनाफा वितरण नगर्ने कम्पनी सञ्चालन गर्दा नै कम्पनीको उद्देश्य पूरा गर्न आवश्यक पर्ने पूँजीस्रोतसमेत पहिचान गरी खोल्नुपर्छ ।
कम्पनीको संस्थापक वा अन्य शेयरधनीहरूसँग रहेको शेयर कुनै व्यक्तिले खरीद गरी शेयरधनी कायम हुन्छन् । सूचीकृत कम्पनीको हकमा धितोपत्र बजारमा इजाजतपत्र प्राप्त शेयर दलालहरूमार्फत किन्न सकिन्छ । सूचीकृत नभएका कम्पनीको हकमा शेयरधनीसँग आपसी सहमति वा परिपत्र विधिबमोजिम शेयर किनबेचको लिखत गरी शेयर हस्तान्तरण हुन सक्छ । कुनै पनि व्यक्ति कम्पनीको शेयर किनी शेयरधनी कायम हुन सक्छ । संस्थापना गर्दा कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गरिएको कम्पनीको प्रबन्धपत्र र नियमावलीमा तोकिएबमोजिम कम्पनीको शेयर किन्न मन्जुर गरी सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली हस्ताक्षर गर्ने व्यक्तिलाई संस्थापक शेयरधनी भनिन्छ । यिनीहरूको नाम, शेयर लिन कबुल गरेको रकम कम्पनीको प्रबन्धपत्र र नियमावली उल्लेख गरिएको हुन्छ । अतः संस्थापक हुनाका लागि कम्पनी संस्थापना गर्न प्रबन्धपत्र, नियमावलीमा संस्थापकको हैसियतले हस्ताक्षर गएको व्यक्तिलाई जनाउँछ । त्यसैले भन्ने गरिन्छ– कम्पनीका सबै संस्थापक शेयरधनी हुन्छन् तर सबै शेयरधनी संस्थापक हुँदैनन् ।
कम्पनीको प्रथम वार्षिक साधारणसभा नभएसम्म सञ्चालकहरूको नियुक्ति कम्पनीका संस्थापकद्वारा गरिन्छ । कम्पनी ऐनमा प्रथम साधारणसभा नभएसम्म सञ्चालकको नियुक्ति संस्थापकहरूद्वारा हुने व्यवस्था गरिएको छ । इन्द्रशेखर खड्का वि.नेपाल राष्ट्र बैंकसमेत उत्प्रेषण मिश्रित परमादेश मुद्दामा (ने.का.प.२०६३ अ.१० नि.नं.७७७० ) कम्पनीको प्रथम वार्षिक साधारणसभा भई सञ्चालकको नियुक्ति नहुन्जेलसम्मका सञ्चालकको नियुक्ति संस्थापकबाट हुने व्यवस्थाले संस्थापक सदस्य बढी विशेष जिम्मेवार बनाएको परिपे्रक्ष्यमा संस्थापक शेयरधनी र साधारण शेयरधनीलाई जिम्मेवारीको हिसाबमा समानस्तर भनी मान्न नमिल्ने भनी सर्वोच्च अदालतबाट व्याख्या भएको छ ।
कम्पनीका शेयरधनीहरूले कम्पनीको वार्षिक साधारणसभा, विशेष साधारणसभामा उपस्थित भई प्रस्तावका सम्बन्धमा मतदान गर्न पाउने, कम्पनीको प्रबन्धपत्र, नियमावली, वार्षिक हिसाब (वासताल) र लेखापरीक्षण प्रतिवेदन, सञ्चालकको प्रतिवेदन, साधारण सभाको कामकारबाहीको विवरण, कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गरेको सम्पूर्ण लिखतहरू प्रतिलिपि माग गर्ने अधिकार रहन्छ । कम्पनीको शेयरका अतिरिक्त कम्पनीले ऋण वा डिबेञ्चरबाट पनि पूँजी संकलन गर्न सक्छ । अतः कम्पनीलाई आवश्यक पर्ने पूँजीको संकलन शेयर जारी गरेर र ऋण वा डिबेञ्चर जारी गरेर पूरा गरिन्छ ।
लेखक अधिवक्ता हुन्