ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना अन्त्यपछिको नेपाल

२०७७ बैशाख, १  
लेख | दृष्टिकोण
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन लम्साल

कोरोना भाइरस संक्रमणको त्रास कसरी र कहिले अन्त्य हुन्छ भन्ने अनुमान गर्न कसैले पनि सक्दैन । जनजीवन नियमित बाटोमा फर्किन कति समय लाग्ला भन्ने पनि अनुमान गर्न सकिँदैन । नेपालमा कोरोना महामारीका रूपमा हालसम्म फैलिएको छैन । यो सन्त्रास यत्तिकै टरेर गए पनि नेपालमा यसको दूरगामी असर भने अवश्य पर्नेछ । लकडाउनले विश्वमा उत्पादन र आपूर्ति प्रणाली नराम्ररी बिग्रिएको छ । नेपालमा औद्योगिक कच्चा पदार्थ, तरकारी, माछामासु, फलफूल र दुग्ध उत्पादन र उपभोगको आपूर्ति प्रणाली पनि बिथोलिएको छ । यो नियमित बन्न र पहिलेकै स्थितिमा आउन पनि निकै समय लाग्नेछ ।

वैदेशिक रोजगारीमा रहेका धेरै नेपाल फर्किने भएकाले उनीहरूलाई कृषि उद्यममा लगाउन राम्रा योजना ल्याउन सके अवसरै अवसर छन् । 

मोफसलका ठूला बजार र राजधानीलाई लक्षित गरी कृषि तथा कृषिजन्य सामग्रीको व्यावसायिक उत्पादन हुने गरेको छ । गाई, भैंसी फर्म, खसी, बाख्रा, पोल्ट्री फर्म, मौसमी तरकारी, फलफूल, तेलहन, दलहन, माहुरीपालन, माछापालन आदि यसका उदाहरण हुन् । अहिले यी सबै व्यवसायमा क्रमभंग भएको छ । यसको मारमा किसान, आश्रित परिवार र उपभोक्ता सबै परेका छन् । यसको असर विस्तारै बैंकिङ क्षेत्र र राजस्व उठ्तीमा पनि पर्नेछ । नेपालको आपूर्ति केही प्रतिशत कृषि उपजबाहेक लगभग पूर्णरूपमा आयातमा निर्भर छ । यसको अर्थ, राजस्व पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले आयातमै निर्भर छ । 

विप्रेषणमा आउने कमीले सबैभन्दा पहिलो त हाम्रो उपभोगमुखी अर्थप्रणाली, आयात, राजस्व आदि खुम्चिनेछ । हाम्रा वैदेशिक रोजगारीको गन्तव्य मुलुकले रोजगारी कटौती गर्न शुरू गर्नेछन् । यसकोे शिकार नेपाल हुने नै छ । देशमा युवा बेरोजगारीको चाप बढ्नेछ । अहिले नै भारतबाट समेत लाखौं नेपाली कामदार फर्किएको समाचार आएका छन् । यसरी फर्किएकाहरूको जीवनयापन, बालबच्चाको शिक्षा, स्वास्थ्य आदिमा असर पर्नेछ । विप्रेषण कम हुनेबित्तिकै बैंक तथा वित्तीय संस्था, भन्सार कर र मुलुकमै उत्पादन गरिने वस्तु तथा सेवाको समष्टिगत मागमा असर पर्नेछ ।

यो महामारी रोकिएपछि पनि पर्यटनमा मन्दी आउने आकलन छ । भयका कारण मानिसहरू धेरै भीडभाडमा सकेसम्म जाने छैनन् । क्रयशक्ति र बचत घटेकाले पर्यटक बनेर घुमघाम गर्ने कुरामा पनि कटौती हुनेछ । यसले पर्यटन, बैंकिङलगायत देशको समग्र क्षेत्रकै आय घट्नेछ । तर, महँगी भने अझ बढ्नेछ । संसारका सबै अर्थतन्त्र नै मन्दीमा जाने अर्थशास्त्रीहरूले बताइसकेका छन् । नेपाल पनि यसबाट अछुतो रहने कुरै भएन । वैदेशिक अनुदान र सहायतामा पनि ह्रास आउनेछ । नेपालमा विदेशी मुद्रा सञ्चिति घट्ने र शोधनान्तर घाटा बढ्ने सम्भावना छ । वैदेशिक सहायतामा आउने कमीले नेपालको आर्थिक क्षेत्रमात्र छुँदैन, गैरसरकारी संस्थाहरूले गरिरहेका सामाजिक विकासका काममा पनि कमी आउनेछ । यस्तोमा अर्थतन्त्रलाई चलायमान बनाउन राज्यले ठूलो लगानी गर्नुपर्ने हुन्छ । एकातिर नेपालसँग ठूलो लगानी गर्ने क्षमता छैन भने अर्कातिर नेपालको नेतृत्वमा त्यसो गर्ने सुझबुझ भएको जस्तो देखिँदैन । 

विश्व अर्थक्षेत्रका जानकारहरूले यो मन्दीबाट पार पाउन आधादेखि १ दशक लाग्ने अनुमान गरेका छन् । ढिलासुस्ती र अव्यवस्थापनका कारण पछि परेका हाम्रा विकास निर्माणका काम यो विश्वव्यापी मन्दीका बेला समयमै सम्पन्न होलान् भन्न सक्ने आधार देखिँदैन । 

केमा परिवर्तन आउँछ त ?
कोरोनाको महामारी रोकिए पनि व्यवसाय गर्ने तौरतरीकामा फरक आउन थाल्नेछ र डिजिटाइजेशन अझ बढ्नेछ । स्यानिटाइजर, स्टेशनरी र घरायसी उपकरणजस्ता सामानको माग बढ्नेछ । समयअनुसार अनलाइनमा अभ्यस्त नहुने व्यवसायहरू पछि पर्दै जानेछन् । ई–कमर्शलगायत केही उद्योग–व्यवसाय अझ फस्टाउने छन् । कतिपय कम्पनी, कलेज, विद्यालय र संघसंस्थाले आफ्ना कर्मचारीलाई घरबाटै काम गराउन थाल्नेछन् । शिक्षकहरूले जुम, स्काइप, ह्वाट्सयाप, भाइबर, एडोबी कनेक्टजस्ता एप्समार्फत लाइभ पढाउन शुरू गर्नेछन् । विद्यार्थीहरू पनि घरमै बसेर ‘भर्चुअल क्लास’मा अभ्यस्त हुँदै जानेछन् । 

सामाजिक व्यवहारमा पनि फरक आउन थाल्नेछ  । मानिसहरू आफ्नो स्वास्थ्यप्रति पहिलेभन्दा अलि बढी सचेत हुनेछन् । जस्तो कि बाहिर खाने धेरै मानिस सकेसम्म घरमै खान थाल्नेछन् । हात मिलाउनु, अँगालो हाल्नुभन्दा सकेसम्म नमस्ते वा हाई हेल्लोले काम चलाउनेहरू बढ्नेछन् । स्वास्थ्यक्षेत्रमा सरकार र गैरसकारी संस्थाहरूको लगानी बढ्नेछ । फोब्र्सका अनुसार विश्वमा आइरहेको परिवर्तनहरूले गर्दा सन् २०३० भित्र झन्डै २ अर्ब जागीर हराउनेछ । सूचनाप्रविधिसँग सम्बद्ध एप्लिकेशन बनाउने कम्पनी, ईकमर्श, गेमिङ इन्डस्ट्री, साइबर सेक्युरिटी, ब्लक चेनलगायत व्यवसाय अगाडि आउनेछन् । नेपाल पनि यसबाट अछुतो रहनेछैन । 

कोरोनाको महामारी रोकिए पनि व्यवसाय गर्ने तौरतरीकामा फरक आउन थाल्नेछ र डिजिटाइजेशन अझ बढनेछ ।

अर्थतन्त्रमा असर 
सरकारले अहिले ल्याएको र पछि ल्याउने राहत प्याकेजले पनि खासै सहयोग हुनेवाला छैन । बैंकको साँवा र ब्याजको किस्ता तिर्ने म्याद अलि पर सार्ने वा अलिअलि ब्याजदर कटौती गर्नेजस्ता टालटुले कामले व्यवसायलाई गति दिँदैन । बन्द उद्योगहरू खुलाउन निजीक्षेत्रलाई कसरी प्रोत्साहन गर्ने, उनीहरूमा कसरी उत्साह भर्ने भनेर दीर्घकालीन सोच राखेर योजना ल्याउनुपर्ने हुन्छ । तर, हाम्रा सरकारी नीति निर्माणमा बस्नेहरूको विगतको रवैया हेर्दा निजीक्षेत्रलाई रोजगारदाता, देशका लागि सम्पत्ति सृजना गर्ने समूह र अर्थतन्त्रको मेरूदण्डभन्दा कालाबजारिया हुन् भन्ने दृष्टिले हेर्नेबाहेक अन्य सोच देखिँदैन ।

समग्रमा सरकारले व्यवस्थापन गर्न नजान्दा मन्त्रीलगायत सरकारी कर्मचारीलाई तलब खुवाउन नसक्ने स्थितिमा पुग्न सक्छ । साथै, सरकार र राजनीतिप्रति सामान्य मानिसहरूकोे पनि वितृष्णा बढ्नेछ । यसले सरकार सञ्चालनमा खटपट शुरू हुनेछ । 

केही अर्थशास्त्रीहरू भने विश्व अर्थतन्त्रको भविष्यप्रति अझै आशावादी नै देखिन्छन् । उनीहरूको भनाइमा महामारीको अवस्था सकिएपछि मान्छेहरूको दैनिकी फेरि सामान्य बन्नेछ । मान्छेहरू काममा फर्किनेछन् । अर्थतन्त्र छिट्टै तंग्रिनेछ । कोभिड–१९ विरुद्धकोे उपचार उपलब्ध भयो भने त मान्छेहरू फेरि यात्रा गर्न थाल्नेछन् । पर्यटन फेरि चलबलाउन थाल्नेछ । विभिन्न सेवामूलक व्यवसाय सुचारु हुनेछन् र अर्थतन्त्र फेरि चलायमान हुनेछ ।

नेपालका लागि अवसरहरू
सरकार दूरदर्शी र इमानदार र हामी सृजनशील हुनसक्ने हो भने नेपालका लागि यो संकटले अवसरहरू पनि ल्याएको छ ।

वैदेशिक रोजगारीमा रहेका धेरै नेपाल फर्किने भएकाले उनीहरूलाई कृषि उद्यममा लगाउन राम्रा योजना ल्याउन सके अवसरै अवसर छन् । नेपाललाई कमसे कम कृषि (खाद्यान्न, तरकारी, फलफूल), जडीबुटी आदि क्षेत्रमा आत्मनिर्भर बनाउने यो ठूलै अवसर हो । अहिलेको आपूर्ति संकट नेपालको कृषिको बजारीकरणको उत्तम अवसर हुन सक्छ । कृषि छोडेर वैदेशिक रोजगारी वा शहरतिर ज्यालादारीमा काम गरिरहेकाहरू अहिले गाउँ फर्केका छन् । यो क्रम लामै समय रहने देखिन्छ । यसले धेरै वर्षदेखि काम गर्नेहरूको अभावले मरेतुल्य कृषि बौरिन सक्छ । भारतबाट हुने कृषि उपज आयातमा कमी आउने र मुलुक कम परनिर्भर हुन सक्ने सम्भावना बढेको छ । नेपाली कृषि उत्पादनको बजारीकरण हुने सम्भावना बढेको छ । यसले संघीय राज्य प्रणालीका सबै संयन्त्रलाई क्रियाशील बनाउने एउटा अवसर पनि दिएको छ । स्थानीय सरकारहरूका लागि यो समय विभिन्न तथ्यांक संकलन गर्ने, तथ्यांकलाई सूचनामा परिणत गर्ने र स्थानीय अवसरहरूका आधारमा व्यावसायिक योजनाहरू बनाएर काम गरेर देखाउन, स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्न र स्थानीय रोजगारीका अवसर सृजना गर्ने मौका यसले दिएको छ ।

तर, हाम्रो सरकारको कामको तयारी र निर्णय क्षमता हेर्दा भने अवसर उपयोग हुने सम्भावना कमै देखिन्छ । हाम्रो समाजको चेतनाको स्तर हेर्दा पनि धेरै परिवर्तन आइहाल्ला भन्ने देखिँदैन । तर, समयअनुसार चल्ने थोरै नै भए पनि तिनीहरूले कोरोना महामारीपछिको नेपाललाई नयाँ गति दिनेछन् । र, यो पनि आशा गरौं कि सरकारले पनि महामारीले ल्याएका अवसरलाई समयमै चिनेर काम गर्नेछ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Udayraj Adhikari

[May 23, 2020 10:52am]

Its good knowledgble article for the people like me. Please write some thing on general commercial property as well as on national projects too in your esteemed news paper



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)