ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मौरीपालक किसानको पीडा : हामी घरभित्र छौं, मौरी जंगल भागे 

२०७६ चैत, २१  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चैत्र २२, चितवन । देशभर लकडाउनले सबै क्षेत्रलाई आक्रान्त पारेका बेला यसको असर मौरीपालक किसानमा समेत परेको छ । मौरी उत्पादन गर्ने र मह उत्पादन गर्ने उत्तम समय यही समय भए पनि कृषकहरू चरनक्षेत्रमा जान नपाउँदा यस्तो समस्या आएको हो ।

लकडाउनका कारण मौरीको गोला विस्तार गर्न र मह काढ्न नपाउँदा मौरीहरू घारबाट जंगल भागेको भएको कृषकहरू बताउँछन् । 

मौरीको चरनक्षेत्रमा जान नपाउँदा मौरीको अवस्थाबारे आफू अनभिज्ञ रहेको भरतपुर महानगरपालिका–९ का विष्णु भुषालले बताए । ‘म चितवनमा छु, मेरा मौरीको घार महोत्तरीमा छन्,’ उनले भने, ‘त्यहाँ पुग्न नपाउँदा मौरीको अवस्था थाहा पाउन सकिएन ।’

उनका अहिले मौरीको गोला विस्तार गर्ने र मह काढ्ने वर्षकै उत्तम समयमा लकडाउनका कारण मौरी व्यवस्थापनमा समस्या भएको छ । यस वर्ष विषादी र रोगका कारण मौरी उत्पादनमा ह्रास आएसँगै लकडाउनका कारण थप क्षति बेहोर्नुपर्ने देखिएको उनको गुनासो छ । 

भरतपुर महानगरपालिका–१ का मौरी विज्ञ एवं व्यवसायी डा. खेमराज न्यौपाने चरनक्षेत्र टाढा हुँदा र दैनिक हेरचाह हुन नसक्दा मौरी र महको उत्पादन दुवैमा ठूलो कमी आउने बताउँछन् ।

‘मौरीलाई दैनिक हेरचाह चाहिन्छ,’ उनले भने, ‘लकडाउनले गर्दा अधिकांश किसान चरनक्षेत्रमा जान नपाउँदा समस्या भएको छ ।’ वातावरणीय प्रभावका कारण मौरीको वृद्धि कम भएसँगै लकडाउनका कारण थप नोक्सान  पुग्ने  उनले बताए ।

महको उत्पादन र विक्रीमा ह्रास आएसँगै यस क्षेत्रमा थप जोखिम मोल्नुपरेको उनको भनाइ छ । सरकारले वैकल्पिक बाटो र मौरीपालक किसानलाई समेत सहज आवत जावत नदिँदा कृषकको लगानी र मेहनत दुवै खेर गइरहेको छ । कतिपय किसानले मौरीको दैनिक हेरचाह गर्न नपाउँदा घार चोरी हुने समस्या समेत रहेको गुनासो गरेका छन् ।

नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा मौरीपालक कृषकहरू मौरीको चरन क्षेत्रमा जान नपाउँदा मौरीहरू जंगलतिर भाग्न थालेको बताउँछन् । ‘अहिले गोला विस्तार गर्ने समय हो, तर के गर्नु, हामी घरभित्र छौं, मौरी जंगलतिर भागे ।’ उनका अनुसार एउटै घारमा मौरीको संख्या बढ्दा र समयमै गोला विस्तार गर्न नसक्दा मौरीले नयाँ रानी बनाएर अलग्गै ठाउँमा घार बनाउने गर्दछन् ।

जंगलमा नयाँ जडीबुटी र फलफूलका बोटहरू हुनाले मौरी जंगल भाग्ने गरेको उनले बताए । पशुपन्छी मन्त्रालयले  मौरीपालक कृषकका लागि आवतजावत सहज गर्ने भने पनि स्थानीय प्रशासनले अवरोध खडा गर्दा चरनक्षेत्रमा जान नसकिएको उनको भनाइ छ । 

महासंघका अनुसार नेपालमा गतवर्ष मात्रै करीब ३५०० मेट्रिक टन मह उत्पादन भएको थियो । चितवनमा मात्रै वार्षिक ८०० मेट्रिक टनको हाराहारीमा मह उत्पादन हुँदै आएको छ । पहाडी जिल्लामा सेरेना जातको मौरीबाट मह उत्पादन हुन्छ भने तराईका जिल्लामा मेलीफेरा जातको मौरीबाट मह उत्पादन गरिन्छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)