ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माछापालन व्यवसायमा पनि लकडाउनको असर

उत्पादन २५ प्रतिशत घट्ने किसानको चिन्ता

२०७६ चैत, २२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चैत २३, चितवन । देशव्यापी रूपमा गरिएको लकडाउनको असर चितवनको माछापालन व्यवसायमा पनि परेको छ । दानाको अभावले माछाको भुरा बढाउन र यसको व्यवस्थापनमा पनि समस्या भएको गुनासो सम्बद्ध किसानले गरेका छन् ।

माछाको दाना अभावले यसपटक उत्पादन २५ प्रतिशतसम्म घट्ने अनुमान माछापालक किसानले गरेका छन् । घरबाट पोखरीसम्म किसान पुग्न नसक्दा र माछाका लागि उचित पोषण र हेरचाह हुन नसक्दा उत्पादन घट्ने भएको हो ।

 रत्ननगरनगरपालिका–९ का किसान भरत महतो आफूले ५० बिगाहा क्षेत्रफलमा गरेको माछापालनमा लकडाउनको असर परेकोे बताउँछन् । ‘५० केजी खुवाउनुपर्ने दाना अभाव हुँदा १० केजीमा झारेको छु,’ उनले भने । आवश्यक मात्रामा दाना र कच्चापदार्थ नआउँदा यसको माछाको उत्पादन घट्ने उनको भनाइ छ । 

दाना, सरसफाइ र अक्सिजनको अभावमा माछाको वृद्धिदर समेत कम हुने गर्दछ । अहिले भूरा बढाउने र माछा निकाल्ने उपयुक्त समय भए पनि लकडाउनका कारण किसानले त्यसमा ध्यान दिन सकेका छैनन् । 
नेपाल मत्स्य व्यवसायी संघ, चितवनका अध्यक्ष खगेन्द्र सुवेदी लकडाउनका कारण २ हप्तासम्म पोखरीमा जान नसकेको बताउँछन् । ‘माछाका लागि अक्सिजन र पोषणको मात्रा नपुग्दा ब्रिडिङमा समेत असर पर्छ,’ उनले भने ।

नेपालमा वर्षेनि माछा उत्पादन बढिरहे पनि यसपटक लकडाउनले असर परेको उनको भनाइ छ । ‘हाल नेपालमा माछाको मागको ६० प्रतिशत देशकै उत्पादनले पूरा गरेको छ,’ उनले भने, ‘तर लकडाउनका कारण उत्पादनमा २५ प्रतिशत कमी आउने देखिएको छ ।’
यस वर्ष माछाको उत्पादन जति हुनुपर्ने, त्यति नहुने किसानहरूको अनुमान छ । भएका उत्पादन पनि बजारसम्म पुग्न नपाउँदा आफूहरू मारको परेको उनीहरूको गुनासो छ । रत्ननगर नगरपालिकाका किसान भरत महतो भन्छन्, ‘एक त दाना छैन, अर्को उत्पादित माछा विक्री पनि छैन ।’

माछा लामो समयसम्म पोखरीमै रहँदा अतिरिक्त दाना खर्च हुने उनले बताए । लकडाउनअघि काठमाडौं लगायत ठाउँबाट माछाको माग आउने गरे तापनि अहिले विक्री ठप्प भएको उनको भनाइ छ । संघका अध्यक्ष खगेन्द्र सुवेदी उपभोगका लागि तयार माछा उपभोक्तासम्म पुर्‍याउन नसक्दा दैनिक घाटा थपिँदै गएको बताउँछन् । ‘एक त पोखरीमा माछा संकलन गर्ने मजदूर छैनन्,’ उनले भने, ‘लकडाउन हुँदा अर्डर आए पनि पुर्‍याउन नसक्ने अवस्था छ ।’ सरकारले लकडाउन अघि वैकल्पिक व्यवस्था नगर्दा आफूहरू अन्योलमा परेको उनको भनाइ छ ।

संघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारी गर्मीयाममा पानी, अक्सिजन र दानाको मात्रा नमिलाउँदा भुराको उत्पादन र माछाको तौलमा समेत असर पुग्ने बताउँछन् । ‘अहिले माछाको वृद्धि हुने समय हो,’ उनले भने, ‘यही बेला लकडाउनका कारण थप मारमा पर्‍यौं ।’ उनका अनुसार लकडाउनका कारण उत्पादन र विक्रीमा ठूलो कमी आएको छ । तथ्यांक अनुसार देशभर देशभर १४ हजार व्यावसायिक माछापालक किसान छन् भने चितवनमा मात्रै १७ सयको हाराहारीमा छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)