ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आपूर्ति सहज नहुँदा तरकारी किसान मारमा

२०७६ चैत, २५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चैत्र २६, चितवन । दुई हप्ता अघिदेखि हुँदै आएको लकडाउनको असर चितवनका तरकारी किसानमा पनि परेको छ । उत्पादित तरकारी बजारसम्म पु¥याउन नपाउँदा उनीहरू मर्कामा परेका हुन् । तरकारी विक्री नहुँदा बारीमै सुक्न थालेको उनीहरूको गुनासो छ ।

 तरकारीको माग राम्रै भए पनि बजार हुँदै उपभोक्तामाझ पुग्न नसक्दा यो अवस्था आएको हो । स्थानीय प्रशासनले तरकारी ढुवानी र वितरणमा कडाइ गर्दा तरकारी बिग्रन थालेको उनीहरूको भनाइ छ । 
भरतपुर महानगरपालिका–२६ का खत्रौलीका किसान दीपक तिमिल्सिना आफ्नो बारीमा भएको तरकारी विक्री नहुँदा खेर गइरहेको बताउँछन् । यसअघि नारायणगढका थोक व्यापारीले तरकारी खरीद गरे पनि बजार बन्द भएपछि आफू थप मारमा परेको उनको भनाइ छ । 

तिमिल्सिनाले ११ बिगाहा क्षेत्रफलमा तरकारी लगाउँदै आएका छन । अहिले उनको बारीमा गोलभेँडा, बोडी, घ्यूसिमी, घिरौंला  विक्रीका लागि तयारी अवस्थामा छन् । ‘स्थानीय बजारमा केही विक्री भएको त छ, तर मेरो उत्पादन नै बढी छ,’ उनले भने, ‘उत्पादित तरकारी भण्डारण गर्न नमिल्ने भएकोले लगानी ने डुब्ने अवस्था आयो ।’

भरतपुर–२५ का अर्का किसान अनुप सुवेदी लकडाउनअघि दैनिक तरकारीको विक्री भए पनि हाल ठप्प जस्तै भएको बताउँछन् ।  उनले १५ बिगाहामा तरकारीखेती लगाएका छन् । ‘बारीमा अहिले खुर्सानी, तरकारी, भण्टा, काँक्रो, गोलभेँडा लगायत तरकारी विक्रीका लागि तयारी अवस्थामा छ,’ उनले भने, ‘तर विक्री नहुँदा कुहिएर जाने चिन्ता छ ।’

 स्थानीय उत्पादनका लागि ढुवानी सहज नभए पनि दैनिक दर्जनौं ट्रक तरकारी भारतबाट आइरहेका छन् । स्थानीय उत्पादनले बजार नपाउँदा सरकारले भारतीय तरकारी गाडीलाई रोक लगाउनुपर्ने तर्क राख्छन् खैरहनी नगरपालिका–३ का अर्का किसान नारायण खड्का । ‘सबैभन्दा बढी समस्या भारतीय तरकारीले गरेको छ,’ उनले भने, ‘यसमा सरकारले तत्काल रोक लगाउनु पर्छ । यो समय स्थानीय उत्पादनले पुग्ने भएकाले भारतीय तरकारी आवश्यक नहुने उनको धारणा छ । ‘यसका लागि स्थानीय प्रशासन र स्थानीय तहले सहज रूपमा उपभोक्ताको घरघरमा तरकारी पु¥याउने वातावरण बनाउनुपर्छ,’ उनले भने ।

महानगर तरकारी तथा फलफूल बजार, नारायणगढका निर्देशक थीरप्रसाद धिताल तरकारीको माग उच्च भए पनि बजार नै बन्द हुँदा किसान र व्यवसायी दुवै मारमा परेको बताउँछन्  ‘चैत १८ गतेसम्मत तरकारी बजार खुलाएका थियौं,’ उनले भने, ‘भीडभाड बढी भएकाले प्रशासनले पूर्णरूपमा बन्द गरिदियो ।’
तरकारीको आपूर्ति र वितरण उच्च सावधानीका साथ सुचारु गर्नुपर्ने धितालको तर्क छ ।

यस क्षेत्रमा उत्पादित तरकारी तथा फलफूल बजारबाट काठमाडौं, बुटवल, पोखरा, तनहुँ लगायत जिल्लामा तरकारी आपूर्ति हुने गरेको छ । यस्तै यहाँ स्थानीय तरकारी दैनिक ७५ टन, बाह्य जिल्लाबाट ५० टन र भारतबाट ७५ टन बराबरको आपूर्ति हुने गरेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)