ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुईकोठे घरका कारण लकडाउनमा बस्नै समस्या

२०७६ चैत, २६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

चैत्र २७, दोलखा  । भूकम्पपछि निर्माण गरेको दुईकोठे घरमा बस्न लकडाउनको समयमा सर्वसाधारणलाई समास्या परेको छ । लकडाउनका कारण बाहिर काम गरिरहेको परिवार पनि घरमा जम्मा भएको अवस्थामा साँघुरो घरका कारण उनीहरूलाई समस्या परेको हो ।

भीमेश्वर नगरपालिका वडा नम्बर दुई न्यागलका ६८ वर्षीय अमरबहादुर पुलामी मगरको घरमा १० जनाको परिवार छ । सरकारले दिएको अनुदान रकममा केही थपथाप गरेर उनले ठिक्कको दुईकोठे घर बनाए । जेठो छोरा विदेशमा रहेको मगरको घरमा अहिले परिवारका ९ जना जम्मा भएका छन् । ‘निजी आवास लाभग्राही सूचीमा मेरो मात्र नाम आएर एउटा घर बनाएको छु,’ मगरले भने, ‘डरले तला पनि थपिएन, अहिले यत्रो परिवार कहाँ बस्ने, कहाँ खाने, कहाँ सुत्ने भएको छ ।’ लकडाउन नहुँदा परिवार विभिन्न ठाउँमा काम गर्न जाँदा घरमा थोरै मान्छे हुँदा बस्न पुगेको तर अहिले सबै जना जम्मा हुँदा भने साह्रै समस्या भएको मगरले बताए ।

दोलखाका करीब ७० प्रतिशत भन्दा बढी स्थानीयले भुकम्पको डरले बलियो हुने ठानेर दुईकोठे घर बनाएका छन् । भीमेश्वर नगरपालिका–२ की निशा श्रेष्ठको पनि पाँच जनाको परिवार छ । सानो घर बलियो हुन्छ भनेर उनले पनि दुईकोठे घर बनाइन् । यस्तो बेला (लकडाउन)मा पाँचजनाको परिवारलाई बस्न नपुगेपछि आफू तला थप्ने निष्कर्षमा पुगेको उनले बताइन् ।

यस्तै पीडा भीमेश्वर नगरपालिका–२, नागदहका कृष्ण लामाको पनि छ । अरु बेला भक्तपुरमा काम गरी बस्ने लामा लकडाउनमा घर आए । दुईकोठे घरमा उनी आएपछि बाबु आमा भान्सामा सुत्छन् अर्को राखनधरन गर्ने कोठामा उनी सुत्छन् । दाउराले खाना पकाउने भन्साकोठामा बस्दा वृद्ध बाबुमा दमको समस्या बढेको उनको भनाइ छ । सबै सदस्य भेला हुँदा दुईकोठे घरले नपुगेपछि घरमा बस्ने ठाउँको अभावमा अस्थायी टहरा बनाएर बस्ने क्रम गाउँमा बढेको स्थानीयहरूको भनाइ छ ।

दोलखामा निर्माण सम्पन्न भएकामध्ये अधिकांश दुईकोठे घर बनेको पुनर्निर्माण प्राधिकरणको तथ्यांक छ । हतारमा बनाइएका दुईकोठे घरमा सानो परिवारको पनि आवश्यकता पूरा हुन नसक्ने नागरिक अगुवा चिरञ्जीवी मास्केको भनाइ छ । ‘परिवारका सदस्यहरू रोजगारीको शिलसिलामा शहरतिर र गाउँमा आमाबाबुमात्र बस्ने भएकोले दुईकोठे घरले काम चले जस्तो देखिएको मात्रै हो । परिवारका सबै सदस्यहरू गाउँमा बस्ने हो भने नयाँ घर बनाउनु वा तला थप्नुको विकल्प छैन,’ मास्केले भने ।

गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटका जनसंख्या विषयमा प्राध्यापन गरिरहेका दुर्गाप्रसाद दहालले एउटा परिवारका लागि गाउँमा कम्तीमा ५ ओटा कोठा आवश्यक पर्ने बताए । भूकम्पको त्रासले मानिसले दुईकोठे भुइँ घरमात्र बनाउँदा समस्या आएको भीमेश्वर नगरपालिकाका इञ्जिनीयर सुरेश राउतको भनाइ छ । भवन संहिता पालना गरी तला थपेर घर बनाए पनि घर बलियो हुने उनले बताए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)