ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनको मारमा चितवनका निर्माण व्यवसायी 

२०७७ बैशाख, ४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनका निर्माण व्यवसायीले लकडाउनका कारण आफूहरू मर्कामा परेको बताएका छन् । ठेक्का लिएका काम रोकिँदा बैंकको ऋण र दैनिक खर्च धान्न समेत नसक्ने अवस्था आउने उनीहरूको गुनासो छ ।

भरतपुर महानगरपालिका–२१ का निर्माण व्यवसायी कमल आचार्य लकडाउनका कारण काम रोकिँदा सबैभन्दा बढी मारमा आफूहरू नै पर्ने बताउँछन् । ‘चालू हालतमा रहेको काम त्यत्तिकै अड्कियो,’ उनले भने, ‘लकडाउनपछि पनि काम अघि बढाउन र भुक्तानी पाउन मुश्किल पर्छ ।’ अहिले विभिन्न ठाउँमा खानेपानीको ट्यांकी निर्माण बीचमै छाड्नुपरेको उनको भनाइ छ । निर्माण व्यवसायमा मजदूर बढी प्रयोग हुने र कतिपय व्यवसायीले निर्माण उपकरण पेश्की तिरेर सञ्चालन गर्ने भएकाले पनि आर्थिक नोक्सानी समेत बेहोर्नुपर्ने उनले बताए ।

लकडाउन गर्नुअघि सरकारले पूर्वतयारी गर्नुपर्ने र अग्रिम सूचना दिनुपर्ने बताउँछन् अर्का निर्माण व्यवसायी नवराज धरेल । ‘निर्माण व्यवसायीको सिजन नै ३ महीना हो,’ उनले भने, ‘तर यही बेला लकडाउन हुँदा हामी नोक्सानीमा छौं ।’ ठेक्का लिएको नदी तटबन्धको काम अहिले रोक्नुपरेको उनको भनाइ छ । सम्पन्न भइसकेका कतिपय ठेक्काको समेत भुक्तानी पाउन नसकिएको गुनासो उनले गरे । व्यवसायीका अनुसार १ महीना लकडाउन हुँदा निर्माण क्षेत्रमा यसको असर ६ महीनासम्म पर्नेछ । लकडाउन खुले पनि विभिन्न तयारी गर्नुपर्ने भएकाले निर्माणलाई सहजै गति दिन नसकिने र आर्थिक वर्ष सकिने हुनाले सरकारले टेन्डरको म्याद र बैंकको किस्ता तिर्ने अवधि लम्ब्याउनुपर्ने माग व्यवसायीको छ । निर्माण व्यवसायी संघ, चितवनका अध्यक्ष उमानन्द कँडेल मजदूरको अभावमा तोकिएको समयमा कुनै पनि ठेक्का सम्पन्न नहुने जिकीर गर्छन् । ‘अधिकांश मजदूर भारतका छन्,’ उनले भने, ‘भारतमा पनि लकडाउन कायमै भएकाले मजदूर रोकिँदाको ठूलो असर निर्माण क्षेत्रमा पर्छ ।’ सरकारले निर्माण व्यवसायीले सहज रूपमा काम गर्ने वातावरण बनाइदिनुुपर्ने उनले बताए । उनका अनुसार चितवनमा ३०० निर्माण व्यवसायी छन् भने यस क्षेत्रमा आश्रित परिवार करीब २० हजार छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)