ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

देशवासीका नाममा सम्बोधन

२०७६ चैत, २७  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

यसै हप्ता देशवासीलाई प्रधानमन्त्रीको विशेष सम्बोधन आएछ । आफूले हेर्न वा पढ्न नभ्याए पनि मिडियाहरू पढ्दा सार यस्तो पो आयो त !

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिंगो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देशमा देखिएको छैन । त्यत्तिका देशले कोरोनालाई रोक्न नसकेको अवस्थामा हामीले भने त्यसलाई ९ ओटा संख्यामा रोक्न सकेका छौं । सबैले ‘टेष्ट’ ‘टेष्ट’ भनेर कराए पनि हामीले त्यसमा त्यति चासो दिएका छैनौं । विश्वलाई हराउने गोर्खालीलाई जाबो भाइरसले हराउन सक्दैन भन्नेमा हाम्रो सरकार पूर्ण विश्वस्त छ । त्यही भएर हामीले यो टेष्टिङ किट सिट ल्याउने झन्झट नै गरेनौं । त्यसैले अहिलेसम्म हामी ढुक्कै छौं । भोलिका कुरा भोलि नै गरौंला ।

विद्यालयहरूले फी नलिइदिनुहोला, घरबेटीले घरभाडा नलिइदिनुहोला । उद्योग बन्द गरे पनि कर्मचारीलाई तलब दिनुहोला । हामीलाई पाल्ने काम पनि तपाईंकै हो । बरु कर १ महीनापछि तिर्नुहोला । बैंकको ब्याज जम्मै एकैचोटि असारमा बुझाउनुहोला ।

नागरिकको स्वास्थ्य र सुरक्षालाई मैले सधैं उच्च प्राथमिकतामा राखेको छु । म आफै बिरामी भएकोले कता कता के के भइरहेको छ, हेर्न भ्याएको छैन । तर बेलाबेलामा निर्देशन भने दिइरहेकै छु है !

महामारीसँग जुध्न सजिलो छैन । किनकि त्यो महामारी किरो कतै देखिँदै देखिँदैन त । सबैतिर देखिने भ्रष्टाचारलाई त हेर्दै हेर्दिनँ, सुन्दैन सुन्दिनँ भनेर पन्छाइरहनु परेको छ । अब त्यो देख्दै नदेखिने भाइरसलाई खोज्न काहाँ जानु ?

तर, जे जे भए पनि सबै कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजीक्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्नुहोला । तर पासको व्यवस्था नहुन्जेल भने धैर्य धारण गरेर घरभित्रै बस्दिनुहोला । सरकारले जनताको राहतका लागि हदै ठूलो छाती देखाएको छ । विद्यालयहरूले फी नलिइदिनुहोला, घरबेटीले घरभाडा नलिइदिनुहोला । उद्योग बन्द गरेर सबै कर्मचारीलाई तलब दिनुहोला । पर्यटक आएका छैनन् भनेर पीर नगर्नुहोला, उनीहरूका लागि खर्च गर्न नपरेपछि तपाईंको खर्च नै जोगियो । त्यही जोगिएको पैसाले कामदार पाल्नुहोला । हामीलाई पाल्ने काम पनि तपाईंकै हो । केही छैन, कर १ महीनापछि तिर्नुहोला । बैंकको ब्याज जम्मै एकैचोटि असारमा बुझाउनुहोला । त्यो कम सुविधा दिएको हो त हामीले तपाईंहरूलाई ? यत्रो सुविधा पाइसकेपछि पनि सरकारले हेरेन, केही गरेन भन्नु चाहिँ जनमतको अपमान हो । त्यत्रो मत ल्याएको सरकारले भनेपछि पनि नपत्याउने ?

यता अप्ठ्यारो समयको फाइदा उठाउँदै कृत्रिम अभाव सृजना गर्ने, जम्माखोरी तथा कालोबजारी गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने जस्ता आपराधिक काममा कोही संलग्न भएको पाइएमा प्रचलित कानून बमोजिम कडाभन्दा कडा कारबाही समेत गरिने स्पष्ट पार्दछु । भलै अहिलेसम्म त्यस्ता कोही भेटिएका छैनन् । एकजनाले कता हो नीलो प्लेटमा बन्दुक बोकेर हिँडेको भेटियो र समातियो । तर ऊ पनि चाँडै छुट्ला नै । रातो प्लेटवाला गाडीमा ओसारेको भए समातिदैनथ्यो होला । बाँकी देशभर कसैले कालाबजारी गरेका जानकारी कसैले हामीलाई दिएका छैनन् । अहिले सबै व्यापारीहरू पनि ज्ञानी सन्तमा परिणत भैसके जस्तो छ ! सरकार भ्रष्टाचारीप्रति सुन्ने सहनशील छ भन्ने थाहा पाएर होला, बजार भाउ पनि एकदम स्थिर छ । कसैले भ्रष्टाचार गरेको थाहा पाएमा प्रमाणसहित ल्याउनुस्, हामी कारबाही गरिहाल्छौं ।

मुलुक बाहिर ठूलो संख्यामा नेपाली दिदीबहिनी तथा दाजुभाइहरू रहँदै आउनु भएको छ । कोरोना भाइरसको महामारीका कारण तपाईंहरूलाई मुलुक फर्किन केही असुविधा परेको थाहा पाए पनि नपाएजस्तो गर्नुपरेको छ । तर यस दुःखद घडीमा, नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवश्यक पर्दा आपूm रहेको देशको कूटनीतिक नियोगमा सम्पर्क राख्नु हुन आग्रह गर्दछु । हाम्रा नियोगहरूको फोन उठ्यो भने तपाईंहरूका समस्या हल गर्न सक्दो सहयोग गर्ने जानकारी गराउँदछु ।

खाद्यान्न अभावबारे, कृषकका पीडा र सीमापारि भोकभोकै अलपत्र परेका, रुँदै गरेका नेपालीहरूलाई टीभीमा हेर्नुपर्दा हामी चिन्तित छौं । चिन्ताले गर्दा कहिलेकाहीँ राति निद्रै पर्दैन भन्या । तर हामी होशियार छौं । त्यस्तै, स्वास्थ्यमन्त्री, प्रधानमन्त्रीको आईटीविज्ञ, पर्यटनमन्त्री आदिका बारेमा मिडियामा आएका कुराहरूबारे हामीलाई रामैसँग थाहा छ । छानविन समिति बनाएरै भए पनि यो काण्डलाई पनि यसै टारिनेछ । किनकि यी काण्ड केही होइनन् । वाइडबडी काण्ड, सुनकाण्ड, सञ्चारमन्त्री काण्ड, रक्षामन्त्री काण्ड । खोई त ती कुनै काण्ड प्रमाणित भए त ? भएनन् नि । किनकि सरकारी मन्त्री र कर्मचारीले कहिल्यै घूस खाँदैनन् । किनकि उनीहरूले कुनै गल्ती गर्नै सक्तैनन् । अहिलेसम्म त्यस्तो भएको हाम्ले थाहा पाएका पनि छैनौं । दुई तिहाईको राष्ट्रवादी सरकारले यसै पनि यस्ता गल्ती गर्ने कुरै हुँदैन । 

खासमा यी ठूला मिडिया र सोसल मिडियावालाहरू हाम्रै पार्टीका मान्छेसँग मिलेर हामीलाई फसाउन खोजिरहेका छन् । त्यसैले बेलाबेलामा हाम्रा बारेमा अनेक अफवाह फैलाइरहन्छन् । सरकारको महान् सफलताबाट अत्तालिएका एक–दुई जना भुुसुना कराउँदैमा हात्ती रूपी सरकार डराएर अडिँदैन । अगाडि नै बढिरहन्छ । किनकि यो सरकार त सुखी नेपाली र समृद्ध नेपाल बनाउने भनेर जो लागिपरेको छ । यसै क्रममा हामीले प्रक्रिया विधिसम्मत बनाएरै मेलम्ची खानेपानीको ठेक्का पनि घरबेटीलाई सुम्पिने गौरवपूर्ण निर्णय गरिसकेका छौं । यस्ता कुराहरू कतै छलफल गरिरहने आवश्यकता हामी देख्दैनौं । किनकि देशबाट गरीबहरू हटाउने र धनीलाई अझ धनी बनाउने हाम्रो महान् अभियान अगाडि बढिरहन्छ, रोकिँदैन । अहिलेलाई यत्ति कुरा बुझ्दा हुन्छ । बाँकी अर्को सम्बोधनको प्याकेजमा ।

धन्यवाद !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

केशव अधिकारी

[Apr 10, 2020 05:31am]

सम्राटको सम्बोधन आफैंमा त न तीतो न मीठो बरु खल्लो चाहिँ अवश्य रहेछ। तर हजुर जस्तो मान-आदानप्रदान यूक्त व्यक्तिले, यो घरबन्दीको बेलामा समेत, यत्रा महान सन्तको सम्बोधन हेर्न वा पढ्न नभ्याएको भन्ने अभिव्यक्ति चाहिँ सह्रै तीतो लाग्यो है।



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)