ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

केरा किसानको चिन्ता : बारीमै पाक्यो, विक्री भएन 

२०७६ चैत, १८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चैत १९, चितवन । देशव्यापी रूपमा गरिएको लकडाउनको असर चितवनको केराखेती तथा विक्रीमा पनि परेको छ । हाल केराको  विक्री र उत्पादनको उपयुक्त सिजन हो । चितवनमा किसानको केरा विक्रीका लागि तयारी छ, कतिपय किसानको बारीमै केरा पाक्न थालेको छ । तर लकडाउनका कारण विक्री हुन सकेको छैन । 

लकडाउनको अवधि लम्बिँदै जाँदा यसको असर केरा व्यवसायमा पनि परेको हो । उपभोक्ताको माग उच्च भए पनि थोक क्रेता एवं मण्डीवालाले केरा नलिँदा समस्या भएको सम्बद्ध किसानहरूले बताएका छन् ।  अघिल्ला वर्ष केरा विक्री गर्न भ्याइनभ्याइ हुने किसान अहिले फुर्सदिला बनेका छन् ।  चितवनका हरेक किसान केराको बजारीकरण कसरी गर्ने भन्ने विषयमा समेत चिन्ता थपिएको बताउँछन् । 

रत्ननगर नगरपालिका वडा नम्बर १३ का रामकुमार श्रेष्ठले केरा बारीमै पाके पनि विक्री हुन नसकेको गुनासो गरे । ‘केराको बढी उत्पादन र विक्री हुने सिजन शुरू भए पनि लकडाउनले विक्री गर्न सकिएन,’ उनले भने, ‘काठमाडौंका व्यापारीले फोन पनि उठाउन छाडे, स्थानीय बजारमा पनि विक्री हुँदैन ।

रत्ननगर नगरपालिका वडा नम्बर १२ का किसान पुण्य देवकोटा सरकारले विक्री सहज नबनाउँदा बारीमै केरा कुहिएर जाने अवस्था आएको बताउँछन् । ‘स्थानीय प्रशासनले पनि पास दिँदैन, हामी कसरी बजार पुग्ने ?’ उनले प्रश्न गरे । केरा लामो समयसम्म भण्डारण गर्न नसकिने हुँदा चिन्ता थपिएको उनको भनाइ छ । 

खैरहनी नगरपालिका वडा नम्बर ४ चैनपुरका किसान यज्ञ सुवेदीले केरा बेच्न सबै तयार हुँदा पनि विक्री नहुँदा लाखौंको नोक्सान हुने बताए । ढुवानी सहज नहुँदा र बाहिर निस्कन नपाउँदा बगैंचामा रहेका केरा कुन अवस्थामा छन् भन्ने समेत थाहा नभएको उनको भनाइ छ । अहिले पनि भारतबाट केरा भित्रिएको तर नेपाली केराले बजार नपाएको उनको गुनासो छ । संघका पूर्वअध्यक्ष सुवेदीले चितवनका ७० बिगाहामा केराखेती गर्दै आएका छन् । 

संघका घननाथ महतो ‘केरा पाक्यो, व्यवस्थापन गरिदिनू’ भनेर दैनिक किसानको फोन आएको बताउँछन् । केरा विक्रीका लागि स्थानीय तह, प्रशासनसँग समन्वय गरे पनि अर्डर नै नआउँदा किसान आत्तिन लागेको उनको भनाइ छ । ‘उपभोक्ताले खान पाएका छैनन्, उनले भने, ‘तर क्रेताले किन्न मानेका छैनन् ।’ विक्री नहुने भन्ने डरले विक्रेताले समेत जोखिम लिन नसकेको उनले बताए । यसका लागि सरकार, प्रशासन तथा व्यापारीले वैकल्पिक उपाय निकाल्नुपर्ने उनको धारणा छ । 

संघको तथ्यांक अनुसार जिल्लामा ३ तीन हजार बिगाघाभन्दा बढीमा केराखेती हँुदै आएको छ । संघमा मात्रै ७०० कृषक आबद्ध छन् । यहाँबाट गतवर्ष मात्रै डेढ अर्ब रुपैयाँबराबरको केरा निकासी भएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)