ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आफैमाथि शंका नगरौं

२०७७ बैशाख, ५  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

चीनको एउटा स्यानो कुनामा जन्मनुभएका श्री कोरोना महाराज करीब ३ महीनाअघि विश्वविजेता बन्न भनेर २०० भन्दा बढी देशमा धावा बोल्दै केही समयअघि मात्र नेपाल प्रवेश गर्नुभएको छ । हामीले शुरूमा महाराज कोरोनालाई अति हल्का रूपमै लियौं । हामीले सोच्यौं कि हामी त वीर गोर्खाली पो हौं त, यो छुसीले हाम्रो के नै बिगार्न सक्ला र ? चीन त चिनेकै हो । ऊसँग विश्वकै सबैभन्दा अग्लो पर्खाल छ । त्यो पर्खाल नाघेर कोरोना महाराज कसरी नेपाल आउनुहोला र ? आई नै हाले पनि वेत्रावती तर्न गाह्रै पर्ला । उहिले चिनियाँ सेनाले त सकेको थिएन वेत्रावती तर्न ।

अरूलाई फिलिम बनाएर देखाउनेहरू अहिले आफै चिलिम पिएसरी नजरबन्दमा छन् । न कुनै कार्यक्रम न उत्सव, न अफिस न वर्कशप ।

तर उहाँ त अर्कै घुमाउरो बाटो पो आउनुभयो । के अमेरिका, के इटाली, स्पेन, जर्मनी, इरान, साउदी अरब वा भारत ती सबै देशहरूमा गएर महाराजले ताण्डव नृत्य प्रदर्शन गरिसक्नुभएको छ । त्यस क्रममा हजारौंले मृत्यु अँगालिसकेका छन् । केही त डरले नै यमराजको काखमा पुगेका छन् ।

कोरोना महाराज चमत्कारी हुनुहुन्छ । उहाँका चमत्कारले गर्दा नै मानिसहरूले अमेरिकाको राष्ट्रपतिको चुनाव होस् या कोरियाको संसद्को चुनाव, नेपालको अस्तव्यस्त, आपूर्तिमा भद्रगोल या भ्रष्टाचार, महँगी, बेरोजगारी, अस्तव्यस्तता, यी सबै बिर्सेका छन् । बलात्कार, हत्याकाण्ड, सुनकाण्ड, बाँस्कोटा प्रकरण, स्वास्थ्य किटको घोटाला, आदि सबै छायाँमा परेका छन् । प्रत्येक दिन समाचारका हेडलाइनमा आउने विश्वको राजनीति पनि कोरोना महाराजकै मन्त्र जपेर बस्न बाध्य बनेको छ । 

विश्वयुद्धमै पनि शायद यस्तो त्रासदी थिएन होला । अहिले संसारका सबै देश एकान्तवासमा गएका छन् । के पार्क, के मन्दिर, के मस्जिद वा चर्च सबै बन्द छन् । अरूलाई फिलिम बनाएर देखाउनेहरू अहिले आफै चिलिम पिएसरी नजरबन्दमा छन् । न कुनै कार्यक्रम न उत्सव, न अफिस न वर्कशप ।

पहिले पहिले यस्तो हुन्थ्यो कि विश्वकै कुनै शहरमा सयौं मान्छे मर्दा सामान्य जस्तै लाग्थ्यो । तर अहिले अब स्थिति यस्तो आयो कि हरेक मृत्युको हिसाब हुन थालेको छ । यो महामारीले कसैलाई त्रस्त र आर्थिक हिसाबले ध्वस्त बनाए पनि मौकापरस्तहरूलाई भने यो एउटा मौकामा चौका हान्ने अवसर बनेको छ । नेपालजस्तो देशमा सधैंजस्तो सुतिरहने सरकार झन् अहिले आफैै अस्तव्यस्त छ । उसले कसलाई अनुगमन गर्ने ? न मूल्यको हिसाब छ, न गुणस्तरको । मान्छेहरूलाई बाँच्नका लागि खाद्यान्न लगायत चाहिएको छ । तर दिने कसले ? वास्तवमा लकडाउनले देशको नभै केवल सामान्य मानिसको जिन्दगीको चैं लकडाउन गरेको छ ।

शायद मानवलाई उसको औकात देखाउन होला, श्री कोरोना महाराजले भने कुनै कसर बाँकी राख्नुभएको छैन । मानिसले उहाँको यति दरो झापड भेटेका छन् कि बाँचेकाहरूले वर्षौं वर्षसम्म सम्झिइनै रहनेछन् । त्यै झापडका कारण मान्छेको गति रोकिएको छ । तर आकाशमा पक्षीहरू निर्धक्क उडिरहेका देखिन्छन् । धर्तीमा कमिलाहरू एउटै लहरमा लामबद्ध हिँड्न छाडेका छैनन् । नदी, समुद्रमा पनि शायद माछाहरू अलि कम प्रदूषित श्वास फेर्न सकिरहेका होलान् । किनकि पानीमा प्रदूषण पठाउने मानिसका उद्योगहरू अहिले बन्द छन् । तर अहिले केवल मानिस रोकिएका छन् । परिवार र समाज बिर्सिएर केवल नाफाका पछि लागेर दौडिनेको दौड रोकिएको छ । अरूलाई सानो देख्ने ठूलो मान्छे अहिले सूक्ष्म जीवाणुबाट परास्तजस्तो भएको छ ।

तपाईंलाई लाग्दो हो कि यो संसारमा सर्वशक्तिमान् कोही छ भने त्यो तपाईं मात्र हो, केवल तपाईं । अरूलाई कोरोना महाराजले कारबाही गरे पनि तपाईंलाई लाग्दो हो कि ‘मलाई त केही गर्न सक्दैन’ भनेर । तर दुःखको कुरा तपाईंको नजिकको शत्रु श्रीमान् कोरोनालाई भने तपाईं सर्वशक्तिमान् हो भन्ने थाहा छैन जस्तो छ । समस्या यो मात्र छ । हो, तपाईंसँग भएको हाँस्ने र रुने शक्तिले मात्र कोरोना महाराजलाई हराउन सक्तैन । 

त्यसैले, मन परे पनि नपरे पनि अहिले सरकारले दिएका सुझावहरू पालना गर्नुबाहेक तपाईंसँग कुनै विकल्प छैन । तपाईंले कान खोलेर, आँखा ठूल्ठूला पारेर हेर्नु र सुन्न नै भयो होला कि मुख छोपेर, हात धोएर र तपाईंको सुन्दर नाक, जसप्रति तपाईं सधैं गर्व गरिरहनुहुन्छ, समेत छोपेर घरभित्रै बस्नु भनेर सबैले भनिरहेका छन् । अरूलाई जे जे भए पनि ‘मलाई चैं केही हुन्न’ भन्ने भ्रमबाट अब त मुक्त हुनुहोला नै । किनकि वास्तवमा कोरोना महाराज विषकन्या झैं हुनुहुन्छ, जसले तपाईंसँग सल्केपछि तपाईंलाई पूरै सुताउन सक्नुहुन्छ, शायद सदाका लागि ।

त्यसैले विवाहितहरू मुर्मुरिएरै, अविवाहितहरू जुर्मुरिएरै, बुढाबुढी, केटाकेटी खुम्चिएरै भए पनि घरभित्रै बस्नुपर्ने हुन्छ । किनकि रिसले बाहिर निस्कनुभयो भने तपाईंलाई दण्ड दिन तपाईं श्रीमान् कोरोनाका लागि एक योग्य पात्र बन्नु हुनेछ ।

तपाईंको यतिबेलाको परम शत्रु श्रीमान् कोरोनाको शिकार नबन्न तपाईंले पौष्टिक आहार, व्यायाम, तातोपानी, सफासुग्घरमा पनि ध्यान दिनुपर्ने हुन्छ । किनकि यी कुराहरू तपाईं स्वयं र श्रीमान् कोरोनाभन्दा पनि शक्तिशाली सावित हुन सक्छन् । तपाईं घरभित्र सुतेर बस्न सक्ने शक्तिले भने तपाईंले शत्रुलाई सजिलै झापट हिर्काउने सामर्थ्य राख्न सक्नुहुन्छ । यदि धेरै दिन नै घरभित्रै सुत्नुभयो भने त हिर्काउने मात्र होइन, सदाका लागि श्रीमान् कोरोनालाई परास्त गर्न सक्नु हुनेछ ।

थाहा छ कि तपाईंले २–४ महीनालाई पुग्नेगरी खाद्य लगायत सामग्री जम्मा पारेर आफ्नो बासस्थानलाई एउटा सुपरस्टोर बनाउनु भएको छ । तर याद राख्नुहोला एक छाकको जोहो गर्न नसक्नेहरू पनि हाम्रै इकोसिस्टम भित्रका, हाम्रा आफ्नै हुन् । खाद्यान्न धेरै जम्मा मात्र गरेर राख्दा कीराहरूले पनि आआफ्ना भाग खोज्न थाल्नेछन् । अनि तपाईंको घरमा नयाँ नयाँ श्रीमान् श्रीमती ब्याक्टेरियाहरूले (भिक्टोरिया होइन नि) फुल पार्न थाल्नेछन् । त्यसपछि तपाईं भाइरसको सट्टा श्रीमती ब्याक्टेरियाको शिकार हुन सक्नु हुन्छ, त्यो पनि घरभित्रै बसी बसी । 

त्यसैले तपाईंसँग केवल यति अनुरोध छ कि तपाईं र तपाईंसँग सम्पर्कमा आउनेहरूको समेत जीवन तपाईंको हातमा छ । त्यसैले जतिसुकै निर्दयी सरकार र भिलियन मन्त्रीहरू देखिए पनि यति बेला सरकारले भनेअनुसार घरभित्र बस्नु तपाईं र देशकै भलो हुनेछ । जसले साँच्चै देशलाई प्रेम गर्छ, आफ्नो परिवार तथा समाजलाई प्रेम गर्छ र जसले आफूले आफैलाई समेत प्रेम गर्छ, उसले यो कुरा पक्का बुझ्नेछ । किनकि तपाईं एक समझदार र विवेकशील प्राणी पो हो । कमसे कम आफैमाथि शंका त नगरौं है !

र अन्तमा यो पनि ...
कोरोनाका कारण मृत्यु भएपछि एकजना स्वर्ग पुगेछन् । त्यहाँ पुगेपछि भगवान्सँग उनले गुनासो गरेछन् : भगवान्, मैले त राम्रै काम गरेको थिएँ त, मलाई नै लिन किन यमराज पठाउनुभयो ? 

भगवान्ले भनेछन् : तिमी राम्रै मान्छे हौ भन्ने थाहा छ । त्यसैले म तिमीलाई भेट्न भनेर तिम्रो घरमा मास्क बनेर, कहिले साबुनपानी बनेर, कहिले स्यानिटाइजर बनेर, कहिले के बनेर लगातार गएकै थिएँ । तर जहिले जाँदा पनि तिमी सधैं घरबाहिर भीडभाडमा गएको बेला पर्दो रहेछ । म तिमीलाई भेट्न भनेर तिम्रो घरमा गएको बेला, कोरोना महाराजले तिमीलाई यता ल्याइसकेछन् त म के गरूँ !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)